काठमाडौँ — काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । भाइरल संक्रमणपछि उपचारका क्रममा वडाध्यक्ष रिजालको बिहीबार निधन भएको वडा नम्बर १६ का सचिव प्रकाश खड्काले इकान्तिपुरलाई जानकारी दिए ।
रिजाल भाइरल संक्रमणपछि गत शुक्रबार धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकले पनि रिजालको निधनको पुष्टि गरेका छन् ।
रिजालको उपचारमा संलग्न चिकित्सकका अनुसार भाइरल संक्रमणका कारण जटिलता बढ्दै जाँदा उनको निधन भएको हो । जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस पनि गरिएको थियो । चिकित्सकका अनुसार उनलाई कुन प्रकारको भाइरसको संक्रमण भएको हो भन्ने यकिन भने हुन सकेन । ‘भाइरस लाखौं किसिमको हुन्छ । त्यसैले कुन भाइरस हो भनेर जाँच गर्नै सकिन्न । हामीले ब्याक्टेरियल इन्फेक्सन भने होइन भन्न सक्छौं किनभने त्यसका लागि गरिएको सबै परीक्षण नेगेटिभ आएको छ,’ उपचारमा संलग्न चिकित्सकले भने ।
चिकित्सकका अनुसार सुरुमा अस्पताल आउँदा ठीकै जस्तो देखिएका रिजाललाई त्यसैदिन राति आईसीयूमा राखेर उपचार सुरू गर्नुपरेको थियो । ‘सुरुमा १-२ लिटर मात्रै अक्सिजन चाहिएको उहाँलाई राति ६० लिटरसम्म दिनुपर्ने अवस्था आयो । त्यसपछि भेन्टिलेटरमै राखेर उपचार सुरु गर्यौँ,’ उनले भने, ‘भाइरल इन्फेक्सन नियन्त्रणमा आउन दुई हप्ता सम्मको समय लाग्नसक्छ । तर उनको अवस्था छिटोछिटो बिग्रियो । भाइरल संक्रमणमा हुने यस्तै हो ।’
चिकित्सकका अनुसार बुधबार दिउँसो स्वास्थ्यमा केही सुधार भएको जस्तो देखिए पनि बेलुकासम्ममा फेरि जटिलता बढ्न सुरु गरेर रक्तचापलाई सामान्य बनाउनकै लागि कठिन भएको थियो ।
कांग्रेसबाट उम्मेदवार बनेका रिजाल गत स्थानीय तह निर्वाचनमा एमालेका लक्ष्मीरत्न तुलाधरलाई हराउँदै वडाध्यक्षमा विजयी भएका थिए । काठमाडौं क्षेत्र नम्बर-७ का सभापतिसमेत रहेका रिजाल दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भएका थिए ।
धादिङको खनियाँबासमा जन्मिएका रिजालले लैनचौरस्थित शान्ति विद्या गृहबाट एसएलएसी उत्तीर्ण गरेका थिए । अहिले भने उनको काठमाडौं-१६, बालाजुमा बसोबास रहेको थियो । रिजालका श्रीमती र २ छोराहरू रहेका छन् ।