देश बनाउने गफ गर्नुभन्दा पहिले देश बनाउने शक्ति बनाउन योगदान गरौं । अहिलेसम्म देश बनाउन सक्ने गरी शक्तिको प्रोसेसिङ, उत्पादन, व्यूहीकरण र विन्यास नै भएको छैन । शक्ति जताततै छ तर खेर भइरहेको छ ।
‘यसो भएन उसो भएन, यो बिग्रियो त्यो बिग्रियो, यसो हुनु पर्थ्यो, उसो हुन पर्थ्यो, देश बनेन बन्दै बनेन, बर्बाद भो’ जस्ता सदाबहार गनगन र गुनासा गर्नेहरुलाई अचेल प्रतिप्रश्न गर्न मन लाग्छ,’ गर्नु पर्थ्यो चाहिँ कस्ले ?
देश बनाउँने पर्थ्यो कस्ले ? कस्को जिम्मेबारी हो यो ? देश बनाउँने ठेक्का कस्ले पाएको छ कसबाट ? अझै पनि गर्दिने कस्ले हो ? कोसंगको गुनासो हो यो ? कोसँग छ त्यस्तो शक्ति ?
शक्ति, क्षमता र योग्यता नै नभएकाहरुसँग त्यस्तो गुनासो गर्नुको कुनै अर्थ छ ?
यस्ता प्रतिप्रश्नको अर्थ-वाक्क दिक्क लागेर चिडचिडाहट, ओठे जवाफ व्यक्त गर्नका लागि भने हैन । त्यस्ता गुनासोकर्ताप्रतिको कुनै पूर्वाग्रह वा वितृष्णा हैन । गुनासो नाजायज छ भन्ने पनि हैन । एक आधारभूत प्रश्नमा मानिसको ध्यान खिच्न खोजेको मात्र हो । के देश बनाउँने ताकत वा शक्ति कसैसँग छ यतिखेर ?
मानौं कि कोही देश बनाउँन मनैदेखि इमान्दार छ भने पनि सक्छ कसैले ? यदि कसैसँग शक्ति नै छैन भने शक्तिहीनसँग गुनासो गरेर के हुन्छ ? यदि कसैसँग क्षमता नै छैन भने योग्यताहीनसँग गुनासो गरेर के हुन्छ ?
आफ्नो देश राम्रो नहोस, राम्रो नबनोस भन्ने कसलाई लाग्दो हो ? तर, नसकेर न हो । वृद्धि, ज्ञान, सीप, कला नपुगेर न हो । योजना, सपना र दुरदृष्टिको वैज्ञानिकता नभएर न हो । सोच नै अपर्याप्त वा अमिल्दो भएर न हो । शक्ति नभएर न हो ।
कतै देश बनाउने कुरा गर्नु अघि हामीले देश बनाउने शक्ति पो बनाउनु पर्ने हो कि ? देश बनाउनुभन्दा देश बनाउने शक्ति बनाउनुचाहिं पहिलो र आधारभूत प्रश्न हो कि ? हामी शक्तिहीन र क्षमताहीनहरुसँग बेफ्वाँकमा गुनासो गरेर जीवनको अमूल्य समय खेर पो फ्याल्दै छौं कि ? कोसँग छ त त्यस्तो शक्ति ? खोइ देश बनाउने शक्ति ? देश बनाउने शक्ति नै नभइकन आफैं बन्छ त देश ?
बन्छ, स्वस्फूर्त र मात्रात्मक रुपमा पनि केही न केही त बन्छ । जस्तो कि अहिले पनि केही भएन भन्दाभन्दै पनि भौतिक पूर्वाधार विकासमा केही न केही राम्रै भएको छ । सूचना र सञ्चार क्षेत्रको विकासमा राम्रै भएको छ । साक्षरता र औसत आयू वृद्धि भएकै छ ।
नभएको , देश नबनेको भन्नुको अर्थ- मात्रात्मक हैन, गुणात्मक हो । स्वस्फूर्त हैन, संस्थागत हो । अव्यवस्थित हैन, व्यवस्थित हो । गुणात्मक, संस्थागत, नैतिक मूल्य प्रणालीमा आधारित, न्यायिक, सुशासित, व्यवस्थित र समृद्ध देश बनेन भन्ने गुनासो न हो ? हो, यस्तो देश बनाउँने सोच, सपना र सामर्थ्य भएको शक्ति खै ? कुन हो ? कोही त छैन ।
देश बनाउने शक्तिको बिमर्शले थप दुई वटा आधारभूत प्रश्न आकर्षित गर्दछ ।
पहिलो- देश बनाउने शक्ति भनेको के हो ? कस्तो हो ? राजनीतिक दल शक्ति हैनन् ? राज्य संरचना शक्ति हैन ? आम नागरिक तथा श्रमशक्ति शक्ति हैन ? यी सबै चिज छन त हामीसँग ? फेरि कुन शक्ति चाहिएको हो ?
