जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार ६० किलो सुन प्रकरणको मुद्दा दर्ता गर्ने भएको छ।
आइतबार कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो।
यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन्। सिआइबीले उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ।
अहिले पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन्।
चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। हङकङबाट छुटेको क्याथे प्यासिफिक एयरलाइन्सबाट उक्त सामान ल्याइएको थियो। सुन रहेको सुराकको आधारमा खटिएको विभागको टोलीले भन्सार जाँच पास भएर छुटेको ब्रेक शु बरामद गरेको थियो। उक्त ब्रेक शुभित्र ६० किलो ७१६ ग्राम बरामद भएको हो।दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको थियो।
यही प्रालिले बरामद नगरिएका ३०२ किलो सुन पनि तस्करी गरेको सिआइबीको अनुमान छ। त्यसैको आधारमा सिआइबीले कुल ३६२.७७८ किलोग्राम सुनको बिगो मागदाबी गरेको छ। सिआइबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरेको हो।
सुरूमा विभागले अनुसन्धान गरेपनि पछि अन्तर्देशीय अपराध र संगठित अपराध देखिएको भन्दै अनुसन्धान गर्न सिआइबीलाई हस्तान्तरण गरिएको थियो। ३५ दिन अनुसन्धान गरेपछि सिआइबीले गत बुधबार सरकारी वकिल कार्यालयमा पेश गरेको थियो।
केही दिनको अभियोजनपछि सरकारी वकिलले आइतबार मुद्दा दर्ता गर्न लागेको हो। सिआइबीले यस प्रकरणमा संगठित निवारण ऐन २०७०, भन्सार ऐन २०६४ को दफा ५७ (१) (घ) को १ (ख), नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ र मुलुकी अपराध संहिता २०७४ को दफा ४३ को एकीकृत कसुरमा मुद्दा चलाउन राय दिएको थियो।
नेपाल नागरिकता ऐन २०६३, राहदानी ऐन २०७६ र अध्यागमन ऐन २०४९ अनुसार थप अनुसन्धानको लागि सम्बन्धित निकायलाई सिफारिस गर्न पनि सिआइबीले राय दिएको थियो।
सिआइबीले हाललाई रेडी ट्रेड कम्पनीबाट मात्रै तस्करी भएको घटनालाई अनुसन्धान गरेको बताएको छ। यस प्रकरणमा चिनियाँ समूहले नै नेपाल हुँदै भारतसम्म तस्करी गर्नेगरेको सिआइबीको निष्कर्ष छ। अनुसन्धानको क्रममा चिनियाँ समूले रेडी ट्रेड प्रालिसँगै सात वटा कम्पनी खडा गरेको खुलेको थियो।
अन्य कम्पनीहरूबाट भएका तस्करीबारे अनुसन्धान गर्न बाँकी नै रहेको सिआइबीले जनाएको छ। यो मुद्दा बाहेकपनि सिआइबीले अनुसन्धान जारी नै राख्ने बताएको थियो।