तुलसीपुरका कर अधिकृत सापकोटा २६ लाख नगदसहित पक्राउ
नेपालगञ्ज विमानस्थलबाट सोमबार बिहान प्रकाउ परेका कर अधिकृत खगेन्द्र सापकोटासँग आएका अर्का कर्मचारी फरार भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार दीपक पौडेल नामका कर्मचारी फरार भएका हुन्।
‘विमानस्थल भित्र सुरक्षाकर्मीले चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका अर्का कर्मचारी पौडेल सुटुक्क भाग्न सफल भएको भन्ने छ,’ डिएसपी डाँगीले भने, ‘पक्राउ परेका व्यक्तिलाई अख्तियारको जिम्मा लगाइएको हुँदा थप अनुसन्धान उतैबाट हुने आशा छ।’
फरार कर्मचारी पौडेलको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरका कर अधिकृत सापकोटालाई प्रहरीले नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ गरेको थियो।
नेपालगञ्जबाट श्री एयरलाइन्सको जहाजमार्फत् काठमाडौं आउन लागेका उनलाई सोमबार बिहान साढे ७ बजे विमानस्थलबाट पक्राउ गरिएको बाँकेका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए।
विमानस्थलमा चेकजाँचको क्रममा उनको साथबाट स्रोत नखुलेको २६ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले जानकारी दिए।
उनलाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।