एकातिर अभिनेत्री दीपिका पादुकोण फ्रान्समा भइरहेको ७५औं कान्स फिल्म फेस्टिभलमा छाइरहँदा अर्कोतिर उनका श्रीमान् तथा अभिनेता रणवीर सिंहले अभिनय गरेको फिल्म ‘जयेशभाई जोरदार’ले असफलता झेलिरहेको छ । कान्समा सहभागी हुने क्रममा दीपिकाले लगाएको पहिरन र सुन्दरताको व्यापक चर्चा हुँदा रणवीरको फिल्मको व्यापार भने दिनप्रतिदिन कमजोर बनिरहेको छ । यशराज फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले प्रदर्शनको दिनदेखि नै बक्सअफिसमा स्ट्रगल गरिरहेको छ । पहिलो दिन ३ करोडको कमजोर ओपनिङ गरेको फिल्मले विकेन्डमा जम्मा १२ करोड कमायो । फिल्मको पहिलो हप्ताको बक्सअफिस आँकडा हेर्ने हो भने निराशाजनक अवस्था छ । पहिलो हप्ता फिल्मले जम्मा १७ करोड कमाएको भारतीय मिडियाले उल्लेख गरेका छन् । एकपछि अर्को सुपरहिट फिल्म दिँदै आएका रणवीर सिंहको यसपटक बक्सअफिसमा स्टारडमको जादू चल्न सकेको छैन । उनले काम गर्दै आएको फिल्मभन्दा ‘जयेशभाई जोरदार’ फरक भएकाले पनि दर्शकले हेर्ने रुची नदेखाएको हुनसक्ने देखिन्छ । पहिलो हप्ताको व्यापारबाटै फिल्मलाई फ्लप भन्न थालिएको छ । दिव्यांग ठक्कर निर्देशित यो फिल्मको नेपालमा पनि व्यापार राम्रो छैन ।