काठमाडौं, भक्तपुर र ललितपुर तीन सहरको ट्राफिक व्यवस्थापन गर्ने मुख्यालय बग्गीखाना छिर्दा छेउको चौरमा आँखै बिझाउने गरी मोटरसाइकल र स्कुटरको चाङ
मुलुकभरका प्रहरी कार्यालयमा थन्किएका बेवारिसे सवारीसाधन कवाडीकै भाउमा बिक्री गर्दा पनि सरकारले करोडौं राजस्व संकलन गर्न सक्ने प्रहरी अनुमान
काठमाडौँ — मोटरसाइकल र स्कुटरलाई एकले अर्कोलाई थिचेर चाङ लगाइएको छ । कुनैमा नम्बर प्लेट देखिन्छ त कुनैमा छैन । नम्बर प्लेट भए पनि प्रस्ट छैनन् । चाङ लगाएको मोटरसाइकल पनि कुनै उत्तानो, कुनै तेर्सो परेका छन् । केहीका सिट च्यातिएका छन्, केहीका हेडलाइट फुटेका छन् । केहीका पार्टपुर्जा छैनन् । यसरी थुपारिएका सवारी साधनमा घाँस उम्रिसकेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर तीन सहरको ट्राफिक व्यवस्थापन गर्ने मुख्यालय बग्गीखाना छिर्दा कुनै बेला तालिमेहरूको आवाज सुनिने चौरमा अहिले मोटरसाइकल र स्कुटरको चाङ देखिन्छ । मोटरसाइकल हराएका दैनिक सरदर ३ वटा उजुरी पर्छन् । उजुरी गर्नेहरू आफ्नो सवारी यही चाङमा छ कि भनेर यसो हेर्छन् तर भेट्टाउँदैनन् । त्यसपछि बिमा कम्पनीलाई बुझाउने मोटरसाइकल हराएको सिफारिस बोकेर मोटरसाइकल धनी बाहिरिन्छन् । सडकमा थापेको ट्राफिक प्रहरीको ‘एम्बुस’ मा ब्लुबुक नभएका मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइन्छ । जसले चढेको हो, उसले ब्लुबुक ल्याउन सक्दैन अनि बेबारिसे सवारीको लिस्टमा थपिन्छ । यस्ता सवारीसाधन त्यही चाङमा थपिँदै जान्छन् ।
‘सक्कली सवारीधनीले पनि ट्राफिक प्रहरीबाट लिएको सिफारिसका आधारमा बिमा कम्पनीबाट दाबी भुक्तानी लिइसकेका हुन्छन् । कतै हराएको मोटरसाइकल भेट्टाइहाल्यो भने पनि थोत्रो देख्छन् अनि आफ्नो होइन भन्दै पन्छिन्छन्,’ उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख रहँदा बेवारिसे सवारी व्यवस्थापन गर्न लागिपरेकी एआईजी मीरा चौधरीले भनिन्, ‘चल्दा चल्दैको सवारी धनी पत्ता नलागेपछि त्यसको पहिचान बेबारिसे बन्छ । त्यसको बोझ ट्राफिक प्रहरीलाई थोपरिन्छ ।यस्ता सवारी लहरै राख्ने ठाउँ नभएपछि सहरको गल्लीगल्लीबाट उठाएको फोहोर थुपारे जसरी चाङ लगाउनुको विकल्प हुँदैन ।’