राजधानी लाइभ, काठमाडौं ।
सुखेतको वीरेन्द्रनगरस्थित एरि चोकमा रहेको एनआइसी एसिया बैंकको शाखाले ग्राहकलाई झुक्क्याएर खाता खोल्न लगाई ठगी गरेको भन्दै राष्ट्र बैंकमा उजुरी दर्ता भएको छ ।
बैंकको उक्त शाखाले स्थानीयवासी अमर चौधरी र गणेश थारुलाई लिँदै नलिएको ऋणको किस्ता तिर्न भन्दै तोकता गरेपछि उनीहरूको तर्फबाट अभियन्ता नन्दराज उपाध्यायले सोमबार राष्ट्र बैंकमा एनआइसी एसिया बैंक खारेजीको माग गर्दै उजुरी दर्ता गरेका हुन् ।
उक्त उजुरीमा पीडित चौधरी र थारुलाई जबरजस्ती खाता खोल्न लगाई ग्राहक बनाएर झण्डै २१ लाख रुपैयाँको ऋणको भारी बोकाइएको जस्तो गम्भीर ठगी गरेकाले उक्त बैंकलाई बन्द गर्न माग गरेका छन्।
जबरजस्ती खाता खोल्न लगाई ऋण नै नलिएका व्यक्तिलाई झण्डै २१ लाख ऋण ग्राहक बैंकले खातामा देखाएको पाइएको छ ।
बैंकका अधिकारीले तपाईँहरूलाई पैसा हालिदिन्छौँ खाता खोल्नुहोस् भन्ने प्रलोभन देखाई सुर्खेतका अमर चौधरी र गणेश थारुमाथि गम्भीर प्रकृतिको ठगी गरेकाले कारबाही माग गरिएको उजुरीमा उल्लेख छ ।
उनीहरूलाई झुक्क्याएर खाता खोलेको तीन महिनापछि अमरको खातामा ९ लाख ५० हजार रुपैयाँ र गणेशको खातामा ११ लाख ४० हजार रुपैयाँ ऋण निकालिएको देखाएको ब्यहोरा समेत उजुरीमा उल्लेख छ ।
यस घटनाबारे एनआइसी एसिया बैंकलाई पटक पटक सम्पर्क गर्दा समेत फोन उठेन । राजधानी लाइभले बैंकका सूचना अधिकारी सुधिरनाथ पाण्डेलाई सम्पर्क गर्दा उनी सम्पर्कमै आएनन् ।
एनआइसी एसिया बैंक पटक पटक विवादमा आइरहने बैंक अन्तर्गत पर्दछ । बैंक पनि साथी पनि भन्ने स्लोगन राखेर एनआइसी एसिया बैंकले आम जनतामाथि ज्यादती गरेको समाचार नौलो होइन । उक्त बैंकले समय अगावै सम्पत्ति लिलामी लगायतका अराजक गतिविधि गर्दै आइरहेको देखिन्छ ।
बैंकले आफ्नो ऋण असुल्न ग्राहकको ढोकामै सेक्युरिटी गार्ड राख्ने लगायतका गतिविधि समेत बैंकको नियमित धन्दा जस्तै बन्ने गरेको छ ।