बेइजिङ जोड्ने छोङछिङको बाटो


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
बेइजिङ जोड्ने छोङछिङको बाटो

केन्द्र शासित ४ ठूला नगरमध्येको एक छोङछिङलाई चीनले पछिल्लो समय निकै महत्त्व दिने गरेको छ । रणनीतिक हिसाबले मत्त्वपूर्ण भएका कारण पनि यो सहर नेपालबाट चीन जाने नेताको भ्रमण सूचीमा अनिवार्यजस्तै बन्दै आएको छ ।

काठमाडौँ — चीनको केन्द्र शासित ४ ठूला नगरमध्येको एक हो, छोङछिङ । अन्य ठूला नगरहरुमा चीनको राजधानी बेइजिङ, सांघाई र तियाङजिङ हुन् । छोङछिङ चीनको पश्चिम र दक्षिण क्षेत्रमा रहेको एक मात्रै नगरपालिका हो । बाँकी पूर्व क्षेत्रमा छ।

 

बेइजिङ जोड्ने छोङछिङको बाटो

 

नेपालको आधा भूभागभन्दा ठूलो क्षेत्रमा फैलिएको यो सहरमा नेपालको कुल जनसंख्याभन्दा धेरै मानिस बस्छन् । ८२ हजार ४ सय ५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छोङछिङको जनसंख्या ३ करोड २० लाख छ । याङ्सी तथा जिआलिङ नदीको संगममा रहेको छोङछिङलाई रेल, सडक, हवाई सेवा मात्रै होइन र नदीको जलमार्गले समुद्रसँग जोड्ने गरेको छ ।

पछिल्लो समय नेपालबाट चीन पुग्ने नेताहरूका लागि बेइजिङले बनाउने भ्रमण सूचीमा छोङछिङ अनिवार्यजस्तै बन्दै आएको छ । चीनको पश्चिम–दक्षिणमा पर्ने छोङछिङलाई बेइजिङले किन यति महत्त्व दिएको छ ? चीन मामिलाका जानकारहरू नेपालसँग नजिकको पनि भएको र केन्द्रको रणनीतिक प्राथमिकतामा परेका कारण छोङछिङ विदेशी पाहुनाको भ्रमण सूचीमा अनिवार्यजस्तै बनेको बताउँछन् ।

‘चीनले बढी सहकार्य होस् भन्ने स्थानमा प्रमुख प्रतिनिधिमण्डलको भिजिट गराउने गरेको छ र निरन्तर रूपमा भ्रमण गराउँछ भने सम्बन्ध स्थापित भनेर हो । चीनले छोङछिङमा गराइरहेको भ्रमणले पनि त्यही देखाउँछ,’ चीनका लागि पूर्वनेपाली राजदूत महेश मास्केले भने, ‘म चीनको राजदूत हुँदा पनि त्यहाँको भ्रमणमा लिएर गएका थिए । कुनै समयमा बेइजिङपछि छेन्दु निकै महत्त्वपूर्ण रहेको थियो । त्यसैगरी सियान रहेको थियो । अहिले छेन्दु धेरै स्थापित भइसक्यो । उनीहरूले छोङछिङलाई प्राथमिकता दिएको देखिन्छ ।’

मास्केले तिब्बतसहितको क्षेत्रमा नेपालको सम्बन्ध होस् भनेर नै उनीहरूले निरन्तर रूपमा भ्रमणमा सो स्थान राख्ने बताए । मास्केका अनुसार नेपाली विद्यार्थीहरूको संख्या पनि उल्लेख्य परिमाणमा रहेको छ । एक साता लामो चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल हाङचउ र बेइजिङको भ्रमणपछि मंगलबार छोङछिङ पुगेका छन् । हाङचउमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गरेका प्रधानमन्त्री दाहालले बेइजिङमा समकक्षी ली छ्याङसँग द्विपक्षीय वार्ता गरेका थिए । छोङछिङमा प्रधानमन्त्री दाहाल विभिन्न कार्यक्रममा सहभागी हुनेछन् । प्रधानमन्त्री दाहाल भ्रमणको ठीक अघि चीन भ्रमणमा गएको एमाले महासचिव शंकर पोखरेल नेतृत्वको टोलीले आफ्नो भ्रमणको सुरुवात छोङछिङबाट सुरु भएको थियो ।

