गौरीगाउँ हत्याकाण्ड : बोल्न र सुन्न नसक्ने सञ्जयमाथिको अनुसन्धानमा ३ नयाँ प्रयोग


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
गौरीगाउँ हत्याकाण्ड : बोल्न र सुन्न नसक्ने सञ्जयमाथिको अनुसन्धानमा ३ नयाँ प्रयोग

काठमाडौं महानगरपालिका– ३२ तीनकुने गैरीगाउँमा ४ जनाको हत्यापछि प्रहरी अनुसन्धानमा ३ नयाँ प्रयोग भएका छन् ।

भदौ २९ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ का शारीरिक अशक्त (कान नसुन्ने र बोल्न नसक्ने) २३ वर्षीय सञ्जय भण्डारीले ४ जनाको वीभत्स हत्या गरेका थिए ।

उनलाई प्रहरीले सीसीटीभीको सहयोगमा पहिचान गरी असोज ३१ पक्राउ गरेको थियो । उनीजस्ता व्यक्तिलाई यति गम्भीर मुद्दामा पक्राउ गरिएको पहिलोपटक थियो ।

सांकेतिक भाषा बुझ्न राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष के.पी. अधिकारी र जनक पौडेल (दोभाषे)को सहयोग लिइएको थियो । दोभाषेकै सहयोगमा प्रहरीले भण्डारीको बयान लिएको थियो ।

पक्राउ परेको पहिलो दिन नै उनले ‘आई ह्याब विन किल्ड फोर पिपुल’ भनेर कपीमा लेखिदिएका थिए ।

प्रहरीले शारीरिक अशक्त व्यक्तिविरुद्ध अनुसन्धान गरेको सम्भवतः पहिलोपटक थियो । अनुसन्धानकै क्रममा पछि उनले अन्य ५ जनाको हत्या गरेको सनसनीपूर्ण बयान दिएपछि प्रहरी अन्योलमा पर्‍यो ।

उनले आफूले हत्या गरेको ठाउँ समेत बताए, तर प्रमाण जुटाउन वा व्यक्ति पहिचान गर्न सकिएन । अन्य ५ जनाको हत्या गरेको भन्ने उनको बयानको सत्यता जाँच्न ३ नयाँ प्रविधि प्रयोग गरेको काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भूपेन्द्र खत्री बताउँछन् ।

‘उसले दिएको बयानपछि हामीले प्रमाण जुटाउन हामीले ३ नयाँ प्रविधि प्रयोग गरेका छौं,’ एसएसपी खत्रीले लोकान्तरसँग भने, ‘सम्भवतः यो नेपाल प्रहरीमा मात्रै होइन, विश्वमा नै नयाँ हो ।’

उनका अनुसार प्रहरीले यस्ता व्यक्तिमाथि कसरी अनुसन्धान गरिन्छ भनेर इन्टरपोलमा जिज्ञासा राखेको थियो । इन्टरपोलका अधिकारीहरू समेत यो विषय सुनेर अचम्मित भएको खत्री बताउँछन् ।

त्यसपछि प्रहरीले पहिलोपटक ‘ब्रेन म्यापिङ’ गरेको छ । नेपालमा केन्द्रीय कारागारमा मात्र ब्रेन म्यापिङको व्यवस्था छ । पहिलोपटक यो प्रविधि प्रयोग गरेर अनुसन्धान गरिएको एसएसपी खत्रीले बताए ।

ब्रेन म्यापिङपछि ‘एन्टी सोसियल बिएभियर आर प्रिजेन्ट’ भन्ने निष्कर्षसहितको प्रतिवेदन डाक्टर कञ्चन दाहालले प्रहरीलाई दिएका थिए ।

प्रहरीका अनुसार उनको मानसिक अवस्थाका बारेमा जानकारी लिइएको थियो । त्यसबाट उनी मासिकरूपमा ठीक रहेको देखियो ।

एसएसपी भूपेन्द्र खत्रीका अनुसार प्रहरीले रगतको माध्यमबाट ‘जेनेटिक क्राइम’का विषयमा पनि अनुसन्धान गरेको थियो । ‘हामीले रगतको माध्यमबाट जेनेटिक क्राइमका विषयमा परीक्षण गरेका छौं । यसले क्रिमिनल किसिमको स्वभाव हो कि हैन, विगतमा उनकै परिवारमा कोही क्रिमिनल गतिविधिमा थियो कि थिएन भन्ने विषयमा थाहा हुन्छ,’ एसएसपी खत्रीले लोकान्तरसँग भने, ‘यो परीक्षणको रिपोर्ट अझै आइसकेको छैन, त्यसैले यो केसलाई खुला राखिएको छ ।’

