विमानस्थल स्तरोन्नतिकालागि सिमांकनको कार्य अन्तिम चरणमा,प्राविधिक टोली धनगढी पुग्दै


[ss_social_share]
लेखक : admin      २ वर्ष अगाडि मा प्रकाशित     
विमानस्थल स्तरोन्नतिकालागि सिमांकनको कार्य अन्तिम चरणमा,प्राविधिक टोली धनगढी पुग्दै

धनगढी,१० जेठ। कैलालीको धनगढी विमानस्थल स्तरोन्नतिका लागि आवश्यक जग्गा अधिग्रहण गर्न सिमांकनको कार्य अन्तिम चरणमा पुगेको छ। धनगढी नागरिक उड्यन कार्यालय गेटाका अनुसार जग्गा अधिग्रहणका लागि चार किल्लाको सिमांकन कार्य अन्तिम चरणमा पुगेको हो।

धनगढी विमानस्थलको विस्तार तथा विकासका लागि पुस ३० गते बसेको मन्त्रिपरिषद् बैठकले जग्गा अधिग्रहणको निर्णय गरिसकेको धनगढी नागरिक उड्यन कार्यालय गेटाका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए । उनले चार किल्ला सिमांकनको कार्य अन्तिम चरणमा पुगेको बताउँदै आज प्राविधिकको टोली धनगढी पुग्ने बताए ।

उनका अनुसार पूर्वतर्फ खुटियो सडक, उत्तरतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ३४० मिटर उत्तरसम्म, पश्चिमतर्फ हालको तारबार गरिएको क्षेत्रबाट ७ सय मिटर पश्चिमसम्म र दक्षिणतर्फ हालको तारबार गरिएको क्षेत्रबाट एक सय मिटर दक्षिणसम्म विमानस्थलका लागि जग्गा अधिग्रहण गर्ने लगभग टुंगो लागेको छ।

यस्तै धनगढी नागरिक उड्यन कार्यालय गेटाले सूचना जारी गर्दै सो क्षेत्रमा माटो नखन्न र जग्गाको स्वरुप नबिगार्न आग्रह गरेको छ। साथै धनगढी नागरिक उड्यन कार्यालय गेटाले एक सूचना जारी गर्दै माघ महिनामा गरिएको सर्भेपछि उक्त सीमानाभित्र जग्गाको माटो खनी स्वरुप बिगारिएको पाइएमा मुआब्जा निर्धारणका समयमा जग्गाको मूल्यांकन गर्दा यस्ता कुराको समेत ख्याल गर्न अनुरोध गरेको छ ।