बेलाैरी,११ जेठ । कञ्चनपुरमा काँग्रेसको विजयी भोजमा जाँदै गरेको ट्र्याक्टर दुर्घटना भएको छ । जिल्लाको पुनर्वास नगरपालिका-५ ‘ग’ गाउँमा विजयी भोजमा जाँदै गरेको से२त २१९१ नम्बरको ट्र्याक्टर दुर्घटना भएको प्रहरीले बताएको छ ।
दुर्घटनामा १७ जना घाइते भएका इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ । उनीहरुलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको बताइएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ९ जनालाई अस्पतालले डिस्चार्ज गरिसकेको र अन्य ८ जनाको उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । ट्र्याक्टर चालक पुनर्वास-५ कै ३० वर्षीय लक्ष्मण पूजारा पनि उपचारमै रहेको प्रहरीले बताएको छ ।
यस्तै, मंगलबार पुनर्वासका नवनिर्वाचित नगर प्रमुख तोयप्रसाद शर्मा घाईतेहरुको अवस्था बुझ्न अस्पताल आएका थिए । उनले घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा विशेष ध्यान दिन अस्पताललाई अनुरोध गरेका छन् ।