चाडपर्व : जीवन र जगत बुझ्ने पाठशाला


[ss_social_share]
लेखक : admin      ८ महिना अगाडि मा प्रकाशित     
चाडपर्व : जीवन र जगत बुझ्ने पाठशाला

हाम्रो घर-आँगन दीपले प्रज्वलित हुँदैछ । देउसी र भैलोको सुरम्य भाका गुञ्जदैछ । प्रकृति र प्राणीप्रति हार्दिक भाव प्रकट गरिदैछ । आपसमा उल्लास र आशा आदनप्रदान हुँदैछ ।

शीतकालको पूर्वसन्ध्यामा हामी तिहार मनाउँदैछौं ।

मनोविज्ञहरु भन्छन्, ‘यो याम मानसिक स्वस्थ्यका लागि प्रतिकुल मानिन्छ ।’ यसबेला मान्छेमा खुसीको स्तर खस्कन्छ । उदासी र वेचैनी बढ्छ । किनभने शीतकालमा दिनहरु छोटो हुने, घामको किरण कम हुने भएकाले मानव शरीरमा सेरोटोनिन हर्मोन उत्पादन राम्ररी हुँदैन । सेरोटोनिन एक शक्तिशाली न्यूरोट्रान्समिटर हो, जुन मान्छेको भाव, निद्रा, भोकसँग जोडिन्छ ।

जतिबेला हाम्रा पूर्खाहरुले तिहारलाई ‘दीपावलीको उत्सव’को रुपमा मनाउने परम्परा सुरु गर्दै थिए, त्यसबेला सायदै शरीर विज्ञान यो सुक्ष्म आयम अन्वेषण भएको थियो । शरीरभित्रका अदृश्य हर्मोनहरुमा मौसमले ल्याउने उतारचढावको सायदै खोज भएको थियो ।

तर, उनीहरुले जीवन भोगाई, अनुभव र आफ्नै किसिमको अध्ययनबाट थाहा पाए, जब शीतकाल सुरु हुन्छ हाम्रो खुसी र उत्साहको स्तर पनि घट्छ । अन्नबाली राम्ररी सप्रिने छैनन् । चिसा रातहरु लम्बिनेछन् । दिनहरु न्यानो हुने छैन । यो मौसमी चक्रले मनोसामाजिक असर पार्नेछ । त्यसैले जाडो याम सुरु हुनै लाग्दा उनीहरुले यस्तो पर्वको परिकल्पना र अभ्यास गरे, जसले मान्छेलाई चराचर जगतसँग जोडिएर आशाका उज्यालोमा बाँचिरहन प्रेरित गरोस् । सुख र समृद्धिको सदीक्षा गर्दै आफुलाई उत्साहित बनाइरहोस् ।

मान्छेको भावनात्मक संवेग, स्वस्थ्य एवं पोषण प्रणाली, सामाजिक विश्वास पद्धती, प्राकृति र पर्यावरणिय अन्तरसम्बन्धलाई सचेतपुर्वक समेट्ने गरी सप्तरंगी चाडको विकास गरे । धन–ऐश्वर्यको प्रतिकात्मक स्वरुपको पूजा गर्नु, मूल ढोका एवं आँगनमा दियो बाल्नु, ओखर–बदाम जस्ता भाइमसलालाई पोषणको हिस्सा बनाउनु, सयपत्री र सप्तरंगी टिका लगाउनु, पशुपंक्षीलाई प्रकृतिकै अभिन्न अंश मान्नु, नाचगानलाई जीवनशैलीसँग जोड्नु आफैमा एक बेजोड र विराट पर्व–रचना थियो । यही उत्सवमय खोजलाई उनीहरुले आफ्नो जीवन पद्धती बनाए । यसकारण कि, भावी पुस्ताहरुले यसलाई विधिपूर्वक अनुसरण गर्दै जाउन् । युगौं–युगसम्म ।

यद्यपि आज हामीले यति अनमोल चाडको अन्तर्यलाई कति र कसरी बुझेका छौं ? परम्पराको नाममा ‘कर्मकाण्ड’ मात्र गर्दैछौं कि ? हल्का मनोरञ्जनको वाहानामा देखासेखी र तडकभडक मात्र गर्दैछौं कि ? अन्धविश्वासमा जेलिएर अन्धधुन्ध अनुसरण गर्दैछौं कि ?

