गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : १५ जनासँग सोधपुछ, तर प्रहरीले पाएन कुनै क्लु


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
गैह्रीगाउँ सामूहिक हत्या प्रकरण : १५ जनासँग सोधपुछ, तर प्रहरीले पाएन कुनै क्लु

रगत लागेका कपडासहित पक्राउ परेका दीपेन्द्र राई को हुन् ?

काठमाडौँ । गत शुक्रबार राति तीनकुने स्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार हालसम्म करिब १५ जनासँग सोधपुछ गरिएको हो ।

गत शुक्रबार राती अन्दाजी ११ः५५ बजे तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।

हत्यामा धारिलो हतियार प्रहार भएको पाइएको छ । प्रहरीले हत्याका क्रममा प्रयोग भएको धारिलो हतियार समेत बरामद गरिसकेको बताएको छ ।

शुक्रबार राती घटना भई सोही रात नै दीपेन्द्र राई नियन्त्रणमा रहेको भए पनि घटनामा उनको संलग्नता भएको वा नभएको बारे कुनै जानकारी छैन । प्रहरीसँगको प्रारम्भिक सोधपुछमा दीपेन्द्रले घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन् । घटना लगत्तै प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र अत्यधिक नसामा रहेका थिए । हत्याका विषयमा आफूलाई केही थाहा नभएको र रगत लतपतिएको अवस्थामा देखेपछि आफू प्रहरी कार्यालयमा आएको दीपेन्द्रले बयान दिएका छन् ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाबारे अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी हरि खतिवडा, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका इन्स्पेक्टर वीरेन्द्र केसी सदस्य रहेका छन् ।

शनिवार नै गठन भएको समितिले अनुसन्धान गरिरहेको भए पनि घटनामा संलग्नताको अन्य क्लु भेटिएको छैन । अनुसन्धान समितिका संयोजक राठौर भन्छन्, ‘हालसम्म करिब १५ जनासँग सोधपुछ गरिएको छ । तर घटनामा संलग्न व्यक्ति को हुन् भनेर अहिले नै भन्न सकिने अवस्था छैन । हामी अनुसन्धान गरिरहेका छौँ ।’

पक्राउ गरिएका व्यक्ति दीपेन्द्र राईको भूमिका के हो भन्ने प्रश्नमा एसएसपी राठौरले अहिले नै केही भन्न नसकिने बताए । उनले भने, ‘दीपेन्द्र राई प्रहरी नियन्त्रणमै छन् । तर उनले पनि घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छैनन् । उनी नसामा रहेका थिए र घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन् । यो प्रारम्भिक सोधपुछका क्रममा भनेका कुरा हुन्, हामी थप अनुसन्धान गरिरहेका छौँ ।’

को हुन्, नियन्त्रणमा रहेका दीपेन्द्र राई

प्रहरी नियन्त्रणमा रहेका दीपेन्द्र राई र हत्या गरिएकामध्ये नवीन राई नातामा दाजुभाइ हुन् । हत्या गरिएका नवीन नियन्त्रणमा रहेका दीपेन्द्रका ठुलो बुवाका छोरा हुन् । नवीनका बुवा पहिले सोही सःमिलमा काम गर्थे भने अहिले नवीन त्यहाँ काम गर्न थालेका थिए । दीपेन्द्र भने अन्यत्रै काम गर्ने भए पनि नवीनसँग सोही सःमिलमा बस्ने गर्थे ।

घटना भएको दिन दीपेन्द्र दिनभर घुमेर राती मदिराको नसामा नवीन राई रहेको कोठामा पुगेको बुझिएको छ । मदिरामा लठ्ठ रहेका दीपेन्द्रले नै नवीन लगायतको हत्या गरेका हुन् कि होइनन् भनेर अहिले नै भन्न नसकिने प्रहरीले जनाएको छ । प्रहरीसँगको प्रारम्भिक बयानमा दीपेन्द्रले हत्याको आरोप अस्वीकार गरेका छन् भने घटना कुन बेला कसरी भयो, आफूलाई केही थाहा नभएको बताएका छन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको र हत्यारा चाँडै सार्वजनिक हुने प्रहरीले दाबी गरेको छ ।