छोङछिङमा प्रधानमन्त्री दाहाल र चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय राजनीतिक विभागका सदस्य र छोङछिङ नगरपालिकाका समितिका सचिव युन ज्या जुनबीच मंगलबार भेट गरेका छन् । यिनै युन गत असारमा नेपाल आएका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो सदस्यसमेत रहेका युनले त्यतिबेला नेपालको शीर्ष नेताहरूसँग भेट गरेका थिए ।

 

चीनले छोङछिङलाई केन्द्रमा राखेर दक्षिण एसियालाई जोड्न खोजेको देखिन्छ । २०७८ साल असोजमा नेपाल, पाकिस्तान, अफगानिस्तान, बंगलादेश र श्रीलंकाका राजदूतहरूलाई उपस्थितिमा ‘चीन–दक्षिण एसियाली मुलुक गरिबी उन्मूलन र सहकारी विकास केन्द्र’ स्थापना गरेको थियो । भुटानसँग चीनको कूटनीतिक सम्बन्ध छैन भने माल्दिभ्स र भारतमा त्यसमा सहभागी भएको छैन । केन्द्रको उद्घाटन समारोहमा चीनका लागि नेपालका तत्कालीन राजदूत महेन्द्रबहादुर पाण्डे सहभागी भएका थिए ।

भदौको अन्तिम साता एमाले भ्रमण टोलीको सदस्य भएर छोङछिङ पुगेका एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले चीनको दक्षिण–पश्चिम आर्थिक तथा औद्योगिक हिसाबले ठूलो सहर भएको बताए ।

‘जनसंख्याको हिसाबले विश्वकै सबैभन्दा ठूलो सहर हो । उनीहरूले छोङछिङ र छेन्दुलाई जोडेर ठूलो महानगर बनाउने गरी एकीकृत सहरी विकासको काम गराउँदै रहेछ,’ भट्टराईले भने, ‘नेपालसहित दक्षिण एसियाको नजिकैको सबैभन्दा ठूलो सहर हो । जोडिन पनि सहज छ । त्यसको रेल्वे कनेक्टिभिटी छोङछिङदेखि छेन्दु हुँदा ल्हासा र सिगात्सेसम्म छ ।’

‘छोङछिङ बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ) को केन्द्रका रूपमा पनि रहेको छ र वित्तीय केन्द्र पनि हो । त्यहाँको युरोपको २ सय ३१ वटा सहरमा रेलबाट कार्गो जाने गरेको छ,’ भट्टराईले भने, ‘यो सहर आधुनिक प्रविधिको विकासका लागि पनि चिनिन्छ ।’ सहरमा बेलायत, क्यानडा, नेदरल्यान्ड्स, जापानसहितको १२ वटा देशको महावाणिज्य दूतावास छ ।

पछिल्लो समय चीनले तुलनात्मक रूपमा विकासमा पछि परेको पश्चिम क्षेत्रलाई विकास गर्ने जोड दिँदै आएको छ । चीनले छोङछिङलाई केन्द्रमा राखेर गर्ने गरेको छ । ‘छोङछिङ महत्त्वपूर्ण भूरणनीतिक स्थानमा भएकाले चीनले दोस्रो विश्वयुद्धको समयमा युद्ध राजधानीका रूपमा रहेको थियो,’ चीनको सिचुवान विश्वविद्यालयका गाओ लियानले कान्तिपुरसँग भने, ‘चीन सरकारले छोङछिङलाई पश्चिमी क्षेत्रको विकासका लागि महत्त्वपूर्ण रणनीतिक केन्द्रबिन्दु, बीआरआई र यान्सी नदी आर्थिक क्षेत्रबीचको सम्बन्धका रूपमा राखेको छ ।’

