इजरायल र हमासबीच युद्ध जारी


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
इजरायल र हमासबीच युद्ध जारी

दुवै पक्षको आक्रमणमा परी सयौंको मृत्यु, इजरायल सरकारद्वारा युद्ध स्थितिको घोषणा

जेरुसेलम — प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण सुरु गरेको दोस्रो दिन आइतबार दक्षिण इजरायलका विभिन्न सीमा क्षेत्रमा हमास र इजरायली सेनाबीच भिडन्त भएको छ । हमासको आक्रमणयता आइतबार साँझसम्म कम्तीमा ४ सय इजरायलीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ । दर्जनौं इजरायलीलाई बन्धक बनाइएको छ ।

इजरायल र हमासबीच युद्ध जारी

यस्तै, इजरायलको जवाफी कारबाहीमा परी गाजा क्षेत्रमा ३ सय १३ जनाको मृत्यु भएको छ भने २ हजारभन्दा बढी घाइते भएको प्यालेस्टिनी अधिकारीले जनाएका छन् । इजरायलको सुरक्षा परिषद्ले औपचारिक रूपमा ‘युद्ध स्थिति’ को घोषणा गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । यो घोषणापछि सरकारलाई महत्त्वपूर्ण सैन्य गतिविधि गर्न अनुमति मिलेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा क्षेत्रका स्थानीयलाई विस्थापित हुन चेतावनी दिँदै उक्त क्षेत्रलाई ‘निर्जन स्थल’ का रूपमा बदल्ने घोषणा गरेका छन् ।

प्यालेस्टाइन समर्थित विद्रोही समूह हमासले शनिबार इजरायलतर्फ मिसाइल आक्रमण गरेको थियो । त्यसयता प्यालेस्टाइन र इजरायलबीच फेरि युद्ध चर्किएको हो । यसबीच लेबनानस्थित विद्रोही समूह हिजबुल्लाह पनि यस युद्धमा जोडिएको छ । इजरायल नियन्त्रित सिब्बामा आइतबार हिजबुल्लाहले मोर्टार आक्रमण गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलमाथि हमासको आक्रमणको निन्दा गरेका छन् । हमासद्वारा ठूलो संख्यामा इजरायलीमाथि अपहरण र आक्रमण भएको घटनाले आफू स्तब्ध भएको गुटेरेसले जनाएका छन् । अपहरण गरिएका सबैलाई तत्काल रिहा गर्न पनि उनले सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई चाहिने सबै उपयुक्त सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन् । इजरायली प्रधानमन्त्री नेतान्याहुलाई टेलिफोन गर्दै उनले इजरायली सरकार र जनतालाई सहयोग गर्न अमेरिका तयार रहेको बताएको टाइम्स अफ इजरायलले जनाएको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ । सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २ सय ५१ प्यालेस्टिनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टिनी विद्रोही अखडामा हवाई आक्रमण गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टिनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजा क्षेत्रका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए । इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कैयौं पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदै आएको छ ।