नयाँ पुस्ताले आफ्नो भविष्य देशमा देख्न छाडिसके । अन्तर्राष्ट्रिय विमानस्थलको भिडले नयाँ पुस्ताको देशप्रतिको उदासीनताको भावना पुष्टि हुन्छ ।
अनलाइनखबरले नयाँ पुस्ताको देश भन्ने बहस शृङ्खला चलाइरहेको रहेछ । मैले यसलाई नयाँ पुस्ताले खोजेको देश भन्ने बुझें । यो शीर्षकसँग मेरो अलि असहमति छ ।
किनकि युवाहरूले खोजेको देश होइन, युवा अथवा नयाँ पुस्ताले बनाउन चाहेको देश भन्ने विषयमा बहस गर्नुपर्छ । जुन पुस्ताको देशको परिकल्पना गर्ने, त्यही पुस्ताको सहभागिता नहुने अवस्थाको विरोधाभासको अन्त्य गरिनुपर्छ ।
हाम्रो नयाँ पुस्ता अहिले के गरिरहेको/सोचिरहेको छ ? पुरानो पुस्ताले के गरिरहेको छ ? यसलाई बुझ्न संसारका विकसित देशहरु रूपान्तरणकारी यात्रामा कसरी पुगे ? भनेर बुझ्नुपर्छ ।
केही समयअघि म जर्मनीमा थिएँ । म्युनिखको ट्रेन स्टेशनमा आइपुगें र होटेल जान ट्याक्सी समातें ।
ट्याक्सी चालक पाकिस्तानी मूलका हुनुहुँदो रहेछ । दक्षिण एशियाली नागरिक भनेर अनुमान गरिहालें । कुराकानीको क्रममा के थाहा पाएँ भने उहाँ एक इन्जिनियरका रूपमा आजभन्दा ५७ वर्षअगाडि जर्मनी जानुभएको रहेछ । त्यहाँका ठूला कम्पनीहरूमा काम गर्नुभयो । कामबाट अवकाश पाएपछि उहाँले ट्याक्सी चलाउन थाल्नुभएछ ।
छोराहरू जर्मनीमै काम गर्दा रहेछन् । उहाँले एकप्रकारको अप्ठ्यारो महसुस गर्नुभयो । बुढो मान्छे, रिटायर्ड इन्जिनियर किन ट्याक्सी चलाइराछ भनेर सोच्यो भन्ने लाग्यो कि ? मलाई स्पष्ट पार्न थाल्नुभयो ।
संवादको क्रममा उहाँका केही कुराले मेरो मन छोयो । उहाँले भन्नुभयो, ‘मेरो अगाडिको पुस्ताका नेताहरूले राम्रो काम नगरेर मैले यहाँ जर्मनीमा गुलामी गर्नुपर्यो । र, मेरो पुस्ताका नेताहरूले राम्रो काम गर्न नसक्दा मेरा सन्तानले पनि यहीं काम गर्न परिरहेको छ ।’
उहाँको मनभित्र एउटा पीडा रहेछ । जर्मनीमा ५७ वर्ष बिताइसकेको रिटायर्ड इन्जिनियरलाई पनि आफ्नो देश छोड्न परेकोमा केही न केही पीडा त हुनेरहेछ । उहाँका परिवारका कैयौं सदस्यहरू अहिले पनि पाकिस्तानमै हुनुहुँदोरहेछ ।
आजभन्दा १० वर्ष अघि मेरो छोरो ६ वर्षको थियो । अब ऊ उच्च शिक्षा पढ्ने वेला भयो । अभिभावकीय चासो र चिन्ता यसैमा केन्द्रित हुन्छ । दुई दशकअघि मेरो विवाह भएको थिएन, कलेज पढ्दै थिएँ । त्यतिवेला मलाई मेरो मात्रै चिन्ता थियो । तर आज म यस्तो अवस्थामा छु कि मेरो छोरो अब बाहिर गएर पढ्ने अवस्थामा छ ।
बितेको दुई-तीन दशकमा नेपालमा परिवर्तन भएन भन्छौं । तर किन भएन त ? २०४६ सालदेखि अहिलेसम्म मेरो पुस्तालाई अगाडि बढ्न नदिने र मेरो छोरोको पुस्तालाई आजको मितिमा अगाडि बढ्न दिने वा नदिने भन्ने ठाउँमा एउटै अनुहार छन् । त्यसैले आधारभूत परिवर्तन भएको छैन । यो चिन्ताको विषय हो ।
पुराना पुस्ताका नेता भन्छन्, ‘अनुहार बदलेर के हुन्छ ? उमेर भन्दा सोच, दृष्टिकोण र भिजन ठूलो कुरा हो ।’ तर उहाँहरूले त्यस्तो विचार र भिजन के देखाउन सक्नुभयो त ?
