बेवारिसे चौपायाको उद्धारमा खटेकी मनकारी मन्जु


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
बेवारिसे चौपायाको उद्धारमा खटेकी मनकारी मन्जु

अहिलेको व्यस्त मान्छेलाई आफ्नै छोराछोरी स्याहार्न पनि समय नपुग्ने भएको छ, कसले स्याहारोस् सडकका छाडा गाईगोरू!

यस्तो सोच्नु सामान्य कुरा हो तर कहिलेकाहीँ त यही पनि गलत ठहरिँदो रहेछ। यसको प्रमाण हुन् सुदूरपश्चिम कञ्चनपुरको भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरकी मञ्जु शाही। उनले सडकमा छाडिएका जनवारको उद्धार गर्न थालेको र तिनको अधिकारको आवाज उठाएको ११ वर्ष भयो।

पहिले त उनी स्कुल शिक्षक थिइन्, ३२ वर्ष पढाइन्।

उनले स्कुल छाडेकी थिइनन्। एक दिन स्कुलको चउरनजिकै गाईको एउटा बाछी बिरामी अवस्थामा पल्टेको देखिन्। बाछीको शरीरबाट वाफ आउँदै थियो। नजिकै गएर हेरिन्। शरीरबाट रगत बगेको रहेछ, त्यसैको वाफ रहेछ। पेटमा निकै ठूलो घाउ रहेछ। मञ्जुको मन करुणाले भरियो। स्कुलमा भएको प्राथमिक उपचार बाकस ल्याएर बाछीको घाउ सफा गरिन्। त्यहाँ भएको औषधि लगाइदिइन्। केही बेरपछि अलिक राहत मानेर बाछी उठ्यो र त्यहाँबाट हिँड्यो।

भोलिपल्ट पनि मञ्जुले त्यो बाछी त्यही ठाउँमा देखिन्। फेरि घाउ सफा गरेर औषधि लगाइदिइन्। केही दिन यस्तै चल्यो, बाछीको घाउ निको भयो।

उनले महेन्द्रनगर बसपार्कमा घाइते अवस्थामा अर्को बाछी देखिन्। त्यसको पनि घाउ सफा गरेर औषधि लगाइदिन्। त्यो बाछी पनि केही दिनमा निको भयो।

मञ्जुले ती दुईवटा बाछीको उद्धार गरेको आसपासका मानिसले देखेका थिए। केही दिनपछि मञ्जुलाई एउटा छाडा गाई घाइते भएको भनेर फोन आयो। उनी गाई भएको ठाउँमा पुगिन्। उपचार र खानाको प्रबन्ध गरिन्।

उनलाई फोन आउने क्रम बढ्यो। उनी घाइते र भोका जनावरको उद्धार, खाना र उपचारको प्रबन्ध मिलाउँथिन्। घाइते चौपायाको घाउ सफा गर्थिन्, खाना दिन्थिन्। उनले त्यसो गरेको हर्न मान्छेहरूको घेरा लाग्थ्यो।

घाउ सफा गर्न र औषधि लगाइदिन प्रयास गर्दा भाग्न खोज्ने चौपाया समाउन मद्दत गर्ने कोहीकोही हुन्थे। यसरी सकेको उपचार गरे पनि ती चौपाया सडकमै हुन्थे। सडकका यस्ता छाडा चौपायाले मान्छेलाई हैरान पारेका हुन्छन्। खेतबारीमा पसेर बाली खाइदिन्छन्।  मञ्जु गरेको देखेर कहिलेकाहीँ त मान्छेहरू रिसाउँथे पनि।

उनले भनिन्, ‘यी छाडा गाईबस्तुले अन्नबाली खाएर हैरान पारेका छन्। उपचार गरेर किन निको बनाउनु भनेर गाली गर्ने पनि हुन्थे।’

यसरी एक्लै बाटोमा चौपायाको उद्धार र उपचार गर्दागर्दै चार वर्ष बित्यो। काम गर्न पैसा पनि खर्च हुन्थ्यो। औषधि किन्नु पर्थ्यो। कहिलेकाहीँ डाक्टरको सहयोग पनि लिनु पर्थ्यो। सात वर्षअघि एक दिन उनले घाइते गाईको उद्धार र उपचार गरेको फोटो सामाजिक सञ्जाल फेस बुकमा राखिन्। त्यसपछि उनले त्यस्ता फोटा फेसबुकमा राख्ने कामलाई निरन्तरता दिइन्। यसरी फोटो सार्वजनिक गर्न पनि एक साथीले सल्लाह दिएकी थिइन्।

