काठमाडौं – स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत ५ वर्षे कार्यकालका लागि विभिन्न राजनीतिक दलका ३५५ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार ६ वडा अध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्यहरु समेत निर्विरोध निर्वाचित भएका छन् ।
आयोगले बैशाख २८ र २९ गते प्रत्येक मतदानस्थलमा खटिएका टोलीहरूबाट मतदानस्थलमै मतदाता परिचयपत्र वितरण गरिने जनाएको छ।पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनि सम्बन्धित निर्वाचन कार्यालयहरूमा निवेदन दिएकाहरूलाई वैशाख २८ र २९ गते मतदाता परिचयपत्र वितरण गरिने भएको हो।
मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्ने जानकारी दिए ।
निर्वाचनमा १० हजार ७५६ मतदान स्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले मतदान गर्न पाउने प्रवक्ता पौडेलले जानकारी दिएका छन् । निर्विरोध निर्वाचित भएका बाहेकका पदमा प्रतिनिधि छनोटका लागि वैशाख ३० गते निर्वाचन हुनेछ ।
५५ हजार ६५८ जना महिला र ८९ हजार ३१३ जना पुरुष गरी विभिन्न राजनीतिक दल र स्वतन्त्र उमेदवारसमेत जम्मा १ लाख ४५ हजार ११ जना चुनावी प्रतिष्पर्धामा रहेको आयोगले जनाएको छ ।