भिजन के हो ? जतिवेला रूस र अमेरिकाबीच शीतयुद्ध चलिरहेको थियो । त्यतिवेला अमेरिकाका जोन एफ केनेडीलाई भिजनरी नेता भन्न सकिन्छ । उनले टेक्सस गएर भने, ‘वी वान्ट टु गो मुन एण्ड ब्याक ।’ सन् १९६० को दशकको सुरुवाती चरणको भाषणमा उनले अमेरिकाको भिजन देखाए । उनले अमेरिकाले स्पेस रेस जित्नुपर्छ भने ।
त्यस्तो भिजन हाम्रो नेतासँग कहाँनेर छ ? अबको ५ वर्षमा हामी हाम्रो देशमा के गर्छौं भन्ने भिजन र त्यसलाई सञ्चार गर्नसक्ने क्षमता त देखिएन । भिजन भनेको हावामा महल बनाउनु होइन न डाँडामा भ्यू टावर बनाउनु हो ।
नयाँ पुस्ताले पनि आफ्नो कल्पनाको देश बनाउन भिजनको प्रारूप कोर्न सक्नुपर्छ । आफ्नो भिजनकै आधारमा हो नेतृत्व दाबी गर्ने । पुराना नेताहरूलाई विना कुनै भिजन शासन गर्न छाडिदिइरहनुभयो भने उनीहरू त बसिरहन्छन् । समाजमा एउटा डोमिनेन्स हाइरार्की हुन्छ भन्ने कुरा इतिहासदेखि नै पुष्टि हुँदै आएको छ । सीमित स्रोतसाधनमाथि केही व्यक्तिहरूको असीमित पहुँच हुन्छ । राजनीतिभन्दा ठूलो अथोरिटी यस्तो असीमित पहुँचमा अरुको हुँदैन ।
युवाहरू आफूलाई चाहिएको परिवर्तन बारे जानकार हुनुपर्छ र त्यो परिवर्तन हासिल गर्ने उपाय र त्यसको व्यवहारिक रूपान्तरणका लागि नयाँ पुस्ताले भूमिका खेल्नुपर्छ । तर यसरी सोच्नुपर्ने पुस्ता कि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर छ कि टिकटकतिर । राजनीतिमा लागेका अनुहारहरू पनि आशा लाग्दा देखिन्नन् ।
यस्तो किन भयो ? हामीले ऐतिहासिक कारणहरू खोतल्नुपर्छ । हामी बाल्यकालदेखि जुन शैक्षिक प्रणालीमा हुर्कियौं, जेजति कुराहरू सुन्यौं, त्यसबाट हाम्रो ब्रेन वास भएको छ । हामीले यथार्थपरक कुरा सिकेनौं । हामी त एकदम वीर पुस्ताको सन्तान, नेपाल संसारकै सबैभन्दा सुन्दर देश, प्राकृतिक स्रोतमा धनी देश यस्तै भनेर बाल्यकालदेखि नै सिकाइयो ।
नेपाल सुन्दर देश हो तर संसारकै सबैभन्दा सुन्दर देश भनेर कसले भन्यो ? बच्चादेखि नै हामी त एकदमै खतरा देशको मान्छे रहेछौं भन्ने सुन्दै आइयो । अझ सगरमाथाको देश, बुद्ध जन्मेको देश भन्ने त छँदैछ । प्रगतिको लागि सबैभन्दा पहिलो आफ्नै इमान्दार आत्म-मूल्याङ्कन हुनुपर्यो नि !