किनभने कुनैपनि चाडपर्वको रचना र थालनी यसै भएको छैन । भूगोल, प्रकृति, पर्यावरण र प्राणीसँगै जोडिएर आउने विश्वास पद्धती यसका उद्गम हुन् । यो हाम्रो पूर्ख्यौली विरासत मात्र होइन जीवन प्रणाली पनि हो ।

स्वस्थ जीवन, स्वच्छ मन र सौहाद्र्धपूर्ण सामाजिक सम्बन्धका लागि चाडपर्वले प्रतिकात्मक सन्देश प्रवाह गरिरहेका हुन्छन् । खासमा चाडपर्व एक उत्साह र उमंगको अविरल स्रोत हुन् । मान्छेलाई बाँचिरहनका लागि, हाँसिरहनका लागि यसले उर्जा संचयको काम गर्छ ।

पूर्विय संस्कृति र पद्धतीले चाडपर्वलाई जीवन र जगतसँग अभिन्न रुपमा जोडेको छ । जब जब याम बद्लिन्छ, जब जब महिना बद्लिन्छ, कुनै न कुनै चाडपर्व आउँछ । यी चाडपर्वले हामीलाई प्रकृति र पर्यावरणिय चक्रमा समाहित गराउँछ । कुन याममा कस्तो आहार खाने, कस्तो दिनचर्या अपनाउने भनेर दिशानिर्देश गर्छ । यावत् चाडपर्व वैज्ञानिक छ । चाडपर्वको असली मर्म, महिमा र महत्वलाई बुझ्नु भनेको आफ्नो जीवनलाई सुन्दर र सहज बनाउनु पनि हो ।

माघे संक्रान्तिमा छरछिमेकसँग कन्दमुल बाढीचुँडी खाने, असार पन्ध्रमा दही चिउरा खाने, साउन शुक्ल पूर्णिमाको रात क्वाँटी खाने प्रचलनहरु मौसम अनुकुल पोषण विज्ञानसँग सम्बन्धित छन् । साथै यी पर्वहरु खेती प्रणालीमा आधारित क्यालेन्डर पनि हुन्, जसको आधारमा मान्छेले बिउ–बिजन रोप्ने, बोट बिरुवा गोडमेल गर्ने, अन्न भण्डारण गर्ने मोलोमेसो सही समयमा गर्न सकोस् ।

पूर्विय संस्कृतिमा तीन प्रमूख चाडमा तीन अलग-अलग देवीको पूजाआजा गरिन्छ, दशैंमा दुर्गा (शक्ति), तिहारमा लक्ष्मी (धन ऐश्वर्य), श्रीपञ्चमीमा सरस्वती (विद्या र कला) । यी तीनथरी प्रतिकात्मक देवीले जीवनको पूर्णतालाई संकेत गर्छ । अर्थात श्रेष्ठ जीवनका लागि शक्ति, धन ऐश्वर्य र विद्या एवं कलाले युक्त हुनुपर्छ भनी इंगित गर्छ ।

यी चाडहरु, त्यसका प्रतिकात्मक स्वरुप, विधि-विधानलाई अझ मिहिन रुपले केलाउने र बुझ्ने हो भने अद्भूत जीवन दर्शन पाइन्छ । जस्तो दश दिन मनाइने दशैंको हरेक दिनको भिन्न भिन्नै विधी र महत्व छ । यी फरक दिनहरुमा नवदुर्गाको रुपमा शैलपुत्री, व्रम्हाचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री जस्ता प्रतिकात्मक देवीको पूजाआजा गरिन्छ, जसभित्र गहिरो सन्देश र सौन्दर्य समाहित छ । दहीमा मुछेको टिका, विधिपूर्वक उमारिएको जमरा, पौराणिक पात्रहरुको विशिष्ठ गुणहरुले सुशोभित आशिष आफैमा जीवन जिउने कलासँग सम्बन्धित छन् ।

