तालाबन्दी, हडतालका किंकर्तव्यविमुढ उपकुलपति


[ss_social_share]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
तालाबन्दी, हडतालका किंकर्तव्यविमुढ उपकुलपति

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल बिहीबार सकिँदै छ । उनको कार्यकालमा विश्वविद्यालय राजनीतिक दाउपेच, तालाबन्दी र हडतालको अखडा जस्तै बन्यो । विश्वविद्यालयको गुणस्तर पनि खस्कियो । विश्वस्तरमा एक हजारभित्र रहेको वरीयताक्रम गुमाएर त्रिवि डेढ हजारभित्र पुग्यो ।

बास्कोटा उपकुलपतिमा नियुक्त भएसँगै विश्वविद्यालयमा विभिन्न राजनीतिक दलका भ्रातृ संगठनका विद्यार्थी तथा प्राध्यापक संगठनहरूले विभिन्न माग राखेर तालाबन्दी सुरु गरे । यो क्रम उनको कार्यकालभरि नै चलिरह्यो । अझै पनि विश्वविद्यालयमा केही संगठनको तालाबन्दी कायमै छ । यसले समग्रमा विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धिमा बाधा पुगेको अर्थशास्त्र केन्द्रीय विभागका सहप्राध्यापक डा. रेशम थापाले बताए ।

कहिले नेपाल विद्यार्थी संघ त कहिले आंशिक शिक्षकहरूको तालाबन्दीको चपेटामा विश्वविद्यालय पर्दै आएको छ । पछिल्लो समय त्रिविपीडित संघर्ष समितिले तालाबन्दी गरेको छ । उपकुलपति बास्कोटाको चारवर्र्षे कार्यकालमा तीन सय ४३ दिन त विश्वविद्यालयमा तालाबन्दी भएको छ । यसले पठनपाठन प्रभावित भयो । तर उपकुलपति बास्कोटाले विश्वविद्यालयको बिग्रँदो अवस्था सुधार्न खासै चासो नदिएको थापाको निष्कर्ष छ । ‘उपकुलपतिमा धर्मकान्त बास्कोटा सर नियुक्त भएपछिको साढे तीन वर्षसम्म हामी प्राध्यापकहरूले पटकपटक भेटेर विश्वविद्यालय ध्वस्त भयो, बचाउनु प¥यो भन्दा उहाँले बुझ्दै छु भनेर जवाफ दिनुभयो । उहाँले नियुक्त भएको साढे तीन वर्षसम्म पनि बुझ्दै छु भन्दा हामी प्राध्यापक निराश बन्यौं,’ थापाले नागरिकसँग भने, ‘सही ठाउँमा सही व्यक्ति नियुक्त नहुँदा विश्वविद्यालयले चार वर्ष चुनौतीमै बिताएको हाम्रो विश्लेषण छ । समष्टिमा भन्नुपर्दा पछिल्ला चार वर्ष विश्वविद्यालयका लागि निराशाजनक रह्यो । अब सरकारले योग्यता र दक्षताका आधारमा उपकुलपति नियुक्त गर्नुपर्छ ।’

२८ अर्ब रूपैयाँ बजेट रहेको त्रिविमा उपकुलपति बास्कोटाले अनुसन्धानमा करिब ५० करोड सहयोग गर्नुबाहेक गुणस्तर सुधारमा काम नगरेको प्राध्यापकहरूको अनुभव छ । आफ्नो पेसामा दक्ष र योग्य भए पनि उनले विश्वविद्यालयलाई नेतृत्व दिन नसेकेको प्राध्यापकहरू बताउँछन् । एमाले कोटामा उपकुलपति बनेका उनले नेतृत्व क्षमता देखाउन नसकेपछि दुई वर्षमै पद छाड्ने कोसिस गरेका थिए ।

‘तर दलको दबाबका कारण उहाँले छाड्नु भएन,’ सहप्राध्यापक थापाले भने, ‘यो अवधिमा विश्वविद्यालयमा शिक्षक, विद्यार्थीका संगठनहरूबीच राजनीतिक लडाइँ भयो । त्यसक्रममा भौतिक सम्पत्तिमा आक्रमण भयो, शिक्षकहरूमाथि सांघातिक आक्रमण भयो, वातावरण त्रासपूर्ण बन्यो ।’

तालाबन्दीको कारण देखाएर उपकुलपतिले गर्न सक्ने काम पनि नगरेको उनको बुझाइ छ । ‘तर दलको दबाबका कारण उहाँले छाड्नु भएन,’ सहप्राध्यापक थापाले भने, ‘यो अवधिमा विश्वविद्यालयमा शिक्षक, विद्यार्थीका संगठनहरूबीच राजनीतिक लडाइँ भयो । त्यसक्रममा भौतिक सम्पत्तिमा आक्रमण भयो, शिक्षकहरूमाथि सांघातिक आक्रमण भयो, वातावरण त्रासपूर्ण बन्यो ।’ तालाबन्दीको कारण देखाएर उपकुलपतिले गर्न सक्ने काम पनि नगरेको उनको बुझाइ छ ।

त्रिविमा बढ्दो राजनीतिक हस्तक्षेपका कारण पठनपाठनमा नकारात्मक असर पर्दै गएको छ । बढ्दो अराजकता र विकृतिका कारण त्रिवि विश्ववरीयतामा पनि तल झरेको छ । सन् २०२३ को ‘टाइम्स हायर एजुकेसन स्तर’ मापनअनुसार त्रिवि वरीयताक्रम विश्वभरिका विश्वविद्यालयमा ८०१ देखि एक हजारको बीचमा र एसियाका विश्वविद्यालयमा २५१ देखि तीन सयको बीचमा रह्यो । यो संस्थाले २०२४ मा पनि त्रिविको अवस्था पनि उजागर गरेको छ । संस्थाले २०२४ मा त्रिविको विश्व वरीयता १२०१ देखि १५०० को बीचमा रहने देखाएको छ । त्यस्तै संस्थाले एसियामा भने २५१ देखि ३ सयकै बीचमा रहेको उल्लेख गरेको छ ।

विश्वविद्यालयमा पदाधिकारीहरूको धेरै समय शैक्षिक प्राज्ञिक उन्नयनभन्दा पनि आन्दोलनकारीसँग वार्ता र छलफलमै बितिरहेको बताउँछन् समाजशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक डा. गुमानसिंह खत्री । त्रिविमा राजनीतिक आधारमा नियुक्त हुने पदाधिकारी दलगत स्वार्थ पूर्ति गर्नैमै व्यस्त हुने गरेको इतिहास छ । तर बास्कोटाको कार्यालकालमा भने विभागीय नियुक्तिहरू योग्यताका आधारमा भएर केही सुधारात्मक काम भएको उनको खत्रीको ठहर छ । उनका अनुसार उपकुलपति बास्कोटाको चारवर्षे कार्यकाल चुनौतीपूर्ण नै रह्यो । अवसर भएर पनि त्यसलाई राम्ररी सदुपयोग नगरेकै कारण विश्वविद्यालयमा उथलपुथलको अवस्था हुन गएको उनको विश्लेषण छ । ‘कोरोना महामारीमा पठनपाठनलाई निरन्तरता दिन चुनौतीपूर्ण थियो तर बास्कोटा सरले डिजिटल माध्यमबाट अनलाइन कक्षा सञ्चालन गराउनुभयो, त्रिविलाई पेपसलेस बनाउने अभियान थाल्नुभयो, विभागीय प्रमुखको नियुक्ति मेरिटका आधारमा गर्नुभयो । यी काम सकारात्मक र प्रशंसनीय रहे,’ खत्रीले भने, ‘तर प्राध्यापक संगठन र विद्यार्थी संगठनले राजनीतिक दाउपेचको खेल खेलेर उहाँलाई काम गर्नै दिएनन् । उपकुलपतिले पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्नु कमजोरी रह्यो ।’

नेवि संघले २०७६ साल फागुनमै विभिन्न माग राखी उपकुलपतिको कुर्सी तोडफोड गर्दै तालाबन्दी ग¥यो । संघले नै २०७७ साल वैशाखमा पदाधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउँदै डेढ महिनासम्म तालाबन्दी ग¥यो । यसक्रममा तोडफोड पनि भयो । सोही सालको असोज २० गते समाशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि संघका विद्यार्थीले आक्रमण गरे । २०७८ साल माघमा पुनः संघले विभिन्न माग राखेर उपकुलपति कार्यालयमा ५ महिनासम्म तालाबन्दी ग¥यो । संघले २०७९ असारदेखि भदौसम्म त्रिवि सेवा आयोग, उपकुलपति, रजिष्ट्रार, रेक्टर कार्यालयमा तालाबन्दी ग¥यो । यसक्रममा कार्यकारी परिषद्को फाइलसमेत विद्यार्थीले नियन्त्रणमा लिए ।

प्रिन्सिपल प्राध्यापक डा. ध्यानेन्द्र राईका अनुसार गत असार ८ गते प्रिन्सिपल कार्यालयले त्रिवि क्यान्टिन र बुक सटरको टेन्डर विज्ञापनको नतिजा प्रकाशित गर्ने तयारी गरिरहेकै बेला संघर्ष समितिका नाममा ७ गते नै तालाबन्दी गरियो । यसले टेन्डरको नतिजा प्रकाशनसमेत प्रभावित बन्यो । ‘पछिलो समय त्रिविमा विभिन्न संगठनका नाममा तालाबन्दी गर्ने विकृति बढेको छ । माग पूरा गराउने अन्य उपाय खोज्नुको साटो तालाबन्दीमा लाग्नु राम्रो होइन,’ प्रिन्सिपल राईले भने, ‘तालाबन्दीले त्रिविका सबै शैक्षिक, प्रशासनिक, आर्थिक काम ठप्प बनेका छन् । यस्तो अवस्थामा त्रिविले सकारात्मक गति लिन असहज हुन्छ ।’

विद्यार्थीको सांघातिक आक्रमणबाट घाइते भएका उपप्राध्यापक भन्छन्, ‘हामी प्राध्यापकहरू त्रासमा बाँचिरहेका छौं तर पदाधिकारीले आक्रमणकारीका विरोधमा केही बौल्दैनन् । यसलाई के भन्ने । अपराधीलाई राजनीतिक दलको संरक्षण छ । विश्वविद्यालयको चार वर्ष राजनीतिक हस्तक्षेप र दलहरूको संरक्षणमा गुण्डागर्दीको अवधि बन्यो ।’