अहिलेको प्रारम्भिक बालविकास कक्षा जस्तै त्यतिबेला शिशु कक्षाको अवधारणा थियो।
ठाउँ/ठाउँमा बालबालिकाले घरपायक पढ्न मिल्नेगरि बालमन्दिर स्थापना भयरहेकै थिए। डोल्पाको सदरमुकाम दुनैमा अहिलेको जति सुविधा पुगेको थिएन। तर त्यतिबेलै बालमन्दिर स्थापना भयो।
२०३३ साल वैशाख ८ गते तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मी शाह दुनै पुगेको मौका पारेर बालमन्दिरको उद्घाटन गरियो। शिशुहरूलाई घरपायक पढ्न मिल्ने शिशु कक्षा स्थापना भयो।
नजिकै अर्को सरस्वती विद्यालय थियो। बालमन्दिरमा शिशु कक्षा सकेका बालबालिका सरस्वतीमै एक कक्षादेखि पढ्न जान्थे। बालमन्दिरमा शिशु कक्षा पढेर अर्को विद्यालयमा जाँदा त्यहाँका शिक्षक र विद्यार्थीसँग घुलमिल हुन बच्चालाई अप्ठ्यारो भएको महसुस स्थानीय र अभिभावकले गरेछन्। सबै मिलेर बालमन्दिरलाई प्राथमिक विद्यालय बनाउने माग राखे। अनि आजभन्दा ३१ वर्षअघि २०४९ सालमा उनीहरूकै माग सम्बोधन गर्दै कक्षा एक पनि चलाउने अनुमति मिल्यो। अर्को पाँच वर्षमा त कक्षा पाँचसम्मको पनि अनुमति मिल्यो।
संघीयतापछि यसलाई बालमन्दिर आधारभूत विद्यालयका रूपमा रूपान्तरण गरिएको छ। तर शिशुकक्षादेखि ५ कक्षासम्म मात्र पढाइ हुन्छ। जहाँ एक सय ८३ विद्यार्थीले पढ्छन्।
डोल्पाको ठूलीभेरी नगरपालिका–३ मा रहेको यो विद्यालयलाई करिब दुई दशकयता महिला शिक्षकले नेतृत्व गरिरहेका छन्। २०४९ सालदेखि करिब पाँच वर्ष तत्कालीन शिक्षक डोलराज अधिकारीले विद्यालयको नेतृत्व गरे। त्यसयता हिमाली शाह प्रधानाध्यापक भएर विद्यालयको नेतृत्व गरिन्।
अहिले भने विद्यालय नै महिला शिक्षकले चलाएका छन्।
कुनै समय सोही विद्यालयमा शिशु कक्षा पढेकी अम्बिका हमाल २०७३ सालदेखि बालमन्दिर प्राथमिक विद्यालयको प्रधानाध्यापक छिन्। २०७२ सालदेखि डेढ वर्ष अम्बिकाले निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालिन्। तत्कालीन प्रधानाध्यापक हिमाली शाह सेवा निवृत्त भइसकेपछि विद्यालयको नेतृत्व उनको काँधमा आएको हो। २०५६ देखि अस्थायी शिक्षक भएकी उनी २०६३ देखि शिक्षक सेवा आयोगबाट स्थायी भएकी हुन्। २०७२ सालमा बढुवा भएर उनी प्रावि द्वितीय श्रेणीमा छिन्।
प्रधानाध्यापक मात्र होइन विद्यालयको दरबन्दी अनुसारका स्थायी शिक्षकहरू र बालविकास कक्षामा पढाउने शिक्षक महिला नै छन्। विद्यालयमा ५ जना शिक्षकको स्थायी दरबन्दी छ।विद्यालयका स्थायी शिक्षकमध्ये तीन जना द्वितीय श्रेणीका छन् भने दुई जना तृतीय श्रेणीका छन्। एक जना प्रारम्भिक बालविकास शिक्षक छिन्। अपांगता भएका बालबालिकालाई पढाउने विशेष शिक्षक भने पुरूष छन्।
बालमन्दिरमा भएका सबै शिक्षकहरू डोल्पा जिल्लाभित्रकै हुन्।