गाओका अनुसार छोङछिङ र छेन्दु सहरलाई जुम्ल्याहा आर्थिक चक्रका रूपमा विकास गरेर चीनको पश्चिम–दक्षिण क्षेत्रको आर्थिक तथा सामाजिक प्रगति गराउने योजना छ । छोङछिङ र छेन्दुबीचको दूरी करिब ३ सय किलोमिटर छ र दुवैलाई जोड्न सानो–सानो स्तरका सहरहरू निर्माण गर्ने योजना चीनको छ ।

 

२०२० जुनमा हङकङबाट प्रकाशित हुने साउथ चाइना मोर्निङ पोस्टले चीनले ‘गो वेस्ट’ नीति १९९९ मा सुरु गरे पनि २०२० को चिनियाँ कम्युनिस्ट पार्टीको राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा नयाँ नीति ल्याएको जनाएको छ । ‘अमेरिकाको आर्थिक रूपमा चीनसँग अलग गर्ने (डिकप्लिङ) कार्य र कोरोना महामारीको प्रबन्धको कारण अन्तर्राष्ट्रिय रूपको विद्वेषपछि चीनले बृहत् तथा ऊर्जाले सम्पन्न पश्चिमी क्षेत्रको उपयोग गर्न खोजेको छ,’ पत्रिकाले लेखेको छ, ‘भूराजनीतिक आइसोलेसन तथा निर्यातले बढाएको वृद्धिमा आउने सुस्तीलाई कम गर्न मध्य तथा पश्चिम क्षेत्रको विकास आह्वान गरिएको छ ।’

अधिवेशनलगत्तै बेइजिङले विमानस्थल, रेल्वे र ऊर्जा परियोजनासहितको भौतिक पूर्वाधारको योजना शृंखलाबद्ध रूपमा घोषणा गरेको छ । चीनको दुई तीन तिहाइ भूभाग ओगट्ने तर २५ प्रतिशत मात्रै जनसंख्या रहेको क्षेत्रमा उद्योगहरूलाई स्थानान्तरणका लागि विशेष सुविधाको घोषणा गरेको छ । जसमा १२ वटा प्रदेश तथा क्षेत्र पर्दछन् । जुन विकास कार्यक्रमहरू राष्ट्रपति सी चिनफिङको बेल्ट एन्ड रोड कार्यक्रमसँग मेल खाने गरी बनाइएको छ ।

काठमाडौं र छोङछिङबीच सिधा उडान हुने गरेको छ । काठमाडौं–छोङछिङबीचको हवाई दूरी करिब २१ सय किलोमिटर छ जबकि सडक मार्ग भने ३४ सय किलोमिटर रहेको छ । चीनले आर्थिक विकाससँग नयाँ संरचनामा जाँदा छोङछिङलाई केन्द्रमा पश्चिम क्षेत्रको सुरक्षा मुख्यालय बनाएको छ ।

चीनले सन् २०१६ मा सैनिक संरचनामा परिवर्तन गर्दै सात क्षेत्रलाई पाँच वटा थिएटर कमान्ड निर्माण गरेको थियो । उत्तर, दक्षिण, पूर्व, पश्चिम र मध्य गरी पाँच कमान्ड छन् । त्यसमा सबैभन्दा ठूलो भूभाग पश्चिम थिएटर कमान्डभित्र पर्छ । यसको मुख्यालय छोङछिङमा छ । जसले चीनको दक्षिणतर्फको क्षेत्रलाई हेर्ने गरेको छ । जसमा भुटान, भारत, नेपाल, पाकिस्तान, अफगानिस्तानसहित पश्चिमतर्फ हेर्दछ ।