काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकाको उपमेयर र वडा नं. १ मा पुनः मतगणना गर्न माग गरेको छ।
रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले नेतृत्व गरेको उक्त पार्टीका प्रवक्ता दामोदार पण्डितले निर्वाचन आयोगको कार्यालय कैलालीमा निवेदन दिएर पुनः मतगणनाको माग गरेका हुन्।
‘टीकापुर नगरपालिका १ को वडाध्यक्ष र उपप्रमुखमा खसेको मतहरूको पुनः मतगणना गरिदिन हुन निवेदन पेश गर्दछौं,’ निवेदनमा भनिएको छ।
मेयरमा ठूलो मतान्तरले जितेको नागरिक उन्मुक्ति पार्टीले उपमेयरमा हार बेहोरेको छ। उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार खडकबहादुर शाहले ७ हजार ९५५ मत ल्याएर विजयी हुँदा नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्वकर्माले ७ हजार ८०२ मत प्राप्त गरेकी छन्।
नागरिक उन्मुक्ति पार्टी उपमेयरमा १५३ मतको अन्तरले पराजित भएको हो।
वडा नम्बर १ मा पनि एमाले उम्मेदवारसँग नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ३ मतले पराजित भएका छन्। एमालेका मोहन लुहार विकले २ हजार ४९८ मत प्राप्त गर्दा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण चौधरीले २ हजार ४९५ मत प्राप्त गरे।