न गर्भ रह्यो, न सिन्दूर


[ss_social_share]
लेखक : admin      ११ महिना अगाडि मा प्रकाशित     
न गर्भ रह्यो, न सिन्दूर

नेपालगन्ज — भूकम्पमा घाइते भएर भेरी अञ्चल अस्पतालको बेडमा छटपटाइरहेकी जमुना बुढामगरलाई बाँचेकोमा कुनै हर्ष छैन । जाजरकोटको नलगाड नगरपालिका-६, भार गाउँकी १९ वर्षीया जमुनालाई बरु बाँचेकोमा पश्चात्ताप छ । पति र गर्भमा हुर्किरहेको शिशुको  वियोगमा उनी एकसुरमा अस्पतालको भित्ता कोट्याइ रहन्छिन् ।

उनी कोहीसँग कुरा गर्दिनन् । एक्लै आँसु झार्दै बर्बराउँछिन् । शुक्रबार रातिसम्म सँगै भएका श्रीमान् अहिले नरहेपछि उनी गहिरो शोकमा छिन् । भन्छिन्, ‘आफ्नै मान्छे नभएपछि बाँच्नुको के अर्थ ?’

शुक्रबार मध्यरातको भूकम्पले घर हल्लाएपछि दुवै जना सँगै पुरिएका थिए । गत फागुनमा प्रेम विवाह गरेका उनीहरू सुतिरहेको अवस्थामा भूकम्पमा परेर च्यापिएका थिए।

भूकम्प जाँदा जमुनासँगै श्रीमान्, सासू, नन्द, र दुई आमाजू घरमा साथै थिए । ६ जना एउटै घरमा खाना खाएर सुतेका थिए । अरू बाँच्न सफल भए । तर, भूकम्पले जमुनाको पति र गर्भमा रहेको शिशुलाई लग्यो । परिवारका अन्य सदस्यलाई भने सामान्य चोट लागेको छ । जमुनाले सोमबार बिहान मात्रै श्रीमान् नवीन बुढामगर बितेको थाहा पाइन् । गाडी रिजर्भ गरेर शनिबार २ बजे जमुनालाई अस्पताल पुर्‍याइएको थियो ।

भूकम्पमा च्यापिएर घाइते हुँदा कोखमा हुर्किरहेको ३२ हप्ताको गर्भ तुहियो । उनलाई शोक माथि शोक थपियो । आइतबार राति नै उनले मृत बच्चा जन्माइन् । ‘एउटा शोक भए पो मन सम्झाउनु । शोकमाथि शोकले हामीलाई थिचिरहेको छ,’ जमुनाकी आमा पवित्रा खडका मगरले भनिन्, ‘बच्चा नचलेको देखियो । टाउको छातीमा चोट लागेको रहेछ। बेथा लाग्ने औषधि खुवाएर बच्चालाई निकालिएको हो । ३२ हप्ताको गर्भ तुहियो ।’ अस्पताल पुग्नुअघि नै बच्चा पेटमै बितेको चिकित्सकले बताएका छन्।

काम गर्न भारत गएका देवर र ससुरा सोमबार मात्र बुहारीलाई भेटन् अस्पताल आइपुगेको आमा पवित्राले सुनाइन् ।

यस्तै, जागिरको सिलसिलामा जाजरकोट नलगाडमा बसिरहेका सल्यान, बनगाड, कुपण्डे नगरपालिका-४ का ३२ वर्षीय मोहन विष्ट अहिले दोहोरो शोकमा छन् । आफैं अस्पतालको आईसीयू बेडमा छटपटाइरहेका उनी न रुन सक्छन् न धेरै बोल्न । सुतिरहेका बेला च्यापिएर उनको पत्नीको मृत्यु भयो । उनको ६ वर्षीय छोरा सल्यान मामाघरमा गएकाले उनलाई भने केही भएन ।

शनिबार भूकम्पमा परी पत्नी गुमाएका उनले भारतको मुम्बईमा रोजगारीका लागि गएका बुबा पनि त्यही दिन गुमाए । तर उनलाई त्यो खबर सुनाइएको छैन । ‘भूकम्पको खबर पाएर पछि दाइ परिवारलाई के भयो भन्दै आत्तिनुभएछ । हृदयघात भयो कि के हो । दाइ बित्नुभयो,’ मोहनका काका देवेन्द्रकुमार बिसीले भने , ‘प्रेसरको बिमारी हुनुन्थ्यो आफूलाई सम्हाल्न सक्नुभएन ।’

मोहन जाजरकोटमा निजी स्कुलमा पढाउँथे । घर सल्यान भए पनि उनी रोजगारीको सिलसीलामा जाजरकोट बस्दै आएका थिए । उनलाई शुक्रबार हेलिकप्टरबाट नेपालगन्जमा ल्याइएको छ ।

बुहारीको काजक्रिया नगरी घाइते छोरो बोकेर आएकी ५० वर्षीय हेमा विष्ट, ६ वर्षीय नातिलाई लिएर शनिबार नेपालगन्ज आएकी थिइन् । पति वियोगको पीडालाई भुलाउँदै घाइते छोरोको उपचारका लागि खटिएकी उनी सोमबार घर फर्किएकी छन् ।

भूकम्पमा परेर घाइते भएको छोरालाई बोकेर आएकी हेमाले श्रीमान्‌को मृत्यु भएको खबर शनिबार मात्र थाहा पाइन् । ‘एकातिर छोराको अवस्था नाजुक अर्कोतिर दाइको मृत्यु भयो ठूलै बज्रपात भयो,’ देवेन्द्रले भने, ‘ भाउजूलाई ससुरा बुहारीकोसँगै काजक्रिया गर्नका लागि सोमबार घर पठाएका छौं ।’

भेरी अस्पतालमा भूकम्पमा परेका ४४ जना उपचार भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए । उनका अनुसार भेरी अस्पतालमा भूकम्पमा परी घाइते भएका ४७ जना बिरामीलाई ल्याइएको थियो । जसमा २ जना निको भइ घर फर्किएका छन् भने एक जनाको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो । प्रजिअ पोखरेलले उपचाररत बिरामीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको र सुधारोन्मुख हुँदै गइरहेको सुनाए ।