‘एक जना साथीले तपाईंको पैसा पनि खर्च भइरहेको छ, सहयोग गर्ने मान्छे निस्कलान् भन्ने सल्लाह दिनुभयो। उहाँको कुरा ठीक लागेर फेसबुकमा फोटो राख्न थालेँ,’ उनले भनिन्।

साँच्चै, साथीले भनेजस्तै भयो। मञ्जुले स्कुलमा पढाएकी विद्यार्थी पवित्रा अवस्थीले डेनमार्कबाट पाँच हजार रूपैँया पठाइन्। त्यो पैसा औषधि किन्न काम लाग्यो। उनले तीन पटकमा १५ हजार रूपैयाँ पठाइन्।

सहयोग गर्ने अरू पनि निस्किए। कसैले पैसा त कसैले औषधि दिए। मञ्जुले भनिन्, ‘कसैले म पनि सेवा गर्छु भनेर काम सघाउन थाले। कसैले पैसा दिए। काममा साथ दिनेहरू बढ्न थाले।’

पाँच वर्षअघि महेन्द्रनगरकै विष्णु पनेरू मञ्जुका सहकर्मी भएर सहभागी भए। बिष्णु पर्यटक पथप्रदर्शक हुन्। उनी फेसबुकमा फोटा देखेरै मञ्जुको कामबाट प्रभावित भएका थिए। मञ्जु र बिष्णु मिलेर अघि बढे। उनीहरूले ‘आइ केयर यू’ नाम राखेर एउटा संस्था दर्ता गराए। संस्थाको नाममा फेसबुक पेज बनाए, पेजमा गतिविधिका फोटाहरू राख्न र सन्देश लेख्न थाले।

मञ्जुले घाइते जनवारप्रतिको करुणाबाट थालेको काम संस्थागत भयो। महेन्द्रनगरका अन्य व्यक्तिहरूले पनि सहयोग गर्न थाले। संस्थामा स्वयंसेवक भएर काम गर्नेहरू आए। हाल ‘आई केयर यू’ बेवारिसे जनावरका लागि स्वयंसेवकहरूको संस्था भएको छ।

‘यति बेला पचास जनाको टिम भएको छ। यो टिमले घाइते जनावरको उद्धार र उपचार गर्छ,’ मञ्जुले भनिन्, ‘म एक्लैले अचानक सुरू गरेको काममा अहिले ठूलो टिम छ। मलाई निकै खुसी लागेको छ।’

संस्थाले छाडा पशुचौपाया, कुकुर र बिरालाको उपचार गर्छ। कहिलेकाहीँ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका घाइते बाँदर, हरिण, सर्पको पनि उद्धार र उपचार गर्छ। काम स्वयंसेवाकै रूपमा हुन्छ। जनावरको चोटपटक साधारण भए जहाँ छ त्यही पुगेर स्वयंसेवकहरूले उपचार गर्छन्। गम्भीर चोटपटक र बिरामी भए संस्थाको उपचार केन्द्रमा ल्याउँछन् र सेवा गर्छन्।

कतिपयले जन्मदिन, विवाहउत्सव र यस्तै महत्त्वपूर्ण दिनको अवसर पारेर संस्थालाई सहयोग गर्छन्। सहयोगीहरूले दिएको पैसा औषधि र पौष्टिक आहार किन्नमा खर्च हुन्छ। कसैले आफैँ औषधि किनेर पनि दिन्छन्।

आई केयर यू टिमले घाइते तथा बिरामी अवस्थाका छाडा गाईगोरु, बाछाबाछी, सडक कुकुर र बिराला गरी धेरै जनावरको उद्धार उपचार गरेको छ।

मञ्जु भन्छिन्, ‘घाइते भएका धेरै छाडा पशुचौपाय र सडक कुकुरको उपचार गरेका छौँ। तिनलाई खाना दिएर बचाएका छौं। हाम्रो काम निरन्तर छ। सहयोगीहरूको संख्या बढ्दैछ।’

स्वयंसेवीहरूले बाछाबाछी र कुकुरका छाउराछाउरी नुहाइदिएर सफा पनि पार्छन्। यस्ता जनावर घर लगेर पाल्न आह्वान पनि गर्छन्।

‘कसैले पाल्न चाहनुहुन्छ कि भनेर फेसबुकमा कुकुरका बच्चा, बाछाबाछीका फोटा राख्छौं, पाल्न चाहनुहुन्छ भन्ने सम्पर्क गर्नुहोस् भन्छौँ,’ उनी भन्छिन्, ‘आई केयर यू टिमका साथीहरूले पनि घाइते जनावर घरमा लगेर पाल्नु भएको छ।’

