काठमाडौँ महानगरको कार्यपालिका बैठक : २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति


[ss_social_share]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
काठमाडौँ महानगरको कार्यपालिका बैठक : २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति

काठमाडौँ । २१ वटा कानुन बनाउन सैद्धान्तिक सहमति दिँदै काठमाडौँ महानगरपालिकाको २३ औँ कार्यपालिका बैठक सम्पन्न भएको छ ।
महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा मंगलबार बसेको बैठकमा शाहले कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति सम्बन्धी प्रस्ताव राख्न बैठकका सचिव एवं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीलाई समय दिएका थिए । महानगरपालिकाको समग्र विकास र व्यवस्थापनका लागि आवश्यक देखिएका कानुन तर्जुमा गर्न लागिएको हो । यसका लागि विभाग र समितिहरूबाट प्रस्ताव आएका हुन् ।
‘यी कानुनले महानगरपालिकाका वडादेखि केन्द्रसम्म सबै पदाधिकारी, अधिकारी तथा संयन्त्रको सहभागितालाई सुनिश्चित गर्छ’, मेयर शाहको भनाइ छ । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, सैद्धान्तिक सहमति लिएका विषयहरू छलफलका क्रममा एक आपसमा गाभिन सक्ने सम्भावना रहेको पनि बताए ।

बैठकमा विधायन समितिका सदस्य एवं वडा नं. ३१ का अध्यक्ष सरोज ढकालले, ८ वटा कार्यविधि स्वीकृत गर्न प्रस्ताव पेस गरे । यसरी प्रस्ताव गरिएका कार्यविधिमा ‘विद्यालय शिक्षक दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन कार्यविधि २०८०’, ‘स्रोत शिक्षक नियुक्ति कार्यविधि २०८०’, ‘काठमाडौँ महानगरपालिका, अस्पतालहरूमा निःशुल्क उपचार सेवा उपलब्ध गराउने कार्यविधि २०८०’, ‘गौरव तथा स्वर्णिम योजना कार्यविधि २०८०’, ‘टोल विकास संस्था सञ्चालन कार्यविधि २०८०’, ‘श्रम बैङ्क सञ्चालन कार्यविधि २०८०’, ‘मर्मत सम्भार कोष सञ्चालन कार्यविधि २०८०’ र ‘कन्टिजेन्सी सम्बन्धी कार्यविधि २०८०’ रहेका छन् ।
कार्यविधिमाथि थप छलफल गर्नुपर्ने कार्यपालिका सदस्यहरूबाट सुझाव आएपछि प्रस्तावित कार्यविधि संशोधनसहित पारित भएको महानगरले जनाएको छ ।

बैठकले प्रमुख शाहको अध्यक्षतामा ‘काठमाडौँ मेट्रो आइडिया एन्ड इनोभेसन २०८०’ निर्देशक समितिलाई अनुमोदन गरेको छ । सहरी योजना आयोगका उपाध्यक्ष सदस्य सचिव रहने समितिको सदस्यहरूमा उपप्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी, सामाजिक समितिका संयोजक रामकुमार के. सी., विज्ञहरू विभूषण विष्ट र नरोत्तम अर्याल छन् ।

त्यस्तै बैठकले कानुनी सल्लाहकारहरूको म्याद कार्तिक १५ गतेसम्म थप गरेको छ । वडा नं. २९ को कार्यालय भवन र स्वास्थ्य प्रवर्धन केन्द्र सञ्चालनका लागि अनामनगरमा रहेको कित्ता नंं ८, ९ र १० को सरकारी जग्गा महानगरपालिकाको स्वामित्वमा प्राप्त गर्न नेपाल सरकार, मन्त्री परिषद्को कार्यालयलाई अनुरोध गर्ने निर्णय भएको छ । यस्तै वडा नं. ३० को भवन निर्माण गर्न रामचन्द्र निजी गुठीको जग्गा लिजमा लिएर महानगरपालिकाको नाममा भवन नक्सा पास गरी वडा कार्यालय निर्माण गर्ने निर्णय गरेको छ ।

