घोडाघोडीमा कठरिया होमस्टे सञ्चालनमा आउने


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
घोडाघोडीमा कठरिया होमस्टे सञ्चालनमा आउने

सुखड, १४ जेठ । कैलालीको घोडाघोडी नगरपालिका ११ तप्पा गाउँका कठरिया समुदायहरू होमस्टे सञ्चालनको तयारीका जुटेका छन् । कठरिया समुदायको आफ्नो कला, संस्कृति र मौलिकता जगेर्ना गर्नको लागी उनीहरू होमस्टे सञ्चालनको तयारीमा जुटेका हुन् । शुक्रवार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तारा गाउँ विकास समितिको आयोजनामा होमस्टे सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको थियो ।

सहभागीहरूले होमस्टेको महत्त्व बुझेपछि होमस्टे सञ्चालनको तयारीका जुट्ने उनीहरूले बताएका छन् । आफ्नो ठाउँको विकास र कठरिया समुदायको सांस्कृतिक पहिचान सामाजिक विकासमा सामुदायिक होमस्टे सञ्चालनका लागि आफूहरू एकजुट भएर लाग्ने स्थानीय घुम्मन कठरियाले बताए । कठरिया समुदायको संस्कृतिको जगेर्ना सं सँगै पर्यटन प्रवर्द्धन गरी संवृद्धि हासिल गर्न सकिने उनले बताए ।

आफ्नो समुदायको कला संस्कृति, रीतिरिवाजसहितको पहिचान खोजिरहेको अवस्थामा होमस्टे सञ्चालन कठरिया समुदायका लागि एउटा अवसर हुने स्थानीय युवा टिआर कठरियाले बताए । बाहिरका मानिसलाई आफ्नो चालचलन अनुसार जे जे खानेकुरा छ बनाएर खुवाउन र आफ्नो सांस्कृतिक पहिचान देखाउन होमस्टे राम्रो माध्यम बन्ने उनले बताए ।

ग्रामीण पर्यटन विकासका लागि होमस्टेको महत्त्व रहेको बताउँदै तारा गाउँ विकास समितिका सदस्यसचिव मदन गोपाल बानियाले कठरिया समुदाय रहेको तप्पा गाउँमा होमस्टे सञ्चालनमा आए कठरिया समुदायको कला संस्कृतिको संरक्षण हुने विश्वास व्यक्त गरे । होमस्टे सञ्चालनका लागि समितिले सामुदायिक भवन निर्माण, सांस्कृतिक संग्रालय, पाहुनाको स्वागत सत्कार र ग्रामीण पर्यटनको बजारीकरणमा सहयोग गर्दै आएको सदस्यसचिव बानियाले बताए ।

पर्यटन व्यवसायी शाहले कैलालीमा ६० गाउँ कठरिया समुदायको रहेको जनाउँदै तप्पा होमस्टेले पर्यटन विकासका लागि कनेक्टिभिटीको काम गर्ने विश्वास उनले व्यक्त गरे । तप्पा गाउँमा होमस्टे सञ्चालनका लागि लामो समयदेखि पर्यटन व्यवसायी डबल शाहले पहल गरेका थिए ।
पहलमानपुर बजारदेखि दक्षिण लालबोजी सडक खण्डमा पर्ने तप्पा गाउँमा होमस्टे सञ्चालन आएपछि त्यस क्षेत्रको ग्रामीण पर्यटन विकास हुने समेत अपेक्षा गरिएको छ । होमस्टे सञ्चालनका लागि तारा गाउँ विकास समितिले एक दशकदेखि सहयोग गर्दै आएको छ ।

होमस्टे (घर– बास) व्यवस्थापन समिति गठन
कठरिया सामुदायिक होमस्टे ( घर –बास ) सञ्चालनका लागि तयारीमा जुटेका तपा गाउँका स्थानीयहरूले नन्दराम कठरियाको अध्यक्षतामा ११ सदस्यीय होमस्टे व्यवस्थापन समिति गठन गरेका छन् ।

जसको उपाध्यक्षमा घनश्याम कठरिया, सचिवमा घुम्मन कठरिया र कोषाध्यक्षमा मनोज महतौं कठरिया रहेका छन् । अन्य महिला सदस्यहरूमा रुपसना कठरिया, रुसिना कठरिया, रविना कठरिया, करिस्मा कठरिया, सदस्यहरूमा सर्रा कठरिया, उमेश कठरिया र दयानन्द कठरिया रहेका छन् ।