काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वका अवसरमा देशविदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका कामना गरेका छन् ।
प्रकृतिको पूजा गरिने छठ पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगिलाई अन्त्य गर्न सहयोग पुग्ने विश्वास सन्देशमा राष्ट्रपतिले व्यक्त गरेका छन् ।
यसै अवसरमा सबै नेपालीमा शुभकामना व्यक्त गर्दै जारी गरिएको सन्देशमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवले छठपर्वबाट सामूहिकता र एकतालाई बढावा दिनुका साथै व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार हुने बताएका छन् ।
यसै उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको शुभकामना सन्देशमा छठपर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै भूगोल र क्षेत्रफलको हिसाबले नेपाल सानो भए तापनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूषा र सभ्यताका दृष्टिले विश्वमै विशाल र वैभवशाली भएको बताएका छन् ।
यसैगरी, सभामुख देवराज घिमिरेले सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने नेपालीहरूको महान् पर्व छठको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा शुभकामना व्यक्त गरेका छन् ।
सूर्य देवता र छठीमाताको पूजाअर्चना छठपर्वको मुख्य विशेषता हो । यो पर्वमा सूर्यको उपासना तथा व्रत बसी रातभर खोला तथा पोखरीको किनारमा जाग्राम गरेर हर्षोल्लासका साथ धुमधामसँग यो पर्व मनाइन्छ । खासगरी तराई तथा मधेस क्षेत्रमा मनाइने छठपर्व पछिल्लो समय काठमाडौँ उपत्यकालगायत पहाडी तथा हिमाली जिल्लामा समेत सूर्यदेवता र छठीमाताको पूजाअर्चना गर्दै श्रद्धा एवं भक्तिपूर्वक मनाउने चलन बढ्दै गएको छ ।
छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । भेदभावबिना सम्पूर्ण प्राणीलाई समान शक्ति, ताप र प्रकाश दिने समानताको प्रतीक सूर्यको यसै महिमालाई आत्मसात् गर्दै तन र मन लगाएर कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यलाई दूधको अर्घ्य दिएर पूजा आराधना गरी यो चाड मनाइन्छ ।
छठपर्वलाई प्राकृतिकसँग प्रेमको प्रतीकका रूपमा लिइन्छ । यस पर्वमा यो मौसममा उपलब्ध हुने सबैखाले नयाँ अन्न, फलफूल, कन्दमूलहरू प्रसादका रूपमा प्रयोग गरिन्छ ।
प्रकृति र सभ्यताको अनुपम उदाहरण रहेको छठपर्वको नेपालको तराई मधेसमा हिन्दूबाहेक इसाई, मुस्लिम र नेवार समुदायले पनि मान्ने गरेका छन् ।