बेलाैरी, १४ जेठ । कञ्चनपुरको बेलडाँडी गाउँपालिका खैरीघाटका वसन्त ओड भारतको बेंगलोरमा चौकीदारीको काम गर्छन्। उनी भारतमा काम गर्न थालेको २० वर्षभन्दा बढी भयो। यो अवधिभित्र उनले नेपालमा आएर ५/६ पटक भोट हाले पनि।
‘नेताहरूले फोनका फोन गरे हजुर त्यही भएर आएको हुँ। भोट हालें, नेता जिताएँ। उनी कुर्सीमा बसेको पनि हेरें। झन्डै दुई सातापछि आज फेरि त्यही डन्डा बजाउन जाँदैछु’, निधारमा रातो टीका लगाएका उनले गौरीफन्टा बोर्डरमा भावुक हुँदै भने। वसन्तलाई बेलडाँडीका पाँच जना नेताले फोन गरेर बोलाएका थिए।
उनलाई आतेजाते भाडा पनि दिने भनिएको थियो। ६/७ जनाको युवाको समूह बाँधेर उनी आए पनि। तर गाउँमा मतदान भयो, नेताहरू घरमा पटकपटक आए, भोट मागे र जिते पनि। तर, अहिले उनी आफ्नै पैसाले टिकट काटेर भारत जाँदैछन्। ‘गाउँभरि पैसा बाँडियो भन्ने सुनेँ सर। तर, मलाई त आउने जाने टिकट पनि कसैले दिएनन्। चुनावमा भोट हाल्न आउन मन लागिहाल्छ’, वसन्तले भने।