दोस्रो- शक्ति कहाँ हुन्छ ? कसरी बसेको हुन्छ ? के भए शक्तिले काम गर्दछ र परिणाम दिन्छ ? के भए शक्तिले काम गर्दैन र परिणाम दिंदैन ? यतिका धेरै शक्ति हुँदाहुँदै पनि देशले किन परिणाम निकाल्न सकिरहेको छैन ?
यीमध्ये दोस्रो प्रश्नबाट बिमर्श प्रारम्भ गर्न उचित होला ।
शक्तिको आम सिद्धान्त हो कि त्यो आफैंमा व्यप्त हुन्छ । शक्ति बन्ने बनाउने कुरा हैन । त्यो आफैं हुने हो । जस्तो कि प्रकाश एक शक्ति हो । ताप एक शक्ति हो । ध्वनी एक शक्ति हो । विद्युत एक शक्ति हो । गति एक शक्ति हो । गुरुत्वाकर्षण एक शक्ति हो । शक्तिका यस्ता अनेक रुप छन ।
यी कुनै पनि शक्ति मानिसले बनाएका हैनन, प्राकृतिक हुन । प्राकृतिक अर्थात् ब्रहृमाण्डीय । मानिसले शक्तिको सिर्जना गर्ने हैन, स्वयं मानिसमा प्रकृतिको शक्ति व्यप्त हुने हो । तसर्थ दर्शनशास्त्रमा भन्ने गरिन्छ- व्यक्ति आफैमा एक ब्रहृमाण्ड हो र ब्रहृमाण्ड आफैंमा एक व्यक्ति ।
वैज्ञानिक दृष्टिकोणबाट हेर्दा वेदान्तको अद्धैत दर्शनले भन्ने गरेको ‘अहं ब्रहृमास्मी’ को अर्थ यही हो । ‘अहं ब्रहृमास्मी’- मेरो शरीर र चेतनशक्तिभित्र ब्रहृमाण्डका सबै भौतिक तत्व तथा उर्जा शक्ति समाहित छन । तसर्थ म नै ब्रहृमाण्ड हुँ । ब्रहृमाण्ड म हो ।
राजनीतिको यस्तो व्यप्त, प्राकृतिक तथा ब्रहृमाडीय शक्ति सधै नागरिकमा हुन्छ । आम जनतामा हुन्छ । देश बनाउन यस्तो शक्तिको अभाव कहिल्यै हुँदैन । तर, जसरी प्रकृतिमा व्यप्त शक्ति आफै ऊर्जामा परिणत हुँदैन, त्यसरी नै राजनीति विज्ञानमा नागरिक शक्ति आफैं देश बनाउने शक्तिमा परिणत हुँदैन ।
मानिसले शक्ति रुपान्तरण गर्ने संयन्त्र, यान्त्रिकी वा प्रविधि बनाउँछ । त्यसैलाई हामी उर्जा उत्पादन भन्ने गर्दछौं । फेरि एक उदाहरणमा भनौं- पानीमा करेन्ट आफैं व्याप्त छ । त्यो प्राकृतिक, ब्रहृमाण्डीय विशेषता हो । मान्छेले पानीमा करेन्ट सिर्जना गर्ने हैन । पानीमा व्यप्त करेन्टलाई टर्वाइनमा हालेर बिजुली उत्पादन गर्ने मात्र हो । मान्छेको काम हो- टर्वाइन बनाउनु, पावर हाउस बनाउनु र बिजुली निकाल्नु । पानीको करेन्टलाई विद्युत ऊर्जामा परिणत गर्नु । प्राकृतिक शक्तिलाई ऊर्जा शक्तिमा रुपान्तरण गर्नु ।
राजनीति सामाजिक विज्ञान भएको हुँदा यसको प्रक्रिया र प्रवृति केही फरक हुन्छ तर बिल्कुलै फरक हुँदैन । पानीमा करेन्ट भएजस्तो समाजमा, नागरिकमा, जनतामा राजनीतिक शक्ति आफैं व्याप्त हुन्छ । त्यो कसैले बनाउन पर्दैन । यदि कसैले मैले शक्ति सिर्जना गरे, बनाए भन्ने ठान्दछ भने त्यो अल्पज्ञान र भ्रम मात्र हो ।
