नेपाली फिल्मको सर्वाधिक सफल सिरिजमध्ये एक हो, ‘कबड्डी’ । यसका तीनवटै सिरिजले बक्सअफिसमा आक्रामक कमाई गरे । शुक्रवारबाट यसको चौंथो श्रृंखला प्रदर्शनमा आएको छ । चौंथो श्रृंखलाले पनि बक्सअफिसमा आँधी ल्याउने संकेत देखाइसकेको छ । मल्टीप्लेक्सहरुमा फिल्मको आक्रामक बुकिङ छ भने सिंगल थिएटरमा बिहानैदेखि दर्शकको उल्लेख्य भीड देखिएको छ ।
‘कबड्डी’को अघिल्ला तीन श्रृंखला वीरकाजी (दयाहाङ राई) को बिहेको रस्साकस्सीमा घुमेको थियो । चौंथो श्रृंखलामा पनि यसैको निरन्तरता छ । तर, यसपटक वीरकाजीलाई बिहेप्रति खासै रुची छैन । के त्यसो भए वीरकाजीको बिहे हुँदैन त ? यो जान्नका लागि हलसम्म पुग्नै पर्ने हुन्छ । २ घन्टा १७ मिनेटसम्म हलमा बाँधिराख्ने पाटो नै यही हो । ‘कबड्डी ४’, ‘कबड्डी’को अन्तिम सिरिज हो ।
निर्देशक रामबाबु गुरुङले फिल्मभित्रको एक पात्रको कथालाई उठाउने मिल्ने गरी ‘कबड्डी ४’लाई विट मारेका छन् । फिल्मको अन्तिममा अब ‘मास्टर बमकाजी’ फिल्ममार्फत् भेट्ने वाचा गरिएको छ । अर्थात् ‘कबड्डी’ सिरिजको महत्त्वपूर्ण पात्र बमकाजीमा केन्द्रित भएर उक्त फिल्म बन्न लागेको हो । ‘कबड्डी’ सिरिजमा अभिनेता सौगात मल्लले बमकाजीको भूमिका निर्वाह गरेका छन् ।
फिल्म ‘मास्टर बमकाजी’मा सौगातको मुख्य भूमिका रहनेछ । अभिनेता दयाहाङ राई भने यो फिल्ममा नदेखिने जानकारी प्राप्त छ । तर, एउटा बिन्दूमा बमकाजी र वीरकाजीको भेट हुने बताइएको छ । निर्देशक गुरुङ यो फिल्मलाई ‘कबड्डी’ जस्तै सिरिजको रुपमा अगाडि बढाउने योजनामा छन् । ‘मास्टर बमकाजी’को कथावस्तु पनि मुलतः बिहेकै गोलचक्करमा घुम्ने स्रोत बताउँछ ।