हाल मञ्जुले पाँच वटा सडक कुकुर घर लगेर पालेकी छिन्। केही बिराला पनि छन्। घाइते अवस्थामा सडकबाटै लगेर एउटा गोरू पनि पालेकी छन्।सडकमा छाडा गाईगोरू र कुकुरका कारण सवारी दुर्घटनाको जोखिम छ। आई केयर यूले यस्तो जोखिम न्यूनीकरणका लागि तिनको घाँटीमा ‘रेडियम बेल्ट’ बाँधिदिने काम पनि गर्छ। घाँटीमा बाँधिएको रेडियम बेल्ट रातमा चम्किने भएकाले चालकले टाढैबाट देख्ने हुन्छ र सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुग्छ। विष्णुका अनुसार यस्तो बेल्ट पनि जनावरको घाँटीबाट चोरी हुने गरेको छ।

आई केयर यूले सरकारी निकायबाट आर्थिक वा प्राविधिक सहयोग पाएको छैन। बिष्णु भन्छन्, ‘संघ, प्रदेश र स्थानीय तहले छाडा पशुचौपायका विषयमा खासै चासो दिएका छैनन्। काम गर्ने संस्थालाई सहयोग पनि गरेका छैनन्।’

छाडा पशुचौपाया व्यवस्थापनका विषयमा स्थानीय तहले ऐन बनाएर दीर्घकालीन रूपमा काम गर्नुपर्ने बिष्णुको भनाइ छ।

‘घरबाट जनावर सडकमा छाड्न नदिन राज्यले कानून बनाउनुपर्छ। जनचेतना जगाउनुपर्छ,’ बिष्णु भन्छन्, ‘गाईगोरूले दुःख पाए। जिम्मेवारी भएन अधिकार खोज्नेले कर्तव्य थाहा नपाएपछि यस्तो समस्या भयो।’

घरमा पालेका जनावरको उपयोगिता सकिएपछि छाडा छाडिन्छन्। त्यस्ता जनावर सडकमा पुग्छन्। दूध दिन छाडेको गाई, जोत्न नसक्ने भएको गोरू, बुढो भएको कुकुर जीवनको उत्तरार्द्धमा सडकमा पुग्छन्।

‘मान्छेमा जनावरप्रति प्रेम घटेको छ। गाईको दुध बेचेर परिवार पालेको पनि बिर्सने गरेको छ,’ मञ्जु भन्छिन्, ‘थोरै ठाउँमा बसोबास हुनेले राख्ने ठाउँ नभएर पनि दूध नदिने गाई सडकमा छाड्ने गरेका छन्।’

खेत जोत्न चलन कम हुँदै गएपछि पनि सडकमा गोरूको संख्या बढेको छ। खेत जोत्न आधुनिक उपकरणको प्रयोग बढेको छ।

विष्णुका अनुसार सडकमा छाडा पशुचौपाया हजारौंको संख्यामा छन्। तीमध्ये कतिपय घाइते र बिमारी छन्। देशभर फैलिएको लम्पी स्किन रोगबाट पनि ग्रसित छन्। आई केयर यू टिमले हाल कञ्चनपुरका सडकमा रहेका छाडा गाईगोरूलाई लम्पी स्किन विरूद्ध खोप लगाउने काम गर्दैछ। टिमको कामलाई धेरैले राम्रो भनेका छन्।

‘परोपकारी काम भएको छ। मान्छेले दुध खाएर बुढो गाई सडकमा छाडेका छन्। सडकका जनावर भोकतिर्खाले भौंतारिएका छन्। बिमारी पर्छन्, घाइते हुन्छन्,’ महेन्द्रनगरका बासिन्दा धनीराम भट्ट भन्छन्, ‘यस्ता जनावरको उद्धार गर्नु जस्तो राम्रो काम के हुन्छ र! अहिलेको मान्छेले मान्छेलाई त बचाउन चाहँदैन, यहाँ त जनावर बचाउने काम भएको छ।’

घरपालुवा जनावर सडकमा छोड्न नपाउने गरी कडा कानून ल्याउनुपर्ने उनको भनाइ छ। भीमदत्त–नगरपालिकाका उपप्रमुख नीलम लेखक जोशीले आई केयर यू टिमले परोपकारी काम गरेको बताइन्। छाडा पशुचौपायाको व्यवस्थापनमा नगरपालिकाले सक्दो पहल गरेको पनि उनले बताइन्।