अर्थमन्त्रीको बचाउ गर्दै विनोद चौधरीले भने– ड्राइभर बदल्दैमा गाडीको रफ्तार बढ्दैन


[ss_social_share]
लेखक : admin      ३ वर्ष अगाडि मा प्रकाशित     
अर्थमन्त्रीको बचाउ गर्दै विनोद चौधरीले भने– ड्राइभर बदल्दैमा गाडीको रफ्तार बढ्दैन

काठमाडौं , ५ जेठ/सरकारले प्रतिनिधिसभामा प्रस्तुत गरेको बजेटको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै नेपाली कांग्रेसका सांसद विनोद चौधरीले वर्तमान सरकारको बचाउ गरेका छन्। उनले विगतका सरकारले गरेको गल्तीका कारण अर्थतन्त्रमा समस्या आएको धारणा व्यक्त गरे।

विगतमा समस्या समाधानमा ध्यान नदिइएको भन्दै उनले ड्राइभर बदल्दैमा गाडीको रफ्तार नबढ्ने टिप्पणी गरे। बजेट आउने समयमा बाहेक अन्य समयमा अर्थतन्त्रबारे कुनै पनि छलफल नै नहुने भन्दै उनले आपति जनाए। 

हालसम्म पुँजीगत खर्च ३१ प्रतिशतमात्रै भएको भन्दै उनले यसको दोष वर्तमान सरकार र अर्थमन्त्रीको मात्रै नभएको बताए। ‘विभिन्न कारणले थोत्रो भइसकेको गाडीको ड्राइभर बदल्दैमा गाडीको रफतार बढ्दैन। देशको अर्थतन्त्रको व्यथा पनि यस्तै छ। अर्थतन्त्रका विषयमा वर्तमान सरकार र अर्थमन्त्रीलाई दोष दिनुको कुनै पनि अर्थ छैन। यो सरकारले अहिलेसम्म बजेट समेत पेस गर्न पाएको छैन,’ उनले भने।

युवालाई लक्षित गरेर आगामी बजेट ल्याउनुपर्नेमा उनले जोड दिए। नेपालमा अवसर नपाएर युवाहरु विदेशिने क्रम बढिरहेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताए। युवामा रहेको निराशालाई आशामा बदल्ने गरी बजेट ल्याउनका लागि उनले सरकारलाई सुझाव दिए। नेपालमा अवसर नपाएर उच्च शिक्षाका लागि भन्दै लाखौं विद्यार्थीहरु विदेशी राजदूतावास धाउने गरेको उनले बताए।

‘पछिल्लो समय युवामा निराशा उत्पन्न भएको छ। हामीले ४३ अर्ब रुपैयाँ नेपाली विद्यार्थीको पढाइका लागि विदेश पठाएको आकडा प्राप्त भएको छ। राजदूतावासहरुमा नेपाली विद्यार्थीको लाइन लामो छ। विदेश जाने विद्यार्थीकै कारण सम्पूर्ण उडान भरिएका छन्,’ चौधरीले भने।

प्रधानमन्त्री रोजगार योजना, राष्ट्रिय योजना आयोग, विश्व बैकले दिने विभिन्न सहयोग परिचालन गरेर भए पनि नेपालमा रोजगारी सिर्जना हुनुपर्ने र आगामी बजेटमा युवा लक्षित कार्यक्रम प्राथमिकतामा राख्नुपर्नेमा चौधरीले जोड दिए। 

विगतको सरकारले रोजगारीका लागि सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीतामाथि उनले प्रश्न उठाए। ‘प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ओली सरकारले ७ लाखलाई रोजगारी दिने घोषणा गरे पनि ७० हजारलाई पनि दिन सकेन। ७० युवालाई जम्मा ११ दिन मात्रै रोजगारी दिइयो। त्यो पनि कसलाई दिइयो भन्नै परेन,’ चौधरीको भनाइ थियो।

यसैगरी उनले नेपालमा शिक्षा क्षेत्रमा खुला तथा उदारवादी नीति अवलम्वन गर्दै विदेशीलाई नेपालमा नै अध्ययनका लागि ल्याउनुपर्नेमा जोड दिए।