धनगढी,७ जेठ/सुदूरपश्चिम प्रदेशले दोस्रो महिला मेयर पाएको छ। कैलालीको लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेसकी सुशिला शाही मेयरमा विजयी भएकी छन्।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार शाही १२ हजार ७१३ मत सहित मेयरमा निर्वाचित भएकी हुन।
शाही सुदूरपश्चिम प्रदेशमा यसपटक स्थानीय तह निर्वाचनमा निर्वाचित हुने दोस्रो महिला मेयर हुन। यसअघि अछामको पञ्चदेवल विनायक नगरपालिकामा नेपाली कांग्रेसकै अम्बिका चलाउने मेयर निर्वाचित भएकी थिइन्।
शाहीका निकटतम प्रतिस्पर्धी निवर्तमान् मेयर एमालेका महादेव बजगाईले १० हजार ४३५ मत प्राप्त गरे।
यस्तै, उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७०८ मत सहित विजयी भइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकी कुमारी सिंहले ८ हजार ३०८ मत ल्याइन्।
लम्कीचुहा नगरपालिकामा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी चुनावी तालमेल गरेर चुनावमा सहभागी भएका थिए। गठबन्धन विरुद्ध नेकपा एमाले एक्लै चुनावमा उत्रिएको थियो।