सेयर किनेको रकम दसैंपछि भुक्तानी गर्दा मिल्ने भएपछि सेयर बजारमा उछाल, १९ सय बिन्दुमाथि उक्लियो सूचक


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
सेयर किनेको रकम दसैंपछि भुक्तानी गर्दा मिल्ने भएपछि सेयर बजारमा उछाल, १९ सय बिन्दुमाथि उक्लियो सूचक

दसैंको खर्च जुटाउन मंगलबार सेयर बिक्री गरेका लगानीकर्ताहरुले बुधबार भने सेयर खरिद गर्दा नेप्सेमा उच्च अंकको बढोत्तरी भएको छ । यसदिन बजार सूचक नेप्से ४३.२७ अंकले बढेर १९०७.८९ बिन्दुमा पुगेको छ ।

बुधबारको बजारमा सेयर खरिद गरेको दसैंपछि भुक्तानी गरे हुने भएपछि सेयर लगानीकर्ताले दशैंपछि बजार बढ्ने आंकलनका साथ सेयर खरिद गरेका छन् । यसले बजारमा उच्च अंकको सुधार आएको हो । दसैंअघि अब बिहीबार एकदिन मात्र सेयर कारोबार हुनेछ । नेपालमा सेयर खरिद बिक्रीमा ‘टि प्लस टू’ को राफसाफचक्र रहेको छ । यसको मतलब कारोबार भएको तेस्रो दिनमा कारोबार राफसाफ हुने गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज २८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता सेयर ३१ हजार ७८८ पटक किनबेच हुँदा ९३ करोड ४८ लाख ९४ हजार २१८ रुपैयाँ बराबरको कारोबार भएको छ । हिजो मंगलबार नेप्से १३.१८ अङ्कले बढ्दा २८९ कम्पनीको ३८ लाख १३ हजार २३३ कित्ता सेयर ४५ हजार ४५६ पटक किनबेच हुँदा १ अर्ब ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटै उपसमुहगत सूचक बढेका छन् । निर्जीवन बीमाको उपसूचक सर्वाधिक २.८७ प्रतिशतले बढेको छ । यस्तै विकास बैंक २.७४, हाइड्रोपावर २.५३, बैंकिङ्ग २.४६, जीवन बीमा २.२६ प्रतिशत, लघुवित्त २.२६ प्रतिशत, लगानी २.२३ प्रतिशत र होटल तथा पर्यटन समूहको २.१४ प्रतिशतले बढेको छ । व्यापार, फाइनान्स, उत्पादन तथा प्रशोधनमुलक र अन्यको उपसमुहगत सूचक एक प्रतिशतभन्दा धेरै बढेको छ ।

यसदिनको बजारमा आशा लघुवित्त र इन्फिनीटी लघुवित्तको सेयरमूल्य सकारात्मक सर्किट लेबलमा बढेको छ । आशा लघुवित्तको सेयरमूल्य ६६ रुपैयाँले बढेर ७२६ तथा इन्फिनीटी लघुवित्तको ६२ रुपैयाँले बढेर ६८४ रुपैयाँ कायम भएको छ ।  यसैगरी मिड सोलु हाइड्रोपावरको ९.३१, ज्योति विकास बैंक ९.१९, गणपति लघुवित्त ९.१३, हाथवे इन्भेष्टमेन्टको ८.३१, अपर सोलु हाइड्रोइलेक्ट्रिकको ७.२५, सगरमाथा जलविद्युतको ७.१९, युनाइटेड इदिमादी आरबि हाइड्रोपावरको ७.१४ र भगवति हाइड्रोपावरको ६.९१ प्रतिशतले मूल्य बढेको छ ।

बुधबारको बजारमा बिपिडब्लू लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ । लघुवित्तको ४.६२ प्रतिशतले घटेर ८४४ रुपैयाँ १० पैसामा झरेको छ । यसैगरी एनआइबिएल समृद्धि फन्ड–२ को इकाईमूल्य ३.९५, १०% प्रभु बैंक डिबेञ्चर २०८४ को ३.८८ प्रतिशत, मेगा म्युचुअल फन्ड–१ को इकाई मूल्य ३.२८ र सिटिजन्स म्युचुअल फन्ड–१ को इकाई मूल्य ३.०३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्सको सर्वाधिक ४ करोड ४६ लाख ४ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी कारोबार कित्ताका आधारमा सबैभन्दा धेरै कारोबार कुमारी बैंकको संस्थापक सेयरको भएको छ । बैंकको ३ लाख .१० हजार ५१५ कित्ता सेयर ३ करोड १३ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको छ । यसैगरी आईएमई लाइफको तेस्रो ठूलो कारोबार भएको छ। इन्स्योरेन्स कम्पनीको २ करोड ४२ लाख, शिवम् सिमेन्टसको २ करोड २७ लाख र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै कारोबार भएको हाथवे इन्भेन्टमेन्ट नेपाल लिमिटेडको १ करोड ९२ लाख रुपैयाँको सेयर खरिद बिक्री भयो । हाथवेको दिनभरमा २ हजार ५९२ वटा कारोबार भएको छ ।

बुधबारको कारोबारपछि समग्र बजार पुँजीकरण २९ खर्ब २७ अर्ब ९३ करोड ६२ लाख रुपैयाँ पुगेको छ । बुधबार मात्रै बजार पुँजीकरण ६६ अर्ब ४१ करोड रुपैयाँले बढेको हो ।