५ वटा विषय लिएर पढ्दा म विज्ञान विषयमा फेल भएँ भने म यो विषयमा कमजोर छु भनेर सबैभन्दा पहिले आत्मस्वीकारोक्ति त हुनुपर्छ । म विज्ञानमा राम्रो विद्यार्थी थिएँ तर कसले फेल गराइदियो वा के बिग्रियो भन्ने सोच विकास गरेर प्रगति गर्न सकिन्न ।
हाम्रा नेता र शिक्षाले हामीलाई जमिनमा टेक्न दिएको छैन र हाम्रो सामूहिक मनोविज्ञान यस्तै बनेको छ । हामी केमा कमजोर छौं भनेर सोच्ने र समीक्षा गर्ने मौका नै पाएनौं । हाम्रा आधारभूत शिक्षाको प्रतिज्ञा नै गलत भयो । आजको दिनमा हामी कमजोर छौं, जसले पनि आक्रमण गरेर सिध्याइदिन सक्छ भनेर हामीले स्वीकार्नुपर्छ । २०० वर्ष अगाडिको युद्धकला र स्रोत साधनले आजको विश्वमा केही गर्न सकिन्न । तर हाम्रोमा खुँडा खुकुरीले जित्छौं, वीर गोर्खाली हौं भनेर राष्ट्रवादको नारा लगाउँछौं र आत्मरतिमा रमाउँछौं ।
हो, ऐतिहासिक रूपमा हाम्रा पुर्खाहरू एकप्रकारले वीर थिए, त्यतिवेलाको युद्धकला नै फरक थियो । तर त्यसैलाई गौरवीकरण गरेर आज हामी बाँचिरहेका छौं । हामी इतिहासका केही सन्दर्भहरूलाई गौरवीकरण गरिरहेका छौं । अहिलेको वास्तविक अवस्था के हो भनेर आत्मसमीक्षा र स्वीकारोक्ति गर्न हामीलाई इतिहासप्रतिको यस्तै सिकाइ र शिक्षाले रोकिरहेको छ । हामी सही ढंगले प्रगतिको बाटोमा अगाडि बढ्न इमान्दार आत्ममूल्याङ्कन गर्नैपर्छ ।
म ४/५ वर्ष अगाडि बर्लिनमा थिएँ । त्यहाँ हलोकस्ट संग्रहालय हेर्न जान मनलाग्यो । बर्लिन घुम्दा त्यहाँका सडक र संग्रहालयमा नाजीहरूले गरेका ऐतिहासिक युद्ध अपराधहरूको दस्तावेजीकरण छ । आफ्नै बाउबाजेले गरेका अपराधको पनि संसारलाई भनेका छन् ।
म हलोकस्ट नजिकै पुगेर कसैलाई सोधें, ‘म्युजियम कहाँनेर छ ?’ उसले म्युजियम देखाउँदै मलाई सोध्यो, ‘तँलाई थाहा छ, कहाँ उभिरहेको छस् ?’ एउटा रुख थियो नजिकै अरु केही थिएन । मैले थाहा छैन भनेपछि उसले भन्यो, ‘यो हिटलर मरेको ठाउँ हो ।’
मलाई स्वाभाविक जिज्ञासा भयो कि हिटलर मरेको ठाउँमा किन केही पनि छैन ? उसले भन्यो, ‘हामीले अग्रजबाट सिकेका छौं हाम्रा बालबालिकालाई हाम्रो पुर्खाले गरेका अपराध बारे बुझाएका छौं । किनकि हामी त्यो दुःखद इतिहासबाट मुक्त हुन चाहन्छौं ।’
युद्ध सकेर देश विभाजन भइसकेपछि जर्मनले सन् १९६८ मा नाजीका ठूला ठूला कमाण्डरलाई मात्रै अभियुक्त बनाइयो । सामान्य मानिसहरू यसबाट मुक्त भए किनकि त्यही नाजीका मानिसहरू सरकारमा पनि थिए । त्यसले जर्मनमा एकप्रकारको उथुलपुथुल ल्यायो ।
