नि:शुल्क डायलाइसिस गर्न शुल्क तिरे बराबर खर्च गर्न बाध्य बिरामी


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
नि:शुल्क डायलाइसिस गर्न शुल्क तिरे बराबर खर्च गर्न बाध्य बिरामी

कपिलवस्तुको वाणगंगा जितपुरका मोती आचार्य हप्तामा तीनदिन बुटवल आउँछन्। मिर्गौला डायलासिसका लागि उनी यसरी धाउन थालेको ९ वर्ष भयो। जितपुरकै रूक्मा विक पनि घरदेखि डेढ किलोमिटर नजिकै रहेको कपिलवस्तु सामुदायिक डायलासिस सेन्टर छोडेर ३५ किलोमिटर टाढा रहेको बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउन थालेको तीन वर्ष भयो।

‘डायलाइसिस गराउने दिन बिहान सातबजे घरबाट हिँड्नुपर्छ ९ बजे अस्पताल आइपुगे पनि डायलाईसिस गरेर साँझ ६ बजेमात्रै घर पुग्छु,’ रूक्मा भन्छिन्, ‘तीनवर्ष भयो हप्ताको ३ दिन यसरी नै वित्छ।’

उनीहरू जस्ता अरू पनि मिर्गौलाका बिरामी कपिलवस्तुबाट गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा डायलाइसिसका लागि आउने गरेका छन्। किनभने यहाँ नि: शुल्क डायलाइसिस हुन्छ।

वाणगंगा जितपुरमै कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर स्थापना भए पनि स्वास्थ्य सेवा विभागले सूचीकृत गर्न ढिलाइ गर्दा बिरामीहरू घन्टौंको यात्रा गरेर डायलाइसिसका लागि बुटवल आउन बाध्य छन्।

नि:शुल्क डायलाइसिसका लागि आफ्नो पैसा खर्च गरेर आउनुपरेकाले बिरामी हैरान देखिन्छन्। सरकारले दिएको नि:शुल्क डायलाइसिसका लागि टाढादेखि आउँदाको खर्च उस्तै हुने रूक्माले बताइन्।

वाणगंगाबाटै बुटवलमा डायलाइसिस गराउन आउने दयाराम न्यौपानेले पनि नि:शुल्क उपचार खोज्दै आउँदा शुल्क तिरे बराबर खर्च हुने बताउँछन्।

‘सरकारले नि:शुल्क सेवा दिएको त छ तर यही सेवा लिन आउँदा र जाँदा नै डेढ दुई हजार एक दिनमै खर्च हुन्छ,’ उनले भने। हप्ताको तीनपटक मिर्गौला डायलाइसिस गराउँदै आएका न्यौपानेले दुईवर्ष बुटवल आउने र जाने गरेरै बितेको बताए।

पश्चिम क्षेत्रबाट बुटवल आउने बिरामीको सहज सेवाको लागि भन्दै  कपिलवस्तुमै डायलाइसिस सेन्टर स्थापना गरिएको थियो। बिरामी पनि घर नजिकै सामुदायिक डायलाइसिस सेन्टर स्थापना हुने भनेपछि घरनजिकै सेवा लिन पाउने भन्दै खुसी भएका थिए।

‘घर नजिकै डायलाइसिस सेन्टर बन्दै छ भन्दा धेरै खुसी लागेको थियो, यहि डायलाइसिस गराइदिनुस् भनेर जाँदा नि:शुल्कको लागि सूचीकृत भएको छैन भनेर बुटवल पठाइदिनुभयो,’ मोतिले भने, ‘बुटवल आए डायलाइसिसको पैसा लाग्दैन त्यहाँ गराउँदा एकपटकको दुई हजार पाँच सय रुपैयाँ सय लाग्छ।’

सामुदायिक डायलाइसिस सेन्टर स्थापना सुरू भएपछि गुल्मी अर्घाखाँची समेत कतिपय बिरामीहरू कपिलवस्तुमा रहेका आफन्तकहाँ बस्न सुरू गरेका थिए।

गुल्मीका नरबहादुर विक बाणगंगा बसेर बुटवलमा डायलाइसिस गराइरहेका छन्। डेढ वर्षदेखि डायलाइसिस गर्न सुरू गरेका विक कपिलवस्तु सामुदायिक डायलाइसिस सेन्टर स्थापना हुने भनेपछि बाणगंगा गएका थिए।

‘जितपुरमै डायलाइसिस सेन्टर स्थापना भएपछि बुटवलमा डेरामा बस्नुभन्दा बाणगंगामा छोरीको घर भएकोले उतै बस्छु भनेर गएको थिएँ,’ अहिले उति टाढाबाट आइरहनु परेको छ,’ उनले भने।

स्वास्थ्य विभागले सूचीकृत नगर्दा नि:शुल्क सेवा सञ्चालन हुन नसकेको अस्पतालले जनाएको छ। रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको सहयोगमा स्थापना गरिएको डायलाइसिस सेन्टरमा ६ महिना अघि नै १० वटा मेशिन जडान भइसके पनि विभागमा सूचिकृत नहुँदा नि:शुल्क सेवा संचालन हुन नसकेको अस्पतालले जनाएको छ। अस्पतालका अध्यक्ष एजाज आलमले डायलाइसिस सेन्टर संचालनका लागि लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयबाट अनुमति पाए पनि स्वास्थ्य सेवा विभागमा सूचीकृत हुन ढिलाइ भएको बताए।