प्रहरीले ९ जनाको हत्या गरेको भन्ने बयानको सत्यता जाँच्न ‘साइकोलोजिकल टेस्ट’ गरेको थियो । एसएसपी खत्रीका अनुसार उनलाई पुस्तकालयमा लगिएको थियो ।

उनलाई त्यहाँ आफूलाई मन पर्ने पुस्तकहरू पढ्न लगाइएको थियो, जसबाट उनले कस्ता पुस्तक पढ्छन् अनि उनको दिमागमा के कुरा बढी छ भन्ने विषयमा जानकारी हुन्छ । प्रहरी अधिकारीहरूका अनुसार उनले पुस्तकालयमा क्राइमका पुस्तक छानेका थिए । ‘साइकोलोजिकल टेस्टका क्रममा उनले क्राइमका पुस्तकहरू छानेका थिए । यसले गर्दा उनको दिमाग क्रिमिनल छ भन्ने देखाउँछ,’ एसएसपी खत्रीले लोकान्तरसँग भने ।

भण्डारीले आफूलाई मोटरसाइकलले ठक्कर दिएको विषयलाई इगोका रूपमा लिएर ४ जनाको हत्या गरेका थिए । आफूलाई वैशाखमा नवीन राई (मृतक)ले मोटरसाइकलले ठक्कर दिएको बयान उनले दिएका छन् । त्यसैको बदला लिन नवीनको हत्या गर्न पुगेका उनले त्यही स:मिलमा काम गर्ने दोलखाका पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा सुभद्रा भुजेलको सेमत हत्या गरेका थिए ।

भण्डारीलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

बयानजस्तो ९ जनाको हत्या गरेकै हुन् ?

अभियुक्त भण्डारीले काठमाडौंको रातोपुल, धुम्बाराही, भक्तपुरको बोडे, सिन्धुपाल्चोकको दुबाचौर, पाँचपोखरीलगायत स्थानमा विभिन्न मितिमा विभिन्न  व्यक्तिको हत्या गरेको भनी बयान दिए ।

उनले दिएको बयानमा आधारमा ती ठाउँमा खोजी गरिएको थियो । एसएसपी भूपेन्द्र खत्रीका अनुसार उनले भनेका ठाउँमध्ये २ ठाउँमा घटना शंकास्पद देखिएको छ । ‘काठमाडौंको एक ठाउँ र भक्तपुरमा शंकास्पद देखिएको छ, तर पुष्टि भएको छैन,’ एसएसपी खत्रीले लोकान्तरसँग भने ।

प्रहरीका अनुसार उनले हत्या गरेर गाडेको भनेका ठाउँमा कतै घर बनिसकेका छन् भने कतै घरको आँगन रहेको छ । ती ठाउँमा घर भत्काएर हेर्ने कानूनी आधार नभएकाले प्रहरीले घटना पुष्टि गर्न सकेको छैन ।

प्रहरीसँग भूकम्पको समयमा आएको ‘लाइभ बडी डिटेक्टर’ मशिन छ तर मरिसकेको व्यक्ति वा कंकाल डिटेक्ट गर्ने मशिन छैन । त्यस कारण सञ्जयको बयानको सत्यता पुष्टि गर्न मुस्किल परेको छ ।

प्रविधिको बारेमा जानकारी लिँदा इन्टरपोलका सदस्य चकित

प्रहरीले यस्ता खालका व्यक्तिमाथिको अनुसन्धानमा प्रयोग हुने प्रविधिबारे इन्टरपोलसँग सहयोग मागेको थियो । तर, अपेक्षित सुझाव वा प्रविधि उपलब्ध हुन सकेन ।

‘इन्टरपोलका सदस्यहरू नै अचम्ममा परेका छन्, नेपालले यस्तो केस कसरी सल्भ गर्‍यो भन्ने विषयमा,’ एसएसपी खत्रीले लोकान्तरसँग भने, ‘अहिले इन्टरपोलले विश्वमा भएका कानून र अभ्यासको बारेमा जानकारी गराउन परिपत्र गरेको छ, कुनै देशमा यस्ता घटनाको अनुसन्धान भएको भए जानकारी आउला ।’

उनका अनुसार भारतमा कान नसुन्ने र बोल्न नसक्ने व्यक्तिहरूको पोलिग्राफ परीक्षण गर्न सक्ने व्यवस्था छ, तर यस्ता व्यक्तिले अपराध गरेको देखिएको छैन ।

सञ्जयले हत्या गर्दा आनन्द लिने गरेको देखिएको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले बताए । उनलाई ‘साइको किलर’ भन्दा पनि ‘एडभेन्चर किलर’ रूपमा लिनुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् ।

‘सञ्जयले हत्या गरेपछि आफूले ठूलो बहादुरी गरेको जस्तो ठानेको देखियो, यसलाई एडभेन्चर किलर भन्दा हुन्छ,’ ती अधिकारीले लोकान्तरसँग भने ।