कसैलाई मन परोस वा नपरोस, कसैलाई प्रिय लागोस वा अप्रिय लागोस, शक्तिले कसैलाई दमन गरेको होस वा उद्दार शक्ति त हुन्छ हुन्छ । अर्थात् समाज वा राज्य ‘पावर ग्याप’ मा बस्न सक्दैन । समाज शक्तिहीनतामा बस्न नसक्ने भएको कारणले अनेक प्रकारको नकारात्मक तथा ऋणात्मक शक्ति पनि जन्मिने गर्दछन ।
नेपालको इतिहासमा बारम्बार त्यस्तो भएको छ । शक्ति शून्यताको परिपूर्तिकै लागि कोत पर्व जस्तो हिंस्रक घटना भएको थियो र राणा शासन जन्मेको थियो । यदि त्यसअघिका शाह राजाले शक्तिको नियम मुताविक काम गर्न सकेको भए, शक्ति सिद्धान्त अनुरुपको दायित्व पूरा गरेको भए, न कोत पर्व हुन्थ्यो, न राणा शासनजस्तो कुख्यात शासनको जन्म नै हुन्थ्यो न त त्यसलाई १०४ जनताले खेप्न पर्थ्यो ।
ठीक त्यही कुरा- २०४६ सालपछि भएको हो । कांग्रेस-एमालेले शक्ति सदुपयोगको नियम नबुझ्दा, अन्तर्कलह र गुटबन्दीमा फस्दा, विकृत संसदीय अभ्यास गर्दा एकातिरबाट माओवादी जनयुद्ध भएको थियो । अर्कोकोणबाट ज्ञानेन्द्र शाहको तानाशाहीको उदय भएको थियो । ती सबै शक्तिका विकृत तथा नकारात्मक अभ्यास थिए । जनान्दोलन २०६२/२०६३ ले त्यसलाई धनात्मक रुपान्तरण गरेको थियो ।
देशमा आज फेरि अर्को प्रकारको शक्ति रिक्तताको स्थिति उत्पन्न भएको छ । विशेषतः २०७४ को आमनिर्वाचनले अनुमोदित गरेको झण्डै दुईतिहाईको कम्युनिष्ट गठबन्धनको सरकारको पतन र नेकपा (नेकपा ) को विघठनपछि देश नयाँ प्रकारको शक्ति शून्यतातिर उदत्त छ । यो स्थितिलाई हल नगरिकन, शक्तिलाई नयाँ ढंगले प्रोसेसिङ, व्यूहीकरण वा बिन्यास नगरिकन देश बन्ने कुनै संभावना छैन । किनकी राष्ट्रिय राजनीतिमा यतिखेर देश बनाउने ल्याकत भएको कुनै शक्ति नै छैन ।
जब शक्तिको यस्तो रिक्तता वा शून्यताजस्तो स्थिति पैदा हुन्छ, नागरिक आफैले त्यसलाई नयाँ ढंगले बनाउने प्रयत्न प्रारम्भ गर्नु पर्दछ । आम मान्छे वा समाजलाई कहिल्यै शक्तिहीन ठान्न हुँदैन । किनकी राजनीतिक विज्ञानमा शक्तिको व्याप्त, प्राकृतिक तथा ब्रहृमाण्डीय स्रोत त्यही हो ।
सकारात्मक तथा धनात्मक शक्तिले देशलाई अघि बढाउँन अनिवार्य र अपरिहार्य हुन्छ ।
यहाँनेर निकाल्न खोजिएको निष्कर्ष के हो भने व्यप्त शक्तिलाई मानव उपयोगी रुपान्तरण गर्ने जुन प्रक्रिया हुन्छ, यदि हामीसँग शक्तिको अभाव छ भने हामीले त्यो प्रक्रिया पूरा गरेका छैनौं भन्ने अर्थ लाग्दछ । यदि हामीले भनेजस्तो, चाहेजस्तो देश बनाउन सकेनौं भन्ने हाम्रो गुनासो हो भने त्यसको अर्थ हो- हामीले त्यस्तो शक्ति उत्पादन गर्ने प्रक्रिया नै पूरा गरेका छैनौ, अनि कसरी बन्छ देश ?
