सेयर कर्जाको सीमा बढेपछिको पहिलो दिन नेप्सेमा ३५.६७ अंकको गिरावट


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
सेयर कर्जाको सीमा बढेपछिको पहिलो दिन नेप्सेमा ३५.६७ अंकको गिरावट

काठमाडौँ — नेपाल राष्ट्र बैंकले सेयर कर्जाको सीमा बढाएपछिको पहिलो कारोबार दिन सेयर कारोबार मापक नेप्से परिसूचक करिब साढे ३५ अंकले घटेको छ । आइतबार बजार खुलेदेखि नै घट्न थालेको नेप्से अन्तिमसम्म ३६.६७ अंकले घटेर १ हजार ९ सय २१.२४ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो १.८२ प्रतिशतले घटेको हो ।

 

पछिल्ला महिनामा सेयर बजार बढ्न नसक्नुको प्रमुख कारकका रुपमा हेरिएको सेयर कर्जाको सीमा नेपाल राष्ट्र बैंकले गत बिहीबार बढाएर व्यक्तिका लागि १५ करोड र संस्थाका लागि २० करोड बनाएको छ । यसअघि यस्तो सीमा व्यक्ति र संस्था सबैका लागि १२ करोड रुपैयाँ थियो । उक्त सीमा बढेसँगै सेयर बजारमा सुधार आउने अपेक्षा विपरित आइतबार नेप्से उच्च अंकले घटेको हो । लगानीकर्ताको अपेक्षा सेयर कर्जाको सीमा हट्ने वा धेरै माथि रहने अनुमान गरेपनि राष्ट्र बैंकले थोरै मात्र बढाएकाले बजारमा सकारात्मक असर नदेखिएको जानकारहरुले बताएका छन् ।

आइतबार ५९ हजार १ सय ७१ कारोबारबाट ५८ लाख १५ हजार १८९ कित्ता सेयर किनबेच भएको छ । उक्त किनबेचबाट १ अर्ब ८० करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने बढेको हो । गत बिहीबार सेयर बजारमा १ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये २१३ वटा कम्पनीको सेयर मूल्य बढेको छ । १६ वटा कम्पनीको घट्यो भने ४ वटाको सेयर मूल्य स्थिर छ ।