स्वास्थ्यकर्मीले जटिल किसिमका बिरामी छुनसमेत डराउने स्थिति बन्यो : डा. कार्की


[ss_social_share]
लेखक : admin      ७ महिना अगाडि मा प्रकाशित     
स्वास्थ्यकर्मीले जटिल किसिमका बिरामी छुनसमेत डराउने स्थिति बन्यो : डा. कार्की

काठमाडौँ — बिरामीको उपचारमा संलग्न चिकित्सकहरूमाथि आक्रमणका घटना दिन प्रतिदन बढ्दै जाँदा सम्पूर्ण स्वास्थ्य क्षेत्र संकटतिर गइरहेको महसुस भएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले बताएकी छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीलाई यस्ता घटनाका दोषीलाई कारबाही गर्नुपर्ने र त्यसबारे छलफल गर्न पत्र लेख्दै सांसद कार्कीले उक्त कुरा बताएकी हुन् ।

चिकित्सकहरूमाथि भइरहेका आक्रमणले स्वास्थ्य क्षेत्रलाई असुरक्षित बनाइरहेको डा. कार्कीको भनाइ छ । ‘पछिल्लो समय देशैभर स्वास्थ्यकर्मीहरूमाथि हातपात, कुटपिट र सांघातिक आक्रमण हुने साथै अस्पताल र स्वास्थ्य संस्थाहरूमा तोडफोड, हुलहुज्जत हुने घटनाहरू दिनानुदिन बढ्दै गइरहेको स्थितिले समग्र स्वास्थ्य क्षेत्रलाई असुरक्षित र भयावह बनाएको छ,’ डा. कार्कीले लेखेको पत्रमा उल्लेख छ ।

त्यसरी भइरहेका घटनाले स्वास्थ्यकर्मीहरू भौतिक रूपमा असुरक्षित भएको र मानसिक रुपमा निरुत्साहित भएको डा. कार्कीको भनाइ छ । ‘त्रासपूर्ण वातावरण सिर्जना भएको कारण स्वास्थ्यकर्मीहरूले जटिल किसिमका रोग र बिरामीहरू छुनसमेत डराउने र डाक्टर, नर्सहरू विदेसिने क्रम बढ्दो छ,’ उनले लेखेकी छन् । स्वास्थ्य संस्था र अस्पतालहरू पूर्णरुपमा शान्ति क्षेत्र भएमा मात्रै उपचार सम्भव हुने उनको भनाइ छ । यस्ता घटनाले बिरामीको उपचारमा समेत क्षति पुग्न जाने उनले बताएकी छन् ।

सांसद डा. कार्कीले स्वास्थ्य संस्थामा भएका घटनाहरूले भीडतन्त्र हाबी भएको र कानुनी राज्यको उपहास भएको पनि बताएकी छन् । चिकित्सकमाथि हातपात गर्नेमाथि कारबाही गरी सुरक्षाको प्रत्याभूति दिलाउँदै यस्ता घटनाको दिगो समाधान खोज्नुपर्ने उनको आग्रह छ । त्यसो नभएमा स्वास्थ्य सेवा धराशयी हुने र मुलुकलाई अपूरणीय क्षति पुग्ने भएकाले संसदीय समितिको बैठक आकस्मिक रूपमा बोलाउन उनले माग गरेकी छन् ।