‘खोइ हाम्रो पुरस्कार ?’


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
‘खोइ हाम्रो पुरस्कार ?’

हाङचउ — नेपाली क्रिकेट टिमले १९ औं एसियाली खेलकुदमा बुधबार प्राप्त जितमा साक्षी बन्ने अवसर युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले पनि पाए । चेचियाङ युनिभर्सिटीको मैदानमा प्राप्त जितमा बधाई दिन उनीसँगै पुगेका थिए नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ ।

‘खोइ हाम्रो पुरस्कार ?’
ड्रेसिङ रुममै पुगेका मन्त्री लिम्बूले सबैले क्रिकेटमा नेपालको प्रदर्शनबारे आफूलाई सोधिरहेको बताए । उनले भने, ‘यो क्रिकेट टिममाथि धेरैको धेरै आस छ । ढुक्क र निर्धक्क भएर खेल्नुस् तपाईंको पछाडि हामी छौं ।’

उनको कुरा भुईंमा पनि खस्न पाएको थिएन, कप्तान रोहित पौडेलले सोधिहाले, ‘सर, हाम्रो पुरस्कार के भइरहेको छ ? यो पुरस्कार समयमै पाउने हो भने खेलाडीलाई धेरै राहत हुने थियो । यसले हाम्रा खेलाडीलाई बलियो आर्थिक सहयोग हुने थियो ।’ यसमा मन्त्री लिम्बूको उत्तर थियो, ‘हाम्रा आफ्नै प्रशासनिक झमेलाहरू छन् । यी समस्या समाधान गर्न लागिरहेका छौं । यसै कारणले अहिलेसम्म पनि घोषित पुरस्कार दिन असमर्थ भइरहेको हो ।’

कप्तान रोहितले मन्त्रीलाई एउटा तथ्य सम्झाउने प्रयास गरे । यो थियो, प्रधानमन्त्री पुष्पकमल दाहालको वचन । प्रधानमन्त्री कार्यालयमै आयोजित औपचारिक विदाइमा भनिएको थियो, अब मन्त्रिपरिषद् निर्णयले भोलि नै घोषित आर्थिक पुरस्कारको रकम दिइने छ ।

त्यसलगत्तै खेलाडीले जोडदार ताली बजाएर घोषणाको स्वागत गरेका थिए । यसरी बढी खुसी हुनेमा क्रिकेटका खेलाडी थिए । तर घोषणाको साता दिन बढी बितिसक्दा पनि केही भएको छैन । ‘प्रधानमन्त्रीले त भोलि नै हुन्छ भन्नुभएको थियो तर केही भएन,’ रोहितले थपे । मन्त्री लिम्बूले फेरि जोड दिए, ‘अहिले तत्कालका लागि खेलाडीले आफ्नो खेलमा ध्यान दिए राम्रो ।’

एनओसीका अध्यक्ष श्रेष्ठले पनि खेलाडीले पाउनुपर्ने आर्थिक पुरस्कारका लागि आफूले पनि सक्दो सहयोग तथा पहल गर्ने बताए ।

नेपाली क्रिकेटका अधिकांशले सरकारले घोषित गरेको बढीमा १७ लाख रुपैयाँ अहिलेसम्म पाएका छैनन् । पूरा घटनाक्रम निकै नजिकबाट हेरिरहेका प्रशिक्षक मोन्टी देसाईले अन्त्यमा भने, ‘अहिले खेलाडीको प्रदर्शन उकास्ने कुरा भइरहेको छ, त्यो राम्रो हो । तर खेलाडीलाई खुसी राख्ने काम पनि हुनुपर्छ । सरकारले हेरे खेलाडीले पनि खेल्नेछन् ।’