हुनत सन् १९६० को दशकमा काउन्टर कल्चर युवा आन्दोलन भएको थियो । तर जर्मनीमा पनि इतिहाससँग अलग हुन चाहने नयाँ पुस्ताले एउटा आन्दोलन नै चलायो । सन् १९६८ मा सुरु भएको उक्त आन्दोलन १९७० मा पुग्दा त्यहाँका चान्सलर विली ब्रान्टले यहुदीहरूलाई मार्न सुरु गरिएको पोल्याण्डमा गएर घुँडा टेकेर माफी मागेका थिए ।
सत्य र मेलमिलाप एउटा साधारण ‘सरी’बाट पनि हामीले निकाल्न सक्छौं । विली ब्रान्टले पोल्याण्डको गल्लीमा गएर घुँडा टेकेर माफी मागे र सरी भने । टाइम म्यागजिनको कभर पेजमा प्रकाशित भयो । तर आज पनि हाम्रो प्रधानमन्त्री म १७ हजार होइन, ५ हजारको जिम्मा लिन्छु भन्नुहुन्छ । सेन्स अफ सरी खोइ ? सत्य र मेलमिलाप भनेको मुद्दामामिलामा गएर, खिचातानी गरेर भन्दा सरी भनेर पनि गर्न सकिन्छ ।
सन् १९६० को दशकमा संसारभर भएको लिबरल मुभमेन्टमा ती देशहरूमा जुन युवापुस्ताको जुन जनसङ्ख्या थियो, त्यो अहिले हामीसँग छ । नेपालमा सबैभन्दा सिर्जनशील र उत्पादनशील १६-४० वर्षको उमेरसमूहको जनसंख्या ४४ प्रतिशत अर्थात् एक करोड ३० लाख छ ।
पटकपटक गल्ती गर्ने तर सरी नभन्ने हाम्रो नेतृत्वलाई प्रश्न गर्ने समय आएको छ । तर प्रश्न सोध्ने त्यो शक्तिशाली युवा पुस्ता तितरबितर र विचलित छ । कोही रोजगारीका लागि कोही टिकटकतिर । परिवर्तनको संवाहक बन्नुपर्ने पुस्ता विचलित भएपछि हाम्रो बाटो बरालिएको छ ।
यो पुस्तालाई सही बाटोमा फर्काउन हामीले मेहनत गर्नुपर्छ । हामी सामाजिक सञ्जाल, सञ्चार माध्यम र संकथनहरू उपभोग गर्छन्, त्यो पश्चिमा उदारवाद प्रभावित छ । हामी सञ्चार उपभोक्ता बन्ने भाषा नै अंग्रेजी भइसकेको छ । नेपालमा थुप्रै विदेशी संस्थाहरूको बाक्लो उपस्थिति छ । गैरसरकारी संस्थामार्फत् उनीहरू नेपालको विकासका लागि होइन, सामाजिक इन्जिनियरिङ गर्न आएका हुन् । पश्चिमा मूल्य-मान्यता र संस्कृतिलाई प्रचार गर्न हो ।
यसले हाम्रो समाजलाई दुइटा अतिवादी ध्रुवमा ध्रुवीकरण गरिरहेको छ । हाम्रोमा मोडरेट भ्वाइस अर्थात संयम आवाज कमजोर हुँदैछ । लोकतन्त्रमा सर्वप्रथम त युवाको सहभागिता हुनुपर्छ र यो नरमपन्थी सोच र आवाजले चल्ने हो । संसदमा पनि दक्षिणपन्थी र वामपन्थी अतिवादी आवाजहरू हुन्छन् तर त्यहाँ कम्तिमा बहस चल्छ । बहसले मोडरेट भ्वाइसमा निष्कर्ष निकालिन्छ । तर अहिले हाम्रो संसदको बहस र विवाद मोडरेट भ्वाइसका लागि भइरहेको छैन । हामी अतिवादी बोली बोलिरहेका छौं ।
यसलाई सामाजिक सञ्जालले मलजल गरिरहेको छ । सामाजिक सञ्जालमा अतिवादी विचारको प्रतिक्रिया थप अतिवादी विचारले गरिन्छ । सामाजिक सञ्जालको अल्गोरिदमले पनि अतिवादी आवाजलाई बढी प्रबर्द्धन गर्छ ।