सदरमुकाममै विद्यालय भएकोले महिलाहरूलाई सहज हुने हुँदा विद्यालयमा महिला शिक्षक मात्र भएको प्रधानाध्यापक अम्बिका हमाल बताउँछिन्।
‘डोल्पा जस्तो जटिल भूगोलमा टाढा पुगेर काम गर्न महिलालाई असहज हुने भयो, त्यही भएर कतिपयको दरबन्दी नै यहीँ भयो, कतिपय सरूवा मिलाएर आउनुभएको हो,’ अम्बिकाले भनिन्, ‘मेरो नेतृत्वदेखि अहिलेसम्म सबै महिला मात्र छौं।’
स्थानीयका अनुसार महिला शिक्षकले सम्हालेको विद्यालयले सदरमुकामा रहेको बोर्डिङसँग प्रतिस्पर्धा गर्न सक्छ।
अभिभावकले राम्रो काम गरेको भन्दै आफूहरूलाई हौसला दिने बताउँछिन्।
‘अभिभावकहरूले हामीलाई अहिलेसम्म यो कुरा राम्रो भएन भनेर गुनासो गर्नुभएको छैन, बरू नजिककैको बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्न सक्ने विद्यालय बनाउनुभएकोमा धन्यवाद भनेर हौसला बढाइदिनुहुन्छ,’ प्रधानाध्यापक हमालले भनिन्।
प्रधानाध्यापकदेखिका सबै महिला नै भएर विद्यालय चलाउँदा सहज भएको उनले बताइन्।
‘हामी त सबै महिलाहरू भएर मिलेर काम गरेका छौं, शिक्षकहरूबीचको घुलमिल, छलफल, जिम्मेवारीजस्ता कुरामा सहजता छ,’ उनले भनिन्, ‘सबैले आफ्नो जिम्मेवारीअनुसार काम गर्नुहुन्छ, नियमित विद्यालयमा हाजिर हुनुहुन्छ, हरेक छलफलमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धिको लागि गर्न सकिने कामका विषयमा कुरा हुन्छ।’
बालमन्दिर आधारभूत विद्यालयमा प्राय:जसो दुनैमा बसेर सामान्य व्यवसाय गर्ने, मजदुरी गर्ने अभिभावकले आफ्नो बालबालिका पढाउँछन्। विद्यालयमा सबै नि:शुल्क छ। डोल्पासहित रूकुम, जाजरकोट, दैलेख, सल्यान, जुम्ला, भैरहवा लगायत जिल्लाका बालवालिकाहरू विद्यालयमा पढिरहेको प्रधानाध्यापक हमालले बताइन्।
विद्यालय आसपासका स्थानीयमध्ये पनि राम्रो आम्दानी भएका अभिभावकहरूले बोर्डिङमै बालबालिका पठाएपनि बोर्डिङ पढाउन नसक्ने अभिभावकले बालमन्दिरमा पढाइरहेको उनले बताइन्।
आफूहरूले विद्यालय व्यवस्थापन समिति र अभिभावक संघबाट पनि राम्रो सहयोग मिलेको अम्बिका बताउँछिन्।
‘विद्यालय व्यवस्थापन समितिको सहयोग पनि नियमित छ, हामीप्रति शिक्षक अभिभावक संघ पनि सकारात्मक हुनुहुन्छ,’ उनले भनिन्, ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्षदेखि पदाधिकारीसम्म बोलाएको दिन जसरी पनि विद्यालयमा आइपुग्नुहुन्छ, अन्य बेला पनि उहाँहरूले प्रायः नियमित विद्यालयमा आएर रेखदेख गर्नुहुन्छ।’
दुनैमा बसेर मजदुरी गर्ने वर्गका बालबालिका विद्यालयमा धेरै भएकाले शिक्षक अभिभावक संघका सबै सदस्यहरू भने नियमित बैठकमा सहभागी हुन नसकेको उनले बताइन्।
महिलाको मात्र नेतृत्व हुँदा सरोकारवालासँग विद्यालयका लागि रकम तथा योजना माग गर्ने, स्वीकृत गर्ने जस्ता केही काममा सहज महसुस गर्न नसकिएको उनले बताइन्।
