१९७४ एडीले खर्साङबाट कन्सर्ट सुरू गर्ने


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
१९७४ एडीले खर्साङबाट कन्सर्ट सुरू गर्ने

काठमाडौँ — लोकप्रिय ब्यान्ड १९७४ एडी लामो समयपछि गुञ्जने भएको छ । नोभेम्बर १९ देखि दार्जिलिङको खर्साङमा हुने ‘द फाइन ट्रि फेस्टिभल’बाट सुरु हुने कन्सर्टको ‘मिनी टुर लिस्ट’ नै सार्वजनिक भएको छ ।

ब्यान्डका भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रियन प्रधान र फ्लुटिस्ट मनोज सिंह कन्सर्टका लागि अमेरिकाबाट नेपाल आइसकेका छन् । नेपालमा रहेका संस्थापक तथा बेसिस्ट निराकार याकथुम्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित ब्यान्डका सबै सदस्य मिलेर कन्सर्टका लागि अभ्यास गरिसकेका छन् ।

‘यसपालिको पहिलो टुर नै फिरोज र एड्रियन दाइको गाउँको छिमेक खर्साङबाट सुरु हुन लागेकाले विगतमा यात्रा गर्दाका धेरै सम्झनाहरू ताजा भएको छ,’ ब्यान्ड व्यवस्थापन हेरिरहेका सञ्जयले बताए । फिरोज र एड्रियनको जन्मस्थल क्रमशः तकभर दार्जिलिङ र कालिम्पोङ हो । ‘मेरो भारतको लागि अथाह प्रेम छ । मलाई यहाँ बजाउन आउँदा दोस्रो घर आएको जस्तो लाग्छ,’फ्लुटिस्ट मनोजले बताए ।

सन् २००८ मा अन्तिमपल्ट मेची पारी कन्सर्ट गर्दाका क्षण सम्झिँदै लिड गिटारिस्ट मनोज केसीले थपे,’ब्यान्डको सुरुवाती दिनमा धेरै कन्सर्ट गरेको थियो । यो भेगमा अन्तिमपल्ट सिक्किमको मंगनमा कन्सर्ट भएको थियो । यहाँ हामीलाई माया गर्ने धेरै स्रोताहरुले मिस गर्नुभएको छ । त्यो सम्बन्धलाई यति बेला जोड्न पाए जस्तो लागिरहेको छ ।’

खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधाबी, डिसेम्बर ९ मा पोखरा, डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने बताइएको छ ।

सन् १९९४ मा झम्सिखेलबाट स्थापना भएको १९७४ एडीले ९ एल्बम निकालिसक्यो । ब्यान्डका थुप्रै गीत दर्शकको मन मुटूमा बस्न सफल छन् । त्यसमध्ये ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जङ्गी निशान’, ‘पिँजडाको सुँगा’ ‘सम्झी बस्छु’, ’मुटु भरि भरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिँड्दा हिँड्दै’, ‘गुँराश फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ जस्ता गीत निकै चर्चित छन् ।