बुढीगंगा नगरमा एमालेले बुथ कब्जा गरेको भन्दै पुनः मतदान गराउन कांग्रेसको माग


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
बुढीगंगा नगरमा एमालेले बुथ कब्जा गरेको भन्दै पुनः मतदान गराउन कांग्रेसको माग

बाजुरा,६ जेठ/नेपाली कांग्रेसले बाजुरा जिल्लाको बुढीगंगा नगरपालिका पुन मतदान गर्न माग गरेको छ। वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदानका क्रममा उक्त नगरपालिकाको विभिन्न केन्द्रमा नेकपा एमालेका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार र प्रतिनिधिहरुलाई आक्रमण गरी घाइते बनाउने, मतदान केन्द्रबाट लखेट्ने, थुनछेक गर्ने र मतदान केन्द्र आफ्ना कार्यकर्ताको नियन्त्रणमा राखि (बुथ कब्जा गरी) फर्जी मत हालेको आरोप कांग्रेसले लगाएको छ।  

भयरहित वातावरणमा स्वविवेकले मतदाता स्वयंले मतदान गर्न पाउने संवैधानिक अधिकारलाई चुनौति दिँदै उक्त कार्य भएकाले पुन: निर्वाचन गराउनुपर्ने माग कांग्रेसले गरेको छ। निर्वाचनमा खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, विभिन्न राजनीतिक दलका उम्मेदवार तथा प्रतिनिधि र मतदातालाई सुरक्षित राख्नका लागि निषेधाज्ञा (कफ्र्यू) जारी गर्नु परेको घटनाले स्थिति निकै भयावह भएको दाबी कांग्रेसले गरेको छ।  

‘बढ्दो असुरक्षा र भयरहित वातावरणमा निर्वाचन गर्ने अवस्था नभएका कारण सदरमुकाम पुगेर राजीनामा दिइसक्नुभएका निर्वाचन अधिकृतलाई घेराबन्दीमा पारेर कब्जा गरिएका मतदान केन्द्रका मतपेटिकाहरु बुझ्न बाध्य पारिएको दाबी कांग्रेका मुख्यसचिव कृष्ण पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख  छ। 

निर्वाचनको निश्पक्षता, स्वतन्त्रता र पारदर्शितामा गम्भीर चुनौती दिने यस किसिमको जघन्य घट्नामा संलग्न उपर कानून बमोजिम कडा कारबाहीको माग पनि काग्रेसले गरेको छ।

‘नेपाली कांग्रेस त्यसरी कब्जा गरिएका मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा पुनः मतदानको व्यवस्था तत्काल मिलाउन निर्वाचन आयोग समक्ष अनुरोध गर्दछ’ कांग्रेसको विज्ञप्तिमा उल्लेख छ। उक्त निर्वाचन क्षेत्रमा कांग्रेस एमाले दुवैले वुथ कब्जा गरेका थिए। उनीहरुले एक अर्कालाई आरोप लगाउने गरेका छन्।

नगरपालिकाका कुल १० वटा वडामध्ये २, ३, ४, ५, ७ र ९ नम्बर गरी ६ वटा वडाका मतदान केन्द्रहरुमा स्वतन्त्र मतदान हुन सकेको थिएन । २, ३, ५ र ९ नम्बर वडाका मतदान स्थल नेकपा एमालेका कार्यकर्ताहरुले कब्जामा लिएका थिए भने कांग्रेस कार्यकर्ताहरुले वडा नम्बर ४ र ७ कब्जामा लिएका थिए।