हाम्रा युवाहरू संसदमा भइरहेको गतिविधि बारे अनविज्ञ हुन्छन् । कुन विधेयक आयो, त्यसमा के छ भन्नेमा ध्यान छैन । कसलाई मोसो दल्यो भन्ने कुराले बढी भ्यूज पाइरहेको हुन्छ । नेपाल मात्र होइन, विश्व समाज नै ध्रुवीकृत भइरहेको छ । त्यसमा सामाजिक सञ्जालहरूको ठूलो भूमिका रहेको छ ।
पश्चिमा समाज व्यक्तिवादमा आधारित छ । अमेरिकी स्वतन्त्रताको आधारभूत मान्यता जीवन, स्वतन्त्रता र खुशीको खोजी हो । एउटा व्यक्तिको रूपमा मेरो जीवन, स्वतन्त्रता र खुशी । व्यक्तिवादले आम उपभोक्तावाद र पूँजीवादतर्फ डोहोर्याउँछ । यहाँ व्यक्ति नै सामाजिक एकाइ हो ।
तर हाम्रो पूर्वीय समाजमा परिवार र समुदाय सामाजिक एकाइ हो । यहाँ म मेरो परिवार र समुदायको खुशीसँग सम्झौता गर्दिनँ । पश्चिमा समाज इथिक्स अफ अटोनोमीबाट चलिरहेको छ । हाम्रो इथिक्स अफ फ्यामिली र इथिक्स अफ कम्युनिटीबाट चलिरहेको छ ।
अलिकति ऐतिहासिक सन्दर्भबाट हेरौं । पश्चिमाहरूको व्यक्तिवादी संस्कृति चर्चबाट आएको हो । क्याथोलिक चर्चले समाजमा रहेको परिवार र समुदाय भावनालाई भत्काउन थाल्यो । बाबु-छोराको सम्पत्ति विवादमा चर्चका पोपहरूले भन्न थाले, ‘हामी सम्पत्ति भागबण्डा मिलाउँछौं तर आधार सम्पत्ति चर्चलाई दिनुपर्छ । यसो गर्दा तिमीहरू स्वर्ग जान्छौ ।’ यसरी चर्च बिस्तारै धनी हुनथाल्यो ।
यसरी चर्चले मान्छेलाई व्यक्तिवादी बनाउन ठूलो भूमिका खेल्यो । चर्च धनी हुँदै जाँदा पोपहरू अत्यधिक शक्तिशाली बन्न थाले । रोमन शासन चलिरहेको छ ।चर्चले त्यतिवेला इन्डलजेन्स बेच्थ्यो । यो भनेको ताम्रपत्र जस्तो एउटा कागज । त्यो कागज लियो भने पाप नाश हुन्छ र मानिस स्वर्ग जान्छ भन्ने भ्रम चर्चले बाँढ्थ्यो । यसरी कागज बेचेर चर्च थप धनी हुनथाल्यो ।
त्यतिवेला बाइबल ल्याटिन भाषामा लेखिन्थ्यो । उक्त भाषा केही अभिजात वर्गले मात्रै बुझ्दथे । पोप र विशेष व्यक्ति बाहेक अरूले पढ्न सक्दैनथे । त्यसैले चर्चले बाइबललाई अपव्याख्या गरिदिन्थ्यो । त्यतिवेला चर्चमा मंक रहेका मार्थिन लुथर रोम पुगे र त्यहाँबाट फर्किएपछि उनले बाइबल अन्य भाषामा अनुवाद गर्ने अभियान सुरु गरे । त्यतिवेलै गुटेन्वर्ग प्रिन्टिङ प्रेस पनि आयो र त्यसले छपाइ छिटो र सस्तो पर्न जानथाल्यो ।
यससँगै मार्थिनले क्थोलिकविरुद्ध प्रतिवाद गर्न थाले र प्रोसेस्टेन्ट धारा जन्मियो । यूरोपमा यसले सांस्कृतिक उद्भव सुरु भयो । नागरिकमा साक्षरता बढ्न थाल्यो । पठन संस्कृति बढ्यो । युनिभर्सिटीहरू बन्न थाले । यसपछि वैयक्तिक संस्कृति थप बढ्यो ।
हामी अझै सामूहिकतावादी संस्कृतिका पक्षधर छौं । पश्चिमाहरूबाट प्रभावित भएर अहिले हाम्रोमा पनि आन्दोलनहरू अतिवादी एजेन्डाहरू बोकेर भइरहेको छ, कि दक्षिणपन्थी अतिवादी कि वामपन्थी अतिवादी एजेन्डा बोकेर हाम्रो युवा पुस्ता आन्दोलित हुनखोज्छ । हाम्रो नयाँ पुस्ताले मोडरेट भ्वाइस बोक्नुपर्छ, उठाउनुपर्छ । त्यो भनेको तथ्यमा आधारित विषय उठान गर्नुपर्छ । जर्मनीमा युवा पुस्ताले आफ्नो पुर्खाको कर्मसँग नजोडिदिन आन्दोलन गरिराख्दा अमेरिकामा भने सोही वेला अमेरिकामा सेनाको गौरवीकरण भइरहेको थियो ।
हाम्रोमा यस्तै छ । हामी खतरा देशका मानिस हौं । इतिहास गज्जब छ, साधन स्रोत उत्पात छ तर अरु कसैले हाम्रो देश बनाउन दिएको छैन भन्ने संकथन बनाएर बाँचिरहेका छौं । हामीले जमिन टेक्नै पर्छ । यसको सुरुवात इमान्दार आत्मसमीक्षाबाट हुन्छ । यो कसैले गरिदिने होइन, हामी व्यक्ति व्यक्तिले सुरुवात गर्नुपर्छ ।
नयाँ पुस्तामा विकास भइरहेको यो देश जेसुकै होस् भन्ने भावनालाई सच्याउनुपर्छ । हामी बबाल देशका दुःख पाएका नागरिक भन्ने धारणालाई पनि सच्याउन सक्नुपर्यो । यसबाट मोडरेट मास बढ्छ । यसको सुरुवात व्यक्ति व्यक्तिबाट हुनुपर्छ ।
हामीले देश बनाउने अभियानको सुरुवात हामी कमजोर छौं भन्ने स्वीकारेर गर्नुपर्छ । आर्थिक, सामाजिक, राजनीतिक, नवप्रवर्तन लगायत सबै विषयमा हामी पछाडि नै छौं । नयाँ पुस्ताको देश बनाउने परीक्षामा हामी उत्तीर्ण हुने हो भने हाम्रा कमजोरीहरू आकलन गर्नुपर्छ ।
नयाँ पुस्ताको देश बनाउन कम्तिमा उनीहरू यही देशमै हुनुपर्यो । आज हाम्रो देशको सबै स्रोत साधनलाई परिचालन गर्न मानिस चाहियो । उत्पादनका साधन चाहियो ।
हामीले नेपाललाई सिंगापुर, स्विट्जरल्याण्ड वा अमेरिका जस्तो देश बनाउँछौं भनेर कल्पना गर्नुहुँदैन । सबैभन्दा पहिला देश भनेको समाज हो । हामी कस्तो समाज निर्माण गर्न चाहन्छौं ? त्यसमा ध्यान दिनुपर्छ ।
कुनै कलेजको गेटमा सुरक्षागार्डले विद्यार्थीले ड्रेस लगायो लगाएन, कानमा मुन्द्रा लगाएको हेरिरहेको हुन्छ । त्यो विद्यार्थी कलेजबाट मोटरसाइकल लिएर निस्केपछि जेब्राक्रसिङमा पनि रोक्दैन । अनुशासनको भावना देखिंदैन । अनुशासन भनेको हामी जे देखिन्छौं त्यो होइन, हाम्रो व्यवहार हो ।
हाम्रो देशमा संरचनागत रूपमै नयाँ पुस्तामा पनि समस्या कहाँ छ भने यहाँ नियम पालना गर्ने मान्छे दण्डित हुन्छ । अस्पताल होस् वा कर कार्यालयमा तपाईं लाइन बस्नुभयो भने बिल तिर्न वा टिकट लिन घन्टौं कुर्नुपर्छ किनकि लाइन नबस्ने र पहुँच भएकाहरूले छिट्टै र सजिलै पाउँछन् । लेन अनुशासन मिच्ने मानिस छिटो पुग्छ र अनुशासन मान्ने मानिस लामो समय लाइनमा बस्नुपर्छ ।
राज्यले अनुशासन पालना गर्नेलाई प्रोत्साहन गर्नुपर्छ । तर हाम्रो संरचना यसको प्रतिकूल छ । तर अनुशासित समाज निर्माण नगरी प्रगति सम्भव हुँदैन ।
देश भनेको चिल्ला रोड र ठूला संघर्ष मात्रै होइन । देश भनेको नागरिक हो । हरेक व्यक्तिले आफ्नो स्वतन्त्रताको अभ्यास कसरी गर्न पाउँछ ? त्यसलाई हेरेर हामीले देश बनाउनुपर्छ ।
नयाँ पुस्ता अलि धेरै स्वतन्त्रता मन पराउँछ । उदार समाज रुचाउँछ । आफ्नो स्वतन्त्रता, सिर्जनशीलतालाई अभ्यास गर्ने समाज बनाउनुपर्छ । यसको लागि हाम्रो नीति निर्माण सैन्य अभ्यास जस्तो नियन्त्रित होइन किसानको जस्तो खुल्ला र स्वतन्त्र हुनुपर्छ । किसानले बिउ बिरुवा रोपेर मलजल गरेर छोड्छ, बिरुवा आफैं हुर्कन्छ ।
म कहिलेकाँही मेरो छोरोलाई सोच्छु- देशबारे उसको बुझाइ के छ भनेर ? उनीहरूमा एकप्रकारको सेन्स अफ अपाथी अर्थात् उदासीनताको भावना फेला पार्छु ।
ऊ यो देशको नागरिक नै होइन जस्तो । म त ग्लोबल सिटिजन्स हो भनेजस्तो गर्छ । यस्तो भावना कसरी विकास भयो ? नेपालको धेरै युवाहरूले १६-१७ वर्षको उमेरमा ढुङ्गा उठाएर आन्दोलन गर्दै आएका हुन् । त्यो पनि निकट विगतमै । अहिले त्यो पुस्ता के गर्दैछ ?
नयाँ पुस्तालाई सकारात्मक हिसाबले कसरी इङ्गेज गर्ने ? म अर्ली फोर्टिजमा भएको अभिभावक र १६ वर्षको मेरो छोराको बीचमै प्रभावकारी सन्चारको खाडल छ । नीति निर्माताहरूले त्यो नयाँ पुस्ताको चाहना कसरी सम्बोधन गर्ने प्रयत्न गरिरहेका छन् ?
नयाँ पुस्ताले आफ्नो भविष्य देशमा देख्न छाडिसके । अन्तर्राष्ट्रिय विमानस्थलको भिडले नयाँ पुस्ताको देशप्रतिको उदासीनताको भावना पुष्टि हुन्छ । हुनेखानेका बच्चा विकसित देशहरूमा सरिरहेका छन् भने हुँदाखानेका सन्तान खाडी, मलेसिया लगायतका ठाउँमा संघर्ष गरिरहेका छन् ।
म जेसुकै पढेर आए पनि यो देशमा आएर कार्यान्वयन गर्न सक्दिनँ भन्ने भावना नयाँ पुस्तामा छ । किनकि उसले आफ्नो अभिभावकको संघर्ष नजिकबाट देखेको छ । समाज बुझ्न थालेको छ । यो देशको इतिहास र भविष्यप्रति नयाँ पुस्ताको रुचि छैन । नयाँ पुस्ताको मेन्टल ब्याण्डविथको कुनै पनि हिस्सा देशको मूलभूत गतिविधिमा सहभागिता नै छैन । यो धेरै गम्भीर कुरा हो ।
यसलाई सच्याउन निकै ढिलो भइसक्यो । म आफैंले देशमा भविष्य देख्न छाडें भने मेरो सन्तानको देशको राजनीतिमा सहभागिताले महत्व कम पाउन थाल्नु अस्वाभाविक हुँदैन । मेरो पुस्ताले त केही पाएन पाएन, अर्को पुस्ताले पनि केही पाउन सकेन भन्ने कुरामा उदासीनता विकास भइरहेको छ ।
हामी धेरै पर जानुपर्दैन । हामीले भारतको मोडेल हेरे पुग्छ । बेलायती उपनिवेशबाट मुक्त भएपछि पनि स्वतन्त्र भारतलाई सन् १९९० दशकको सुरुवातसम्म त्यही उपनिवेशको भूतले सताइरहन्थ्यो । त्यतिवेला नेपालका विभिन्न शहरमा भारतीयहरू सपिङ गर्न आउँथे । किनकि भारतको बजार खुलेको थिएन । उनीहरूले आर्थिक उदारीकरणलाई जोखिमको रूपमा हेरेका थिए ।
मनमोहन सिंह अर्थमन्त्री भएपछि भारत उदार अर्थतन्त्रको बाटोमा हिंड्यो । भारतीय बजारमा लगानी गर्न लागि विश्वकै लागि खुला गरियो । बहुराष्ट्रिय कम्पनी र विदेशी लगानीकर्ताहरूबाट लगानी सुरु भयो र भारतमा रोजगारीको अवसर वृद्धि हुनथाल्यो । सन् १९९० को दशकपछि विदेश गएका भारतीय डायस्पोरालाई स्वदेश फर्कने वातावरण बन्यो । हाम्रो इकोनोमीको रेड टेप कति छ ? कसैले नयाँ काम सुरु गर्न थाल्यो भने धेरै गाह्रो छ । हामीले आर्थिक उदारीकरणलाई हेरौं यसबाट हामीलाई आर्थिक अवसरहरू सिर्जना गर्न सक्छौं ।
हामीलाई भारतलाई पनि बजारको रूपमा हेर्नुपर्छ । ऊर्जा क्षेत्रमा यो स्थापित पनि भइसकेको छ । ऊर्जा संकटको कारण उनीहरू आफ्नो देशभित्र रहेका ऊर्जालाई विविधीकरण गर्छन् । नवीकरणीय ऊर्जाको जीडीपीसँग प्रत्यक्ष रूपमा समानुपातिक सम्बन्ध हुन्छ । त्यसैले उनीहरू हाम्रो ऊर्जा किनिरहेका छन् । हामीसँग भएको ऊर्जालाई सदुपयोग गरेर त्यसलाई समृद्धिसँग जोडेर लैजान सक्छौं भन्ने बुझ्नुपर्छ । यसले पनि प्रशस्त अवसरहरू सिर्जना गर्छन् ।
हामीले आर्थिक प्रगतिमै ध्यान दिनुपर्छ । सबै कुरा मिलाउन सके यो सम्भव छ पनि । नेपाल सानै देश हो र ५ वर्षमै धेरै काम गर्न सकिन्छ । सही नीतिहरू अबलम्बन गर्न सक्यौं भने हामीले आर्थिक समृद्धि हासिल गर्न सक्छौं । डाँडाकाँडामा गएर विमानस्थलहरू थपिरहनु भन्दा काठमाडौं-पोखरा, पोखरा-भैरहवा जोड्ने फास्ट लेन बनाउन सकियो भने धेरै राम्रो हुन्छ । हामीले गलत प्राथमिकताहरू सच्याउनुपर्छ ।
हाम्रो नयाँ पुस्ता धेरै क्षमतावान छ । त्यो धेरै क्षेत्रमा देखिएको छ । खेलदेखि गीतसंगीतसम्म भारतसँग प्रतिस्पर्धा गर्ने स्तरमा पुग्दैछ । नेपाली कलाकार भारतदेखि अमेरिकन आइडलमा गएर प्रतिस्पर्धा गरिरहेका छन् । यसले हाम्रो नयाँ पुस्ताको क्षमताको संकेत गरिरहेको छ । विकास र समृद्धिको काममा पनि यो पुस्ताले धेरै काम गर्न सक्छ । तर उनीहरूलाई काम गर्न वातावरण बनाइदिनुपर्छ ।