नदीको किनारमा तपाईंको घर छ भन्दैमा नदीको पानीमा व्यप्त करेन्ट विजुली बनेर आफैं तपाईंको घरलाई उज्यालो दिन आउँदैन नि । पहिलो कुरा त शक्ति उत्पादन हुनु पर्यो । दोस्रो कुरा त्यसको सही र सन्तुलित उपयोग हुनु पर्यो । शक्ति उत्पादन भएर दुरुपयोग भयो भने पनि सही परिणाम आउँदैन नि । बिजुली सधैं उपयोगी कहाँ हुन्छ ? करेन्ट लागेर जल्न, आगलागी भएर मर्न पनि त सकिन्छ ।
अब पहिलो प्रश्नमा जाउँ- देश बनाउने शक्ति भनेकै के हो ? त्यस्तो शक्ति कहाँ र कसरी बसेको हुन्छ ? प्रणालीगत आधारमा त्यस्तो शक्ति फरकफरक ठाउँमा हुन्छ ।
राजतन्त्रमा त्यस्तो शक्ति दरबार, दरबारनिष्ठ संगठन र राजामा हुन्छ । सैनिक शासनमा त्यस्तो शक्ति सेना र सैनिक जर्नेलमा हुन्छ । धार्मिक शासनमा त्यस्तो शक्ति धार्मिक संगठन र धर्म गुरुमा हुन्छ । एकदलीय प्रणालीमा त्यस्तो शक्ति कुनै एक दल, त्यसको संगठन वा त्यसको नेतासंग हुन्छ । लोकतन्त्रमा त्यस्तो शक्ति दल र दलका नेतामा हुन्छ । किनकि दलले नागरिक संगठन र समर्थनको प्रक्रियामार्फत् शक्तिको रुपान्तरण गरेको हुन्छ ।
यथार्थमा सबै शासन प्रणालीमा शक्ति प्राकृतिक तबरले व्याप्त हुनेचाहिँ नागरिक मै हो, व्यक्तिव्यक्तिमा मान्छेमान्छेमा हो । तर, नागरिकमा व्यप्त भएको शक्ति फरकफरक राजनीतिक प्रणालीले फरकफरक तरिकाले ‘प्रोसेसिङ’ गर्दछ । फरकफरक तरिकाले व्यूहीकरण र विन्यास गर्दछ । लोकतन्त्रले राजनीतिक आन्दोलन, दलीय संगठन र आबधिक निर्वाचनमार्फत् दलमा संकेन्द्रण गर्दछ ।
नेपालमा दलको त कुनै कमी छैन । चुनाव पनि भएकै छन । फेरि देश किन बनिरहेको छैन ? किन कोही खुशी र सन्तुष्ट छैनन् ? शक्तिको कुन सिद्धान्तले काम गर्दछ यस्तो बेला ? ग्याप कहाँनेर हो ?
यस सन्दर्भमा शक्तिलाई अर्को एउटा आयामबाट हेर्न पर्दछ- त्यो हो शक्तिको सार्थक उपयोगिता सिद्धान्त । अर्थात् शक्ति छ नै भने पनि त्यसको सार्थक उपयोग वा उद्देश्य छैन भने त्यो खेर जान्छ । जस्तो कि बिजुली छ, बालिन्न भने त्यो खेर जान्छ। शक्ति उत्पादन गरेर मात्र हुँदैन, त्यसको सार्थक उपयोग हुनु पर्दछ । शक्तिसँग कुनै न कुनै उद्देश्य वा मिसन जोडिएको हुनु पर्दछ । अन्यथा त्यो खेर जान्छ ।
शक्ति उत्पादन नै भएन, त्यो एउटा समस्या हो । उत्पादन भएर पनि उपयोग भएन त्यो अर्को समस्या हो । उपयोग भएर पनि कुनै उद्देश्य वा योजनासंग जोडिएन त्यो तेस्रो प्रकारको समस्या हो ।
जस्तो कि राजावादीहरू । हिजो २४० वर्षसम्म उनीहरू शक्तिमै थिए त ? आज शक्तिहीन भयौं भनेर किन रुन पर्यो ? जतिखेर उनीहरुसँग शक्ति थियो, त्यसको सही उपयोग गरेर नागरिकलाई सन्तुष्ट पारेको भए, उनीहरु सत्ताबाट फालिदैन्थे । जब फालिइसके भने उनीहरुको सान्दर्भिकता स्वतः समाप्त भयो । उनीहरु सत्ताबाट फालिनुको अर्थ नै उनीहरुले ‘प्रोसेसिङ’ गरेको शक्ति देश बन्न बनाउँनका लागि सार्थक, उपयोगी र उद्देश्यमुलक थिएन भनेर पुष्टि हुनु हो । फेरि केको रडाको ?
अर्थात् यसलाई अर्को तरिकाले पनि भन्न सकिन्छ- राजावादी शक्तिबाट जस्तो देश बन्न, बनाउन सकिन्थ्यो, त्यो त भोगिसकियो, त्यसले नभएर, नपुगेर नै त यतिका धेरै क्रान्ति, विद्रोह, आन्दोलन र परिवर्तन भएका थिए । अनि केको गनगन ? राजावादी आन्दोलनमा लाग्नेले यो बुझ्दा राम्रो हुन्छ कि उनीहरु कुनै देश बनाउने आन्दोलन र उद्देश्यमा छैनन्, आफ्नो जीवन र उर्जालाई वाइयात काममा मुफतमा खेर फालिरहेका छन । राजावादी हुनुभन्दा त करेसाबारी गोडेर बस्नु धेरै महान, सार्थक र उद्देश्यमुलक काम हो ।
दोस्रो- अब कम्युनिष्टहरुको कुरा गरौं । कम्युनिष्टहरुसँग उद्देश्य पनि थियो । यिनीहरुले शक्तिलाई निक्कै लामो समय लगाएर ‘प्रोसेसिङ’ पनि राम्रै गरेका हुन । २०७४ को चुनाव कम्युनिष्ट शक्तिको पराकाष्ठा थियो । करिब ७ दशक लगाएर उनीहरुले पहिलोपटक झण्डै दुई तिहाईको बहुमत पाएका थिए । नेकपा (नेकपा ) नामको विशालकाय पार्टी बनाएका थिए । तर, त्यो गुम्यो । किनकि उनीहरुले त्यो शक्तिको सही सदुपयोग गर्न सकेनन् ।
कुनै पनि शक्तिको यात्रा पराकाष्ठाभन्दा माथि जाँदैन । त्यसपछि त्यो ओरालो नै लाग्ने हो । अब कम्युनिष्टहरु निरन्तर ओरालो लाग्दछन । हरेक चुनावमा घट्दै जान्छन । शक्तिको प्राकृतिक सिद्धान्त मुताविक नै अब कम्युनिष्टहरुले त्यति ठूलो अवसर कम्तिमा २ दशकभित्र पनि प्राप्त गर्न सक्दैनन् । त्यसपछि बिल्कुलै नयाँ रुपमा विकसित भए भने भिन्नै कुरा ।
देशमा अहिले पनि दर्जनौं कम्युनिष्ट समूह छन । ती सबैको संगठन र भोटलाई एक ठाउँमा ल्याउने हो भने कम्युनिष्ट शक्तिलाई अहिले पनि कम आँक्न मिल्दैन । तर, फेरि पनि कम्युनिष्ट शक्तिले जनताले चाहेजस्तो देश बनाउनचाहिँ किन सकेन त ? झण्डै दुई तिहाईको बहुमत ल्याएर पनि कम्युनिष्ट शक्ति किन खेर गयो त ?
किनकि उनीहरुको शक्ति-उद्देश्यमै विरोधाभाष थियो ।
कम्युनिष्टहरुले देश बनाए भने हिजोको सोभियत संघ, पूर्वी युरोप वा उत्तरकोरिया, क्युवाजस्तो बन्ने हो । सिंगापुर, दक्षिण कोरिया, फिनलैण्ड, स्विट्जरल्याण्ड, स्वीडेनजस्ता देश कम्युनिष्टबाट सम्भव नै हुँदैन । यहाँसम्म कि चीनको जत्तिको उन्नति गर्न पनि माओवाद छोडेर देङवादमा आउनुपर्छ । नेपाल त चीनजस्तो एकदलीय प्रणाली भएको मुलुक पनि हैन ।
अर्थात् कम्युनिष्टहरुले ‘प्रोसेसिङ’ गरेको शक्तिको उद्देश्य नै सभ्य, सुशासित, समृद्ध र लोकतान्त्रिक मुलुक बनाउनु हैन । सर्वहारा राज्य बनाउन बनेको थियो त्यो शक्ति । त्यो उद्देश्यबाट उनीहरु च्यूत भइसके । नयाँ उद्देश्य निर्धारित छैन । कम्युनिष्ट शक्ति एक त ओरालो लागेको शक्ति हो, अर्को कुरा उद्देश्य भ्रमित शक्ति हो । समस्याग्रस्त र असफल बैचारिकीमा रमाइरहेको शक्तिहो । अनि कम्युनिष्टहरुबाट कसरी बन्छ देश ?
अब अलिकति कांग्रेसको कुरा गरौं- कांग्रेस त जन्मजात लोकतान्त्रिक र समाजवादी पार्टी हो, यसबाट त उन्नत लोकतन्त्र र समृद्धि सम्भव हुन पर्ने, किन भएन ? किनकि उनीहरुले शक्तिको दुरुपयोग गरे । २०४८ सालमा सुरु भएको ३६ से र ७४ को झगडासँगै कांग्रेसको शक्ति देश बनाउँने उद्देश्यबाट ‘डिरेल’ भइसकेको थियो ।
जहाँसम्म मधेशकेन्द्रित वा अन्य क्षेत्रीय साना शक्तिको कुरा छ- उनीहरुको उद्देश्य नै देश बनाउँनु हैन । सम्बन्धित क्षेत्र वा समुदायको राजनीति पहुँच र सहभागिता बढाउनु हो, त्यो त उनीहरुले धेरथोर गरेकै छन । जे उद्देश्यमा उनीहरु बनेका हुन, त्यो सके जति गरेकै छन । उनीहरुले देश बनाएन भन्ने गुनासो किन गर्ने ?
अब को बाँकी रह्यो ? अनि देश बन्ने, बनाउने अपेक्षाचाहिँ कसबाट ? खोइ शक्ति ? कसैले भन्ला रास्वपाबाट । रास्वपाको अहिलेसम्म कुनै आधिकारिक महाधिवेन नभएको, औपचारिक दस्तावेज नआएको, व्यवहारिक परिक्षण भइनसकेको हुनाले यसबारे अहिले कुनै निष्कर्षमा पुग्नु हतारो हुन्छ । पूर्वाग्रहजस्तो देखिन सक्दछ । तर, अहिलेसम्म यो देश बनाउनका लागि पर्याप्त शक्ति हैन । भबिष्यमा यसका नीति, योजना, सोच र क्रियाकलाप कस्ता हुन्छन, त्यो हेर्न पर्छ ।
यो हिजोको नयाँ शक्ति र विवेकशील साझाजस्तो एक चुनावमै सिद्धिएर जान पनि सक्दछ । सम्हालिएर, सही नीति, योजना र सक्रियतासहित हिंड्यो भने केही गर्न पनि सक्दछ । यो पार्टी निर्माणको प्रारम्भिक चरणमा छ । यसको आन्तरिक चरित्र नै ठोस भइसकेको छैन भने यससंग अपेक्षा र गुनासो आवश्यक नै हुँदैन ।
शक्तिको उद्देश्य र सार्थकता सिद्धान्तबाट मात्र हैन, आकार र योग्यता सिद्धान्तबाट हेर्दा पनि देश बनाउने शक्ति छैन । संसदभित्र १४ बटा दल छन, तिनको सोच र मूल्यप्रणालीमा एकरुपता छैन । मन्त्री खान त ती मिल्लान, तर राजनीतिमा उद्देश्यमूलक एकता छैन भने त्यसको कुनै अर्थ हुँदैन ।
त्यसैले भन्न मन लाग्छ- देश बनाउने गफ गर्नुभन्दा पहिले देश बनाउने शक्ति बनाउन योगदान गरौं । अहिलेसम्म देश बनाउन सक्ने गरी शक्तिको प्रोसेसिङ, उत्पादन, व्यूहीकरण र विन्यास नै भएको छैन । शक्ति जताततै छ तर खेर भइरहेको छ । हामी आफैं खेर फालिरहेका छौं देश बनाउने शक्ति । हामी नै हौं देश नबन्नुको दोषी ।