औँला ठड्याउँदै झाँक्रीले भनिन्-कान खोलेर सुन्नुस्, यो देशको चिन्ता गर्न पर्दैन
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्री कडा रूपमा प्रस्तुत भएकी छन् । कार्यक्रममा सहभागीमध्ये केही एनआरएनएले आफूहरुलाई राजनीतिक अधिकारसहितको नागरिकता चाहिने बताएपछि झाँक्रीले त्यसमा आपत्ति जनाउँदै कडा रूपमा प्रस्तुत भएकी हुन् । उसो त एक प्रश्नकर्ताले असहज तरिकाले प्रश्न समेत गरेका थिए ।
ती प्रश्नकर्ताले चर्किँदै गैरआवासीय नेपालीलाई वंशजको नागरिकता दिनुपर्ने भन्दै यसो नगरिएर मानवअधिकारको उलङ्घन हुने दाबी गरेका थिए । अन्य अन्य दुई प्रश्नकर्ताले पनि यस्तै आशयको अभिव्यक्ति दिँदै अध्यक्ष कुल आचार्यसमेतलाई आक्षेप लगाउन थालेपछि झाँक्रीले जवाफ दिन सुरु गरिन् ।
बुधबारको नागरिकतासम्बन्धी उक्त छलफलमा सुरुमा झाँक्री नम्र रूपमा प्रस्तुत भए पनि त्यसपछि सम्हालिन सकिनन् । ‘चेयरले नै र्यापअप गर्नुहुन्छ भनेर नबोल्ने कुरा गरेका थियौँ । यहाँहरूको जिज्ञासाका लागि धन्यवाद’, उनले बोल्न सुरु गरिन्, ‘मलाई पनि तपाईँहरुलाई जसरी चिच्याउन त आउँछ तर तपाईँहरूको अतिथि भएकाले चिच्याउनचाहिँ मिल्दैन जस्तो लाग्यो ।’
‘पहिला नेपाली विदेश जान केके हर्क गर्यौँ । त्यो देशको आईएलआर वा गीनकार्ड पाउन के के हर्कत गर्यौँ ?’, उनले प्रश्न गरिन्, ‘नेपालको नागरिकता र पासपोर्ट त्यागिसकेलाई जब तपाईँहरूले दुई पैसा कमाउनु होला, स्किल होला र देशमा फर्केर केही गर्नुहोला भनेर हामीले आन्दोलनपछि गणतन्त्रपछि यो संविधान ल्याएर यो व्यवस्था गर्यौँ । अनि तपाईँहरूले कुल आचार्यलाई फाँसीको कुरा गर्ने ? नलिन चाहनेले गैरआवासीय नेपाली नागरिकता नलिन सक्नुहुन्छ ।’
उनले नेपालमा आएर नागरिकताबारे ठुला कुरा गरेको नसुहाउने भन्दै आक्रोश पोखिन् । त्यसपछि दर्शक दीर्घाबाट झाँक्रीको विरोध सुरु भए पनि उनले यस्ता नाराले आफूलाई केही फरक नपर्ने भन्दै थप आक्रामक भइन् ।
उनले हरेक देशको नागरिकतासम्बन्धी कानुन त्यस देशको विशिष्टतामा आधारित हुने बताउँदै एनआरएनएहरुलाई राजनीतिक अधिकारबाहेकको गैरआवासीय नागरिकता दिएको बताइन् । ‘साथीहरु कान खोलेर सुन्नुस्, तपाईँहरुलाई रेस्टुरेन्टमा काम गर्दागर्दा फुर्सद नभएर हुनसक्छ । मानवअधिकार विश्वप्यापी हुन्छ । तपाईँहरुलाई सिटजनको अधिकार दिएको होइन । गैरआवासीय नागरिकता दिएको हो ।’
उनले पहिला खुसीले नागरिकता त्याग्ने पनि अहिले ठुला कुरा गर्ने भन्दै आक्रोश समेत पोखिन् । त्यसपछि केहीबेर तनावको अवस्था बनेको थियो ।