नरभक्षीका कारण बदनाम छन् निर्दोष बाघ, व्यवस्थापन कसरी गर्ने?


[ss_social_share]
लेखक : admin      ६ महिना अगाडि मा प्रकाशित     
नरभक्षीका कारण बदनाम छन् निर्दोष बाघ, व्यवस्थापन कसरी गर्ने?

गत साउन २ गते माडीको बैराठ भन्ने ठाउँमा बाघको आक्रमणबाट ३ जना घाइते भए। बाख्रा मार्न खोरमा पसेको बाघले धपाउन खोज्ने व्यक्तिहरूलाई आक्रमण गरेको थियो।

त्यो बाघ  चार वर्षीया भाले थियो। वन्यजन्तु प्राविधिकहरूले बेहोस बनाई रेडियो कलर जोडेर उसलाई चितवन राष्ट्रिय निकुञ्जको कोर (भित्री जंगल) क्षेत्रमा छाडिदिए।

त्यसपछि उसले साउन २२ गते पूर्वी चितवनको खैरहनी–११ सहनपुरस्थित केराबारीमा ३५ वर्षीय अनिल तामाङलाई आक्रमण गर्यो। जसको कारण उनको मृत्यु भयो।

आमाबाट छुटेपछि रन्थनिएको यो बाघ सिकार खोज्दै बस्तीमा पसेको थियो। आमाबाट छुटेर सिकारको खोजीमा भौंतारिएको बाघलाई पुनः जंगलमै बस्ने अवस्था सिर्जना गर्ने सोचेर निकुञ्जका अधिकारीहरूले भित्री क्षेत्रमा छाड्ने निर्णय गरेका थिए। तर ऊ मानव बस्ती खौज्दै खैरहनी आइपुग्यो।

यसलाई केही दिन लगाएर नियन्त्रणमा लिई अहिले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहामा रहेको इनक्लोजरमा थुनिएको छ। यो इनक्लोजरमा गतवर्ष खैरहनीकै कुमरोजबाट नियन्त्रणमा लिइएको १३ वर्षको बाघलाई थुनिएको थियो। त्यो बुढो बाघ साउन १४ गते मरेपछि इनक्लोजर खाली थियो।

रेडियोकलर जोडिएको बाघलाई कुन ठाउँमा पुगेको छ भनेर निगरानी गर्न मिल्छ। माडीमा समातिएपछि निकुञ्जका अधिकारीहरूले त्यो बाघको नियमित अध्ययन गरिरहेका थिए। कोर क्षेत्र कटेर मध्यवर्ती क्षेत्रतिर लागेको थाहा पाएपछि उनीहरू सतर्क भए। तर निकुञ्जको टोलीले भेटाउनुअघि बाघले मान्छेलाई निसाना बनाइसकेको थियो।

गत साउन ८ गते राप्ती पारि निकुञ्जभित्र निउरो टिप्न गएका भरतपुर–२८ मेघौलीका २६ वर्षीय आसबहादुर बोटेको बाघको आक्रमणबाट मृत्यु भयो। निकुञ्जको कोर क्षेत्रभित्रको घटना भएका कारण त्यो बाघलाई नियन्त्रणमा लिइएन। निगरानीमा मात्रै राखियो।

त्यसयता अर्को बाघ मेघौली बस्ती आसपासमा डुलिरहेको स्थानीयवासी बताउँछन्। रेडियोकलर जोडिएको त्यो बाघले स्थानीयको गाई, भैंसीलाई आक्रमण गरेको थियो। यसलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ।

गत असारमा मात्रै मेघौलीबाट एउटा बाघ नियन्त्रणमा लिइएको थियो। त्यसले मानव बस्तीमा पसेर पशु चौपायलाई आक्रमण गरेको थियो। त्यसअघि २०७९ सालको असार २ गते नियन्त्रणमा लिइएको बाघ अहिले पनि सौराहास्थित इनक्लोजरभित्र छ। त्यो बाघले ९ दिनमा दुईजना मान्छेको ज्यान लिएको थियो।

चितवन राष्ट्रिय निकुञ्जसँग ५ वटा बाघलाई थुन्न सक्ने संरचना छ। बाँकेमा पाँच जनाको ज्यान लिएको बाघ कसरामा छ। माडीमा भैंसी चराउन अमिलिया क्षेत्रमा पुगेका ६८ वर्षीय सूर्यनारायण अधिकारीलाई आक्रमण गर्ने र बेलसहर सामुदायिक वनबाट नियन्त्रणमा लिइएका नरभक्षी बाघ पनि कसराकै इनक्लोजरमा छन्। माडीको बाघलाई नियन्त्रणमा लिन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका वन्यजन्तु चिकित्सक तथा प्राविधिकहरुलाई झण्डै एक महिना लागेको थियो।

चितवन निकुञ्जमा आर्थिक वर्ष २०७९/०८० मा ३ वटा बाघको प्राकृतिक कारणले मृत्यु भएको छ। २०७९ सालमा चितवनमा बाघको आक्रमणबाट ११ जनाले ज्यान गुमाएका थिए।