‘कतिपय यस्ता योजना चियागफमा बस्दा सरोकारवालालाई मनाउन सकिन्छ, पुरूषले सरोकारवालासँग सहजै सामान्य बसाइमा काम लिन सक्छन्, महिलाहरूलाई त्यो उपयुक्त नभएको होला,’ हमालले भनिन्।
बालमन्दिर आधारभूत विद्यालयमा ई–लाईब्रेरी (अनलाइन पुस्तकालय), बाल पुस्तकालयको व्यवस्था गरिएको छ। छात्राहरूका लागि प्याड विसर्जन गर्न इन्सिनेटर प्रणाली छ। छात्रामैत्री शौचालयको पनि व्यवस्था छ। छात्राका लागि विद्यालयले नै नि:शुल्क प्याड दिन्छ। सुरूमा शिक्षकहरू आफैंले पैसा उठाएर बजारबाट किनेर छात्रालाई नि:शुल्क प्याड दिने गरिएको थियो। पछि नगरपालिका, स्वास्थ्य लगायतका सरोकारवाला निकायहरूसँग सहयोग मागेर लिने गरिएको प्रधानाध्यापक हमालले बताइन्।
महिला शिक्षकमात्र भएकाले महिनावारी हुने उमेरका छात्राले सहजै प्याड माग्न सक्छन्।
‘हामी महिला शिक्षकमात्र भएकाले पनि होला छात्राहरूले महिनावारीको समयमा अप्ठ्यारो नमानेर प्याड माग्नुहुन्छ, महिनावारी लगायतका आफ्नो सबै समस्याका बारेमा खुलेर कुरा गर्नुहुन्छ,’ प्रधानाध्यापक अम्बिकाले भनिन्।
उनका अनुसार विद्यालयमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका अलावा बाल क्लव, बाल संरक्षण समिति, गुनासो सुनुवाइ समिति पनि गठन गरिएको छ।
ठूलीभेरी नगरपालिका–२ का अभिभावक धनबहादुर मल्लले बालमन्दिरको नेतृत्व तथा शिक्षकदेखि आफू सन्तुष्ट रहेको बताए।
‘मेरा सबै छोराछोरी बालमन्दिरमै पढेका हुन्, अहिले पनि एक छोरी त्यसैमा तीन कक्षा पढ्दैछ,’ मल्लले भने, ‘यहाँ हुने खानेहरूले बोर्डिङमा पढाउँछन्, तै पनि बालमन्दिर बोर्डिङभन्दा कम छैन।’
महिला शिक्षकले मात्र चलाएकाले बालमन्दिर आधारभूत विद्यालय छात्रामैत्री भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनीराम मल्लले बताए।
‘हामीलाई त विद्यालय राम्रो बनाइराख्नुछ, विद्यालय राम्रो बनाउन महिला नेतृत्वले पनि सक्छ भन्ने लागेको छ,’ उनले भने।
राम्रो पढाइ हुने सरकारी स्कुल भनेर चिनिए पनि संरचना भने पुरानै छ।
उपमेयर छिरिङ टोल्मा महतले पनि महिला शिक्षकहरूले चलाएको यो विद्यालय दुनैमा राम्रो विद्यालयकारूपमा चिनिएको बताइन्।
‘धेरै राम्रो छ। बोर्डिङस्कुलमा भन्दा पनि राम्रो पढाइ हुन्छ भनेर सबैले तारिफ गर्छन्। म अनुगमनमा गएकी थिएँ। अरू त सबै राम्रो तर भवन भत्किन लागेको रहेछ,’ उनले भनिन्।
आफ्नो नाममा जग्गा नभएकाले आधुनिक भवन अन्य भौतिक संरचनाका लागि बजेट ल्याउन नसकिएको प्रधानाध्यापक हमालले बताइन्।
‘पहिला बालमन्दिर चलाउनका लागि बाल संगठनलाई जिम्मा दिइने रहेछ, अहिले पनि बाल संगठनकै नाममा विद्यालयको जग्गा छ,’ उनले भनिन्, ‘आफ्नो नाममा जग्गा नहुँदा सरकारी योजना तथा कार्यक्रम ल्याउन मिलेको छैन, हामी विद्यालयको नाममा जग्गा ल्याउने प्रक्रियामा छौं, यो प्रक्रिया लामो हुने भएकाले समय लागेको छ।’