५ दिनको अवधिमा सुर्खेतबाट मात्रै ३५ उडान
जाजरकोट — शनिबारयता उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का दैनिकजसो नेपाली सेनाको हेलिकोप्टरबाट जाजरकोट र रुकुम पश्चिम उडिरहेका छन् । उनी त्यहाँ जाँदा हेलिकोप्टरमै हुन्छन्– कांग्रेसका प्रदेशस्तरीय नेताकार्यकर्ता । बिहीबार रक्षामन्त्री खड्का सेनाको एमआई सेभेन्टिनमार्फत प्रभावित क्षेत्र पुगे र झन्डै २ घण्टापछि सुर्खेत फर्किए ।
शुक्रबार मध्यरातिको भूकम्प प्रभावित जाजरकोटका १७ हजार परिवारले भने त्रिपाल र खाद्यान्नसमेत पाउन सकेका छैनन् । जाजरकोटमा ९ हजार घर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रशासन कार्यालयको तथ्यांक छ । करिब २४ हजार घरमा आंशिक क्षति पुगेको छ । अहिलेसम्म १६ हजार ब्लांकेट, १७ हजार त्रिपाल र ३२ हजार बोरा चामललगायतका सामग्री वितरण गरिएको छ । त्यसमध्ये झन्डै ९० प्रतिशत सामग्री सडकमार्गबाट र मुस्किलले १० प्रतिशत सामग्री हवाई मार्गबाट प्रभावित क्षेत्रका लागि पुगेको हो । तर अनुगमनका नाममा हेलिकोप्टरमा जाने मन्त्री र नेताहरूको लस्कर देखिन्छ । अति नै भएपछि भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीेले बुधबार सामाजिक सञ्जालमा आक्रोश पोखे– ‘विभिन्न बहानामा भेरी नगरपालिकाको आकाशमा हेलिकोप्टर आतंक बन्द गर । संविधानले गरेको स्थानीय विपद् व्यवस्थापन समितिको अधिकार मिच्न नखोज ।’
भूकम्प गएदेखि दैनिकजसो जाजरकोट र रुकुम पश्चिमका आकाशमा हेलिकोप्टर घुमिरहेको हुन्छ । ‘कुनै बेला त हामीलाई जानकारी नै नदिएर हेलिकोप्टर आउँछ,’ जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माले भने, ‘व्यवस्थापनमा हैरान भइसक्यो ।’
प्रदेश सरकारको आन्तरिक मामिला मन्त्रालय, प्रदेश प्रहरी कार्यालय र सुर्खेत विमानस्थल कार्यालयले दिएको जानकारीअनुसार शनिबार बिहानयता ५ दिनको अवधिमा ३५ पल्ट हेलिकोप्टरको उडान भएको छ । शनिबार सुर्खेतबाट ९, आइतबार १०, सोमबार ४, मंगलबार ६ र बुधबार ४ र बिहीबार २ वटा उडान सुर्खेतबाट रुकुम पश्चिम र जाजरकोटका लागि भएका छन् । यहाँका सरकारी निकायसँग काठमाडौंबाट हेलिकोप्टर उडानको तथ्यांक छैन । यसबीच झन्डै १० वटा उडान काठमाडौंबाट भएको आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जीसीले बताए । उनका अनुसार हेलिकोप्टर चार्टरको सबै खर्च संघीय सरकारले नै व्यहोर्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार बिहान भूकम्प प्रभावित क्षेत्र पुगे भने त्यसको ३ दिनपछि मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल पनि ठूलो टोलीसहित प्रभावित क्षेत्रमा पुगे । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्यमन्त्री मोहन बस्नेत, कर्णालीका प्रदेश प्रमुख तिलक परियार, मुख्यमन्त्री राजकुमार शर्मा, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, प्रदेश सरकारका मन्त्रीलगायत नेताहरू हेलिकोप्टरबाटै प्रभावित क्षेत्रमा आएका थिए । ‘हामी राहतको आशा गरिरहेका हुन्छौं, तर हेलिकोप्टरमा भीआईपीहरू आउँछन् र अनुगमन गरेर फर्किन्छन्,’ बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले भने, ‘सडक सुविधा नहुँदा अझै पनि १ हजार ६ सय घरमा राहत पुर्याउन सकिएको छैन ।’ भूकम्पमा परी पालिकाभरि करिब ४ हजार ३ सय घरमा क्षति पुगे पनि २७ सय घरमा अझैं सामान्य राहत पनि पुर्याउन नसकिएको उनले बताए । भूकम्पको केन्द्रबिन्दु रामीडाँडासहित नायकबाडा, सक्ला र रोकायगाउँका पीडितहरू खुला आकाशमा रात बिताउन बाध्य छन् ।
दुई घर भत्किएर घरबारविहीन भएका रामीडाँडाका तुलबहादुर विकले एकसरो लुगाको भरमा बारीमा रात कटाउँदा घरका ७ जना नै बिरामी परेको बताए । ‘हिउँ पर्ने ठाउँमा पुराना लुगाले बारेर सेल्टर बनाएका छौं,’ उनले भने, ‘पुरिएको खाद्यान्न निकाल्न पाएका छैनौं, खाना पनि १/२ दिन पुग्ने मात्र छ, त्यो पनि छिमेकीले सहयोग गरेको, नेताहरू हेलिकोप्टरमा आउँछन्, हाम्रो पीडामा रमाएर फर्किन्छन् ।’ जाजरकोटका ७ स्थानीय तहका ७० वडामध्ये ५० वडामा पनि सडक सुविधा नभएकाले राहत वितरणमा समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी हरिचन्द्र शर्माले बताए । ‘सडक भएका वडामा त जसोतसो १/२ थानका दरले केही राहत पुगिसकेको छ, सडक नहुँदा दुर्गम वडामा राहत पुर्याउन भरिया र खच्चडको भर छ,’ उनले भने, ‘यहाँ आउने भीआईपीहरूले आएको हेलिकोप्टरमा राहत ल्याए पनि ३०/४० थान त्रिपाल र ४०/५० बोरा चामल हुन्छ, त्यो राहत कसरी गाउँभरिलाई पुर्याउने ?’
मन्त्री र नेताको हेलिकोप्टर सयरले ठूलो बजेटको दोहन भइरहेको सामाजिक अभियन्ता वासुदेव शर्माले बताए । सेनाको उत्तरपश्चिम पृतना हेडक्वार्टरका अनुसार एकपल्ट सुर्खेतबाट जाजरकोट र रुकुम पश्चिम पुग्दा ५ देखि ७ लाख रुपैयाँ खर्च हुने गरेको छ । यो आधारमा हेलिकोप्टर चार्टरमै कम्तीमा २ करोड ४५ लाख रुपैयाँ खर्च भएको छ । ‘पीडितको अवस्था बिजोग छ, एकपल्ट मन्त्रीहरू हेलिकोप्टरमा सयर गर्ने पैसाले कम्तीमा पीडितका २ वटा घर बन्थे,’ उनले भने, ‘कोही भीआईपीहरू देखाउनका लागि १०/२० बोरा चामल ल्याएर आउँछन्, त्यसले भूकम्पका कारण अस्तव्यस्त बनेको जिल्लालाई कसरी राहत पुग्छ ?’ नेता र मन्त्रीहरूको लस्करले राहत र उद्धारका काममा पनि समस्या हुने गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । ‘उहाँहरू आएपछि राहत व्यस्थापनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई उहाँहरूसँगै खटाउनुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसले पीडितका समस्यालाई ओझेलमा पारिरहेको छ ।’ रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले बिहीबारदेखि हेलिकोप्टर उडानमा भने केही कमी आएको बताए ।
राहत विवरण सार्वजनिक
भूकम्पपीडितका लागि प्राप्त राहत निकटता र पहुँचका आधारका वितरण भइरहेको गुनासो बढेपछि विपद् व्यवस्थापन समितिले दैनिक प्राप्त र वितरणको विवरण सार्वजनिक गर्न थालेको छ । सहायक प्रजिअ हरिशचन्द्र शर्माले पारदर्शिताका लागि दैनिक विवरण सार्वजनिक गरिएको बताए ।