त्यसो त भूगोल, समुदायअनुसार विभिन्न किसिमका चाडपर्वहरु प्रचलित छन् । कहिले साकेला, कहिले माघी, कहिले ल्होसार, कहिले गौरा । यी सबै पर्वले जीवनलाई उत्कृष्ट ढंगले बाँच्न प्रेरित गर्छ । पृथ्वीले सूर्यलाई एक फन्को लगाइरहँदा धर्तीमा पर्ने त्यसका प्रभावहरुलाई खोज अध्ययन गरेर चाडपर्वको तिथि–मिति तय गरिएको छ । यसले प्रकृतिसँग तालमेल मिलाएर कसरी जीवनलाई सरल र सहज बनाउने भन्ने रेखांकन गरिदिएको छ । चाडपर्वको अभिन्न नाता मान्छेको स्वस्थ्यसँग पनि छ ।

विश्व स्वास्थ्य संगठनले स्वस्थ जीवनको मापदण्ड तय गरेको छ, जसले चारवटा कुरा समेट्छ । पहिलो, शारीरिक स्वास्थ्य । दोस्रो, मानसिक स्वस्थ्य । तेस्रो, आत्मिक स्वास्थ्य । चौथो सामाजिक स्वस्थ्य । कुनै मान्छे शारीरिक रुपमा तन्दुरुस्त वा ठिकठाक भएर मात्र पुग्दैन । किनभने उनको मन पिरोलिएको हुनसक्छ । शरीर ठीक छ, मन पनि ठीक छ तर आफ्नो अस्तित्वको बोध छैन, चैतन्य र विवेकको स्रोत बन्द छ भने पनि मान्छे पूर्ण स्वस्थ ठहरिदैन । आत्मिक रुपमा पनि मान्छे स्वस्थ हुनुपर्छ । यी तीन कुरासँगै सामाजिक जीवनमा पनि सौहाद्र्धपूर्ण हुनुपर्छ । अतः हाम्रा चाडपर्वले यी चार वटा आयममा मान्छेलाई स्वस्थ रहन विधि सिकाउँछ ।

चाडपर्वसँगै हाम्रो शरीरमा उत्साह र उमंगको रौनक चढ्छ । मनमा सद्भाव र सौहाद्र्धको भाव पैदा हुन्छ ।  विश्वको जुनसुकै गोलाद्र्धमा भएपनि मालाश्री धुनले हामीलाई उमंगित बनाउँछ, ढकमक्क सयपत्री फूलले नोस्टाल्जिक बनाउँछ । किनभने चाडपर्व हाम्रो जीवनको अभिन्न अंश हुन् । हाम्रो भूगोल र भावनालाई जोड्ने रसायन हुन् ।

तर, दुःखलाग्दो कुरा के छ भने चाडपर्वको अन्तर्यलाई नबुझी अन्धधुन्ध मनाउने प्रवृत्ति व्यापक हुँदै गएको छ । एकाथरीले चाडपर्वलाई केवल आडम्बरको रुपमा व्याख्या गरिरहेका छन् भने अर्काथरीले यसको मर्मलाई बेवास्ता गरिरहेका छन् । नतिजा, हाम्रा सन्ततीका लागि चाडपर्व फगत ‘फेसन’मा रुपान्तरण हुँदैछ । चाडपर्व कति वैज्ञानिक र जीवनोपयोगी छ भन्ने कुरा त्यसबेला थाहा हुन्छ, जब यसलाई सचेतपूर्वक विधीवत् ढंगले उत्सव बनाइन्छ ।