सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न मात्रै साढे दुई करोड रुपैयाँ खर्च
काठमाडौँ — भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अबसर पारेर असोज ३ मा उद्घाटन गरिएको बस सेवा महिना दिनमै ठप्प बनेको हो । द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिवहरू यस्तो बस सेवा नेपालमा आवश्यक भए पनि पर्याप्त तयारीबिना सुरु गर्दा निरन्तरता पाउन नसकेको बताउँछन् । तर सरकारी निकायले भने तिहारपछि बस सेवा सहज रूपमा सञ्चालन हुने दाबी गर्दै आएको छ ।
द्रुत बस सेवा चलाउने लीलामणि पौडेल मुख्यसचिव हुँदादेखि नै चलेको पूर्वभौतिक सचिव रवीन्द्र श्रेष्ठले बताए । ‘यो बस सेवा सुरु गर्ने कुरा उठेपछि उपत्यकामा ६ लेन सडक नबन्दासम्म सुरु हुन नसक्ने सुझाव दिएको थिएँ,’ उनले भने, ‘छुट्टै डेडिकेटेड लेन नदिई द्रुत बस चलाउन सकिने कुरै होइन ।’ त्यो बेला माइतीघर–सूर्यविनायक बस चलाउने कुरा चलेको थियो । अहिले रत्नपार्कसम्म चलाइएको थियो ।
‘सर्भिस लेन छाडेर माइतीघरबाट उक्त बस सेवा चलाउँदा चार लेन सडक छ, यसमा एउटा लेन डेडिकेटेड रूपमा दिइसकेपछि अन्य सबै सवारी एउटा लेनमा कसरी अट्छन् ?’ उनले भने, ‘त्यसैले ६ लेन सडक नबन्दासम्म यो बस सेवा सुरु गर्न सकिन्न ।’
सडक विभाग स्रोतका अनुसार द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ । तर सडकमा लगाइएको रङ महिना दिन नपुग्दै मेटिन थालेको छ । यस्तो सेवा दिनु सकारात्मक भए पनि त्यसका लागि पर्याप्त पूर्वाधार आवश्यक पर्ने पूर्वसचिव अर्जुनजंग थापाले बताए ।
‘चिनियाँहरूले कोटेश्वर–कलंकी खण्ड विस्तार गर्ने बेला त्यहीअनुसार डिजाइन गर्न सकिएको भए छुट्टै लेन बन्थ्यो, त्यो सोचिएन,’ उनले भने, ‘सडक विस्तारकै क्रममा द्रुत बस चलाउने गरी लेन छुट्याउन सकेको भए अहिले रत्नपार्क–सूर्यविनायक खण्डको जस्तो समस्या भोग्नु पर्दैनथ्यो ।’ काठमाडौंमा ट्राफिक जामको समस्या धेरै हुने गरेकाले यो सेवा ठीक भए पनि सरकारले बनाउने नीति, नियममै समेटेर दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको उनको सुझाव छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा बन्द नभएको दाबी गरे । ‘दसैं र तिहारको बीचमा कम यात्रु हुने र ट्राफिक जाम पनि कम हुने भएकाले अहिले यो सेवा बन्द भएको हो,’ उनले भने, ‘तिहारपछि व्यवस्थित रूपमा सञ्चालन हुनेछ ।’
आइतबार मन्त्रालयमा सरोकारवाला निकायको उपस्थितिमा बैठक गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको संयोजकत्वमा बस सञ्चालनसम्बन्धी समिति बनाइएको छ । ‘ट्रायलका रूपमा सुरु गरेका थियौं, सकारात्मक र नकारात्मक पक्षहरू केलाउने र सेवालाई अझै भरपर्दो बनाई अगाडि बढाउनेबारे समितिले काम गरिरहेको छ,’ उनले भने । समिति संयोजक रिजालले द्रुत बस सञ्चालनबारे बिहीबार निष्कर्षमा पुगिने बताए ।
रत्नपार्कबाट सूर्यविनायकसम्म १८.५ किलोमिटर छ । अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो । सडकमा रातो रङ लगाएका १९ ठाउँमा बस रोकेर यात्रु चढाउने/ओराल्ने व्यवस्था गरिएको थियो ।