विद्युतीय व्यापार व्यवस्थापनको प्रस्तावित विधेयकमा फेसबुक, टिकटक, इन्स्टाग्रामजस्ता सामाजिकसञ्जालमार्फत व्यक्तिगत तहमा बिनादर्ता वस्तु तथा सेवा खरिदबिक्री गर्न नपाइने व्यवस्था
काठमाडौँ — यदि तपाईं आफ्नो मोटरसाइकल बेच्ने सोचमा हुनुभयो । त्यसका लागि फेसबुक मार्केटप्लेसमा मोटरसाइकलको फोटोसहितको विवरण राख्नुभयो । कसैले किन्न रुचि देखायो र आपसी सहमतिमा खरिदबिक्री भयो । तर, हाल छलफलका क्रममा रहेको ई–कमर्ससम्बन्धीको विधेयक जस्तातस्तै पारित भई कानुन बनेमा सामाजिक सञ्जालबाट गरिने यस्ता खरिदबिक्री अवैध ठहरिनेछन्, तपाईंमाथि कारबाही हुन सक्छ । हाल फेसबुकलगायतका सामाजिक सञ्जालको प्रयोग गरी यस्तो खरिदबिक्री र लेनदेन गर्नेको संख्या भने धेरै छ ।
‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ को दफा ३, ४ र ५ मा विद्युतीय व्यापार सञ्चालन गर्न प्रचलित कानुनबमोजिम दर्ता हुनुपर्ने, वेबसाइट, एपजस्ता आफ्नै विद्युतीय प्लाटफर्म बनाउनुपर्ने र उक्त प्लाटफर्मलाई सरकारले स्थापना गर्ने विद्युतीय व्यापार पोर्टलमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । त्यसो नगरे १० हजारदेखि ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने विधेयकमा उल्लेख छ । उद्यमी व्यवसायीहरूले सामाजिक सञ्जाललाई पनि विद्युतीय प्लाटफर्मअन्तर्गत राख्न माग गर्दै आएका छन् । तर, सरकारले फेसबुक मार्केटप्लेसलगायत सञ्जालहरू व्यापार गर्ने प्लाटफर्म नभएको भन्दै त्यसलाई समेट्न खोजेको छैन ।