जिल्ला प्रशासनले सार्वजनिक गरेको विवरणअनुसार बिहीबार ८२ सय ८२ थान त्रिपाल, ३२ सय ६३ ब्लांकेट, २५ सय ९९ बोरा चामल, ६३ पेटी खाने तेल, ४ सय ७५ थान सिरक, २ सय २९ बोरा दालसहित २२ प्रकारका सामग्री प्राप्त भएका छन् । तीमध्ये अधिकांश सामग्री स्थानीय तहहरूमा वितरणका लागि पठाइएको समितिले जनाएको छ । जाजरकोटमा शनिबारदेखि बिहीबारसम्म राहत बोकेका २ सय ५० भन्दा बढी गाडी पुगेका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयमा अनुसार दैनिक १६ वटा ट्रक, ३० भन्दा बढी निजी गाडी र त्यतिकै संख्यामा कूटनीतिक नियोग र संस्थानका गाडी पनि पुग्ने गरेका हुन् । तर, दुर्गमका धेरै पीडितसमक्ष अझै राहत पुगेको छैन ।
गाउँमा सडक सुविधा नहुँदा पहिलो चरणको राहत पनि पुग्न नसकेको स्थानीय दीपक विकले बताए । ‘महिला र बालबालिका पुराना कपडाले बारेको सेल्टरमा बसिरहेका छन्, हामी युवाहरू भने आगो ताप्दै जाग्राम बस्नुपर्ने बाध्यता छ, निद्रा पुर्याउन दिउँसो सुत्दै आएका छौं,’ उनले भने, ‘घर भत्किए पनि पूरै सामान निकाल्न नपाउँदा एकसरो लुगामै सात दिन बित्यो, अन्न केही पनि छैन, १/२ दिनसम्म राहत नआए भोकभोकै बस्नुपर्ने बाध्यता देखियो ।’ बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले पालिकाका नौ वटै वडामा ४१ सय घर भत्किए पनि करिब २७ सय परिवारलाई मात्र राहत पुर्याउन सकिएको बताए ।
भूकम्पपीडितका लागि राहत आउने क्रम घट्दै गएपछि जाजरकोटमा राहतको मौज्दात शून्य भएको छ । मंगलबारसम्म १० देखि १५ ट्रक राहत आइरहेको जाजरकोटमा ३/४ ट्रकका दरले राहत आइरहेको छ । ‘सुरुमा राहत धेरै आयो, वितरणमा समस्या भयो,’ सहायक प्रजिअ हरिचन्द्र शर्माले भने, ‘१/२ दिनयता माग धेरै छ, राहत सकियो, अहिले २/४ पोका बिस्कुट र चाउचाउबाहेक अरू राहत मौज्दात छैन ।’ उनका अनुसार राहतको मौज्दात सकिएपछि प्रभावित ३३ हजार घरमध्ये अहिलेसम्म १६ हजार घरमा मात्र एकसरो राहत पुगेको छ भने १७ हजार परिवार ७ दिनदेखि कष्टकर जीवन बिताउन बाध्य छन् । बिहीबार झण्डै ५ हजार घरका लागि राहत सामग्री गएको छ । नलगाडको खुल्चाउली, कड्के, टट्टा, करुवा, कुशेको समाइला धन्नासीलगायत भूकम्प प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायत सामान पुग्न नसकेको उनले जानकारी दिए ।
भूकम्पमा २७ जनाको ज्यान गएको नलगाड नगरपालिका–१ मा करिब ८ सय ५० घर भत्किएका छन् । अझै २ सय १५ घरमा त्रिपाल पनि पुर्याउन नसकिएको वडाध्यक्ष धनबहादुर महरले बताए । भूकम्पका कारण जाजरकोटमा मात्रै १ सय ३ जनाको मृत्यु भएको छ भने झन्डै ३ सय ५० जना घाइते छन् । सदरमुकामस्थित भेरी नगरपालिकामा पनि झन्डै ४ हजार ५ सय घर भत्किएकामा अझै १९ सय घरमा पहिलो चरणको राहत पनि पुग्न नसकेको नगर प्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।