‘प्रदेश स्वास्थ्य मन्त्रालयले गत जेठ महिनामै सञ्चाचालन अनुमति दिए पनि स्वास्थ्य विभागमा सूचीकृत हुन ढिलाइ भइरहेको छ,’ उनले भने।

डायलाइसिसको लागि घरदेखि टाढा जानु परेपछि बिरामी मात्र होइन परिवारको अर्को सदस्यको समेत दैनिकी प्रभावित हुन्छ।

वाणगंगा जितपुरका पूर्णबहादुर आले बाहिर कतै कामकाजको लागि जान नसकेको चारवर्ष भयो। श्रीमती अनिता आले मगरको मिर्गौला बिरामी परेपछि पूर्ण बहादुरको दैनिकी पनि उनिसँगै अस्पताल धाउँदैमा बित्ने गरेको छ। श्रीमतीलाई अस्पताल ल्याउने र लैजाने गर्दा कुनै काम गर्न नपाएको उनले बताए।

‘हरेक हप्ता सोमबार, बिहीबार र शनिबार डायलाइसिसको लागि बुटवल आउनुपर्छ, बिहान सातबजे घरबाट निस्किन्छौं , घर पुग्दा साँझ ६ बज्छ। टाढाबाट बिरामी श्रीमतीलाई एक्लै पठाउने कुरा भएन कसरी काम गर्न जाने,’ उनी भन्छन्।

दिनभरी काम गरेर पैसा कमाउने मान्छे समेत अस्पताल आउन परेपछि त्यसले दोहोरो आर्थिक भार सिर्जना गरेको वाणगंगाकै मिर्गौला बिरामी गंगा कार्कीले बताइन्। उनका बुवा उनलाई लिएर हरेक हप्ताको दुई दिन अस्पताल आउनुपर्छ जसले गर्दा काममा असर गरेको छ। काममा असर हुनुभनेको कमाइमा पनि असर हुनु हो। कमाइमै असर गरेपछि अस्पतालसम्म जान पनि ऋण लिनुपर्ने बाध्यता कतिपयलाई हुन्छ।

सरकारले विपन्न नागरिकहरूको लागि डायलाइसिस सेवा नि:शुल्क गरेको छ। तर अस्पतालबाट टाढा घर भएकाहरूलाई त्यही सेवा लिन धेरै सास्ती बेहोर्नु परेको छ।

बल्लतल्ल डायलाइसिसको पालो पाएर नि:शुल्क सेवा लिए पनि टाढा अस्पताल हुँदा घन्टौं यात्रा गरेर जानुपर्ने बाध्यता छ। कतिपय बिरामीहरू अस्पताल नजिकै डेरामा बसेर डायलाइसिस गराइरहेका छन्।

स्याङजाका खुमन थापा श्रीमती हेमकली थापा बिरामी भएपछि रूपन्देहीको सैनामैना मुर्गियामा बस्दै आएका छन्। हेमकलीले डायलाइसिस गराउन थालेको र उनिहरूले गाउँ छोडेर रूपन्देही बस्न थालेको सात वर्ष पुग्यो।

‘गाउँमा डायलाइसिस सेवा छैन, श्रीमतीको उपचारकै लागि यहाँ आएर बस्न थालेका छौं,’ उनले भने।

मिर्गौलापीडित सरोकार समाज नेपालका केन्द्रीय सदस्य समेत रहेका खुमनले सरकारले डायलाइसिस सेवा नि:शुल्क भने नि दिनदिनै खानुपर्ने औषधी र विभिन्न समयमा गर्नुपर्ने ल्याब परीक्षणमै मासिक १५/२० हजार खर्च हुने गरेको बताए। औषधी र ल्याब परीक्षणबाहेक डायलाइसिसको लागि बुटवल धाउनुपर्दा हरेक पटक डेढ दुई हजार खाना र यातायातमै खर्च हुने गरेको उनिहरूको गुनासो छ।

सरकारले स्वास्थ्य सेवा विभागमा सूचीकृत भएका सरकारी, सामुदायिक तथा कतिपय निजी अस्पताल र मेडिकल कलेजहरूलाई एकजना बिरामीको एकपटक डायलाइसिस गराएको दुईजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको छ। त्यस बाहेक डायलाइसिसका बिरामीहरूलाई हरेक महिना ५ हजार रूपैयाँ दिने गरेको छ।

‘जसको घरमा मिर्गैलाका रोगी छन् उनिहरूलाई मात्र थाहा हुन्छ यो रोग कस्तो रहेछ भन्ने, सास हुन्जेल आश भनेजस्तै आफ्ना मान्छेको माया लाग्ने उपचार गरे केही दिन भए पनि सँगै बसिन्थ्यो भन्ने हुने रहेछ,’ खुमनले पीडा पोखे।

वाणगंगा जितपुरका मोती आचार्य पनि आफ्नो उपचारकै लागि भएको खेतबारी बिक्रि गरेर सकिएको बताए।

‘भएको सम्पत्ति सबै उपचारमा सकियो न त केटाकेटीलाई पढाउन सकियो, न त मलाई सञ्चो भयो, अन्तिममा छोराछोरी घर न घाटका हुने भए,’ आचार्यले दुखेसो गरे।