काठमाडौँ — केही महिना यता निरन्तरजसो सेयर बजार घटिरहे पनि पछिल्ला महिनामा सेयर कर्जा बढ्न थालेको सरकारी प्रतिवेदनले देखाएको छ । गत साता प्रकाशित मुलुकको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी राष्ट्र बैंकको मासिक प्रतिवेदनले गत असारदेखि असोजसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको सेयर (मार्जिन प्रकृतिको) कर्जा करिब ६.२ प्रतिशतले बढेको हो । गएको तीन महिनामा सेयर कर्जा ४ अर्ब ८० करोड रुपैयाँले बढेको प्रतिवेदनले देखाएको छ । गत वर्षको असोजसम्म यस्तो कर्जा ५.२ प्रतिशतले घटेको थियो ।
यसअघि ०७८ भदौमा राष्ट्र बैंकले ४ करोड र १२ करोडको सीमा लगाएपछि घट्न थालेको सेयर कर्जा त्यसपछिका प्रायः सबै महिनामा घटिरहेको थियो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले ४ करोडको सीमा हटाएर १२ करोड मात्र कायम गरेको थियो । त्यति बेला राष्ट्र बैंकले ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिम भार घटाएर एक सय प्रतिशत बनाएको थियो । यसअघि २५ लाख रुपैयाँसम्मको सेयर कर्जाको जोखिमभार मात्र एक सय प्रतिशत र त्योभन्दा बढी सबै कर्जाको एक सय ५० प्रतिशत थियो ।
उक्त नीतिगत परिवर्तनले पनि सेयर लगानीकर्तालाई उत्साहित गर्न सकेको थिएन । त्यसपछि मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले (गत असोजमा) सेयर कर्जाको सीमा बढाएर व्यक्तिगत लगानीकर्ताले बढीमा १५ करोड रुपैयाँसम्म र संस्थागत लगानीकर्ताले २० करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने व्यवस्था गरेको छ ।
‘कुनै एक वा सबै बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड कायम गरिएको छ । धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापित संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड कायम गरिएको छ,’ परिपत्रमा भनिएको छ, ‘यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्नेछ ।’ तर तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरे बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने निर्देशन छ । यस्तो व्यवस्थापछि सेयर बजारमा सकारात्मक प्रभाव पर्ने नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूले दाबी गरेका थिए ।
गत असोजसम्म बैंक तथा वित्तीय संस्थाले ८१ अर्ब १ करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत असोजसम्म यस क्षेत्रमा प्रवाह भएको कर्जा करिब ४ अर्ब ७० करोड रुपैयाँले बढी हो । गत असारमा यस्तो कर्जा ७६ अर्ब ३० करोड रुपैयाँ र ०७९ असारमा ८० अर्ब ५० करोड रुपैयाँ सेयर कर्जा लगानीमा थियो ।
राज्यको नीतिगत व्यवस्थाले सेयर बजार प्रभावित हुने र पछिल्ला वर्षमा कसिला नीति आएकाले सेयर कारोबार मापक नेप्से परिसूचक बढ्न नसकेको जानकारहरू बताउँछन् । गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले केही सेयर कर्जामा खुकुलो बनाउन खोजे पनि अर्थतन्त्रमा आएको शिथिलताका कारण लगानीकर्ताले कर्जा लिने आँट गर्न नसकेको उनीहरूको भनाइ छ ।
‘०७८ भदौमा राष्ट्र बैंकले ४ र १२ करोडको नीति ल्यायो, यो व्यवस्थापछि घट्न थालेको सेयर बजार अझै बढ्न सकेको छैन,’ एक स्टक ब्रोकरले भने, ‘नीतिगत खुकुलो नभएसम्म सेयर बजारमा बढोत्तरी आउन कठिन छ ।’ नयाँ आर्थिक वर्ष सुरु भएपछि तरलता अवस्था सहज भएकाले बैंक तथा वित्तीय संस्थाले साना ठूला सेयर कर्जामा विभिन्न अफर ल्याइरहेका छन् । तर, शिथिल अर्थतन्त्र, अपेक्षाअनुरूप बढ्न नसकेको सेयर बजारलगायत कारण लगानीकर्ता कर्जा लिएर सेयरमा लगानी गर्ने अवस्थामा नरहेको जानकारहरूको भनाइ छ ।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजसम्म २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा ११ र २५ लाख रुपैयाँभन्दा कमको कर्जा ५.२ प्रतिशतले बढेको छ । तर सोही अवधिमा एक करोड रुपैयाँभन्दा बढीको कर्जा ७.२ प्रतिशतले बढेको छ । ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने २.६ प्रतिशतले घटेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । ०७९ असोजसम्म २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर कर्जा १०.४ र एक करोडभन्दा माथिको कर्जा ६.४ प्रतिशतले घटेको थियो । सोही अवधिमा २५ लाख रुपैयाँभन्दा कमको कर्जा १.१ र ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा भने ३ प्रतिशतले बढेको थियो ।
पछिल्ला महिनामा सेयर कर्जा बढ्नुले घटेको सेयर बजारमा लगानीकर्ताले विस्तारै लगानी बढाउन थालेको संकेत भएको जानकार बताउँछन् । पर्याप्त तरलताका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानीकर्ताले विस्तारै लगानी बढाउन थालेको उनीहरूको भनाइ छ ।