भन्सार बिन्दुमा ट्यांकरसहित इन्धनको तौल गर्न थालियो


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
भन्सार बिन्दुमा ट्यांकरसहित इन्धनको तौल गर्न थालियो

पर्सा — भारतबाट इन्धन ढुवानी गर्ने ट्यांकरले नै तस्करी गरेको खुलेपछि वीरगन्जस्थित एकीकृत सुरक्षा जाँच चौकीमै ट्यांकरसहित इन्धनको तौल गर्न थालिएको छ । वीरगन्ज भन्सार कार्यालय र नेपाल आयल निगमको आपसी समझदारीमै चौकी परिसरमा रहेको तौल काँटामै इन्धन सहितको ट्यांकरको तौल गर्न थालिएको हो ।

भन्सार बिन्दुमा ट्यांकरसहित इन्धनको तौल गर्न थालियो 

वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालका अनुसार यो नाका हुँदै भारतबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरुको तथ्यांक पनि राख्न थालिएको छ । ‘खाली अवस्थामा प्रत्येक ट्यांकरको तथ्यांक राख्न थालिएको छ,’ उनले भने, ‘यसो गर्दा ट्यांकरबाट इन्धन तस्करी हुने सम्भावना शून्य हुन जान्छ ।’

सामान्यतया एउटा ट्यांकरले २० हजार लिटर इन्धन बोक्छन् । त्यसभन्दा बढी इन्धन बोकेको पाइए त्यो तस्करी प्रमाणित हुने उनले बताए । हाल वीरगन्ज नाकाबाट दैनिक सरदर ८५ ट्यांकरले भारतको बरौनीबाट पेट्रोल ढुवानी गरेर ल्याउने गरेका छन् । डिजेल भने मोतिहारी–अमलेखगन्ज पाइपलाइनबाट सोझै नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा भित्रिने गरेको छ ।

वीरगन्ज नाका मुलुककै सर्वाधिक इन्धन भित्रिने नाका हो । वीरगन्ज भन्सार कार्यालयले संकलन गर्ने कुल राजस्वमा इन्धनको योगदान सबैभन्दा बढी हुने गर्दछ । भदौ २९ गते एकीकृत सुरक्षा जाँच चौकी परिसरमै इन्धन तस्करी कार्यमा संलग्न एक ट्यांकरलाई भन्सार अधिकारीहरुले नियन्त्रणमा लिएका थिए ।

भारतको बरौनीबाट २० हजार लिटर पेट्रोल लिएर आएको घोषणा गरेको ना ४ ख ३१५६ नम्बरको ट्यांकरबाट भन्सार अधिकारीहरुले घोषित परिमाणभन्दा १ हजार ७ सय ९७ लिटर बढी पेट्रोल बरामद गरेको बरुवालले बताए । सीमापारि भारतीय एकीकृत सुरक्षा जाँच चौकीमा इन्धन बोकेर नेपाल आउने ट्यांकरहरुको इन्धनको तौल हुने गर्दछ । तर नेपाली भन्सार बिन्दुमा भने तौल गर्ने चलन थिएन । ‘अब भन्सार बिन्दुमै ट्यांकर सहित इन्धनको तौल गर्ने परिपाटी बसालिएको छ,’ उनले भने, ‘यसो गर्दा इन्धन तस्करीको सम्भावना समाप्त भएर जान्छ ।’