वडा नंं १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएपछि रिक्त भएको पूर्वाधार समितिको संयोजकमा वडा नं. १९ का अध्यक्ष राजेशकुमार श्रेष्ठलाई र सदस्यमा वडा नं. १६ का कार्यवाहक अध्यक्ष पुष्प महर्जनलाई तोक्ने निर्णय गरेको छ । यस्तै नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई कायममुकायम नगर प्रहरी वरिष्ठ उपरीक्षक तोकेको छ । बैठकले वडा नं. ४ धुम्बाराहीको तस्वाः देगः मन्दिर परिसरको निर्माण कार्यको म्याद थपेको छ । यस्तै वडा नं. ११ भद्रकालीदेखि सिंहदरबार सडक किनाराको रेलिङ निर्माण र वडा नं. ६ रामहिटीमा निर्माणाधीन साहित्य सदनको भेरिएसन र निर्माण कार्यको अवधि थप गर्ने निर्णय गरेको छ ।

जनप्रतिनिधिको सुविधा सम्बन्धी ऐन २०७९ को संशोधन प्रस्ताव नगर सभामा लैजाने बैठकबाट भएको अर्को निर्णय हो । यस्तै वडा नं. १९ मा रहेको स्वास्थ्य प्रवर्धन केन्द्रको स्वामित्व ग्रहण गर्ने निर्णय गरेको छ ।
वैठकमा सुशासन समितिका संयोजक ख्यामराज तिवारी, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, सामाजिक समितिका संयोजक रामकुमार के. सी., वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, विधायन समितिका सदस्य सरोज ढकालले आफ्ना समितिसँग सम्बन्धित प्रस्ताव पेस गरेका थिए ।

यी हुन् कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गरिएका कानुनहरू 
१)    राजस्व सङ्कलन तथा लक्ष्य निर्धारण कार्यविधि, २०८०
२)     सेवा प्रवाहको मापदण्ड (एसओपी) स्ट््याण्डर्ड अपरेसन प्रोसिड््युर कार्यविधि, २०८०
३)    कानुनी सहायता कार्यविधि, २०८०
४)    सार्वजनिक खरिद मार्गदर्शन, २०८०
५)    भवन निर्माण कार्यविधि, २०८०
६)    सहकारी नियमावली, २०८०
७)    संकटग्रस्त सहकारी व्यवस्थापन कार्यविधि, २०८०
८)    शिक्षकहरूको सुनौलो अवकाश कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८०
९)    पुस्तकरहित शुक्रबार कार्यक्रम सञ्चालन कार्यविधि, २०८०
१०)    शैक्षिक परामर्श केन्द्र, मन्टेश्वरी/पूर्व प्राथमिक विद्यालय, ट्युसन/कोचिङ् सेन्टर दर्ता सञ्चालन सम्बन्धी कार्यविधि, २०८०
११)    संस्थागत विद्यालयको स्तरीकरण, शुल्क निर्धारण तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८०
१२)    सुन्दर विद्यालय आयोजना सञ्चालन कार्यविधि, २०८०
१३)    शिक्षा नियमावली, २०८०
१४)    बाल अधिकार प्रवर्धन तथा बाल संरक्षण सम्बन्धी कार्यविधि, २०८०
१५)    अनुसन्धान तथा अन्वेषण केन्द्र सञ्चालन कार्यविधि, २०८०
१६)    काठमाडौँ मेट्रो आइडिया एन्ड इनोभेसन कार्यक्रम सञ्चालन कार्यविधि, २०८०
१७)    काठमाडौँ महानगरपालिका लेखा समिति कार्य सञ्चालन निर्देशिका, २०८०
१८)    सार्वजनिक शौचालय निर्माण, सञ्चालन र व्यवस्थापन कार्यविधि, २०८०
१९)    कर्मचारी स्वैच्छिक अवकाश कार्यविधि, २०८०
२०)    उपभोक्ता समितिको गठन व्यवस्थापन तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८०
२१)    पार्क व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०८०