दार्चुला, ११ जेठ । दार्चुलामा एक शिक्षक नावालिग छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको नौगाड गाउँपालिका-६ स्थित खालीडाडा लेकबाट बलात्कार आरोपमा शिक्षक रामसिंह धामीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १७ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ । अहिले उनलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको दार्चुलाका प्रहरी प्रमुख डिएसपी प्रतिक बिष्टले बताए । पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन् । उनको उजुरीपछि प्रहरीले धामीलाई समातेको हो। पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने बताइएको छ ।
आरोपित शिक्षक धामीले किशोरीलाई गत सालको फागुन महिनामा पहिलोपटक बलात्कार गरेको उनका आफनतले बताएका छन् । आफन्तका अनुसार ती शिक्षकले बलात्कार गरेपछि भिडियो पनि बनाएको र त्यहीँ भिडिओ देखाएर ब्ल्याकमेल गर्दै पटकपटक बलात्कार गर्ने गरेका थिए । आरोपित धामीले बनाएको भिडियो पनि अहिले सार्वजनिक भएको प्रहरीले जनाएको छ ।
यही जेठ ६ गते आरोपित धामीले उक्त भिडियो आफ्नो एकजना साथीको पर्सनल म्यासेजमा पठाएका थिए । त्यसपछि त्यो उनका साथीले त्यो भिडियो अरु व्यक्तिहरुलाई सेयर गरेका थिए । यसरी सेयर हुँदै गएपछि भारतको बेङ्गलोरमा बस्ने एकजनाले फेसबुकमा सार्वजनिक गरेका थिए । त्यसपछि यो घटना बाहिरिएको थियो ।