सन् २०२२ मा सार्वजनिक गरिएको सर्भेक्षणमा नेपालमा बाघको संख्या ३५५ देखिएको थियो। सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका थिए। यहाँ १२८ वटा, बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, पर्सा राष्ट्रिय निकुञ्जमा ४१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ र बाँके राष्ट्रिय निकुञ्जमा २५ वटा बाघ रहेको सर्भेक्षणमा देखिएको थियो।

यो नतिजामार्फत् सन् २०१० मा रूसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरूले गरेको सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउने संकल्पमा नेपाल सफल ठहरियो। सन् २०१० मा १२१ वटामात्रै बाघ रहेको नेपालमा २०१८ को गणनामै २३५ पुगेका थिए। संख्या २४२ वटा पुर्‍याउने लक्ष्य राखेकोमा सन् २०२२ मा लक्ष्यभन्दा एक सय बढी बाघ भेटिए।

बाघको संख्या बढाएर नेपालले विश्व मञ्चमा नाक ठाडो बनाउने अवसर त पायो। तर लक्ष्यभन्दा बढेका बाघहरूको व्यवस्थापन अब कसरी गर्ने भन्ने चुनौती नेपालसामू छ।

चितवन निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारी बाघहरू मानव बस्ती पस्ने, मान्छे, पशु चौपायमाथि आक्रमण गर्ने क्रम बढ्नु चिन्ताको विषय बनेको बताउँछन्। बाघको संख्या बढेसँगै आफ्नो क्षेत्र कायम गर्न नसकेर बाघहरू बाहिर निस्केको हुनसक्ने तिवारी बताउँछन्। बाघ आफ्नो क्षेत्र कायम गर्ने प्राणी हो।

एउटाको क्षेत्रमा अर्को भाले बाघ रहन सक्दैन।

तिवारी भन्छन्– ‘संख्या बढेसँग निकुञ्जको कोर क्षेत्र बाघलाई साँघुरो भएको हुनसक्छ। हामीले गर्ने भनेको सकेसम्म बाघलाई बाहिर निस्कन नदिने, निस्केको अवस्थामा नियन्त्रणमा लिने हो।’

‘मान्छेलाई आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिइन्छ। खोरमा राखिन्छ। घटनाहरू बढिरहेका छन् तर हामीसँग त्यस्ता बाघलाई राख्न पर्याप्त संरचना छैन। न त उनीहरूलाई खुवाउन आवश्यक स्रोत नै छ,’ तिवारी भन्छन्, ‘अहिले पाँचवटै इनक्लोजरमा नरभक्षी बाघ छन्। अर्कोलाई नियन्त्रणमा लिएपछि कता राख्ने थाहा छैन।’

यहाँ नियन्त्रणमा लिइएका बाघ कहिलेकाहीँ पर्सा, बाँकेतिर पनि पठाउने गरिएको छ।

सबै खोर भरिएको अवस्थामा नियन्त्रणमा लिइएको नयाँ नरभक्षी बाघलाई के गर्ने? यसको जवाफ निकुञ्जसँग छैन।

तिवारी व्यवहारमा सुधार आएको अवस्थामा बाघलाई पुनःजंगलमा छाड्ने गरिएको बताउँछन्। मान्छेमाथि आक्रमण गरेर नियन्त्रणमा लिई छाडिएको बाघले फेरि आक्रमण गरेको घटना कम रहेको उनले बताए।

‘मान्छे खाएको बाघलाई छाडिदैन, अन्यलाई स्याटेलाइट कलर लगाएर छाड्ने गरिएको छ। यसो गर्दा उनीहरूको गतिविधि निगरानी गरेर, आवश्यक परे फेरि समात्न सजिलो हुन्छ,’ उनले भने।

बाघको आनीबानी, मानव–वन्यजन्तु द्वन्द्व जस्ता विषयमा लामो समयदेखि अध्ययन गरिरहेका विज्ञहरू मानव बस्तीमा पसेर आक्रमण गरेको बाघलाई छाड्नु घातक हुने बताउँछन्।

त्यसो भए त्यस्ता बाघलाई कसरी व्यवस्थापन गर्न सकिएला त? बाघ विज्ञ डा.बाबुराम लामिछानेसँग यो जिज्ञासा राखें।

उनले नेपालमा थोरै बाघ हुँदाको व्यवस्थापनले धेरै हुँदा काम गर्न नसकेको बताए।

‘हामीसँग पहिले थोरैमात्र बाघ थिए। त्यो अवस्थामा बाघहरू मानव बस्तीतिर कम निस्कन्थे। अहिले बाघको संख्या धेरै पुगेको छ। यो अवस्थामा नयाँ ढंगले काम गर्नुपर्छ।’

उनले बाघको निगरानी गर्ने प्रणालीलाई दीगो र चुस्त बनाउनