धनगढी, १४ जेठ/प्रधानमन्त्री शेरबहादुर देउवाले गेटा मेडिकल कलेज सञ्चालनका लागि बजेट बिनियोजन गरिने बताएका छन्। सरकारले प्रतिनिधिसभामा पेश गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्।
‘गेटा अस्पताल किन राखिएन भन्ने गरिएको छ। गेटा अस्पताल त पुरानो नै हो, आजको होइन नि त्यो,’ प्रधानमन्त्रीले भने, ‘बजेट आउँदैछ नयाँ आर्थिक वर्षमा।’उनले आफ्नो गृहजिल्ला डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न गेटा मेडिकल कलेजबारे शंका गर्नुपर्ने कारण नै नभएको पनि प्रस्ट्याए।
‘डडेल्धुरामा राख्यो भन्दैमा त्यहाँ किन राखियो भन्ने कुरा हो?,’ देउवाले प्रश्न गर्दै भने, ‘त्यहाँ त आउँछ आउँछ, आएकै छ। यसकारण यसमा शंका गर्नुपर्ने कुरा छैन।’
सरकारले संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजका बारेमा केही उल्लेख नगरेपछि कैलालीको धनगढीमा आन्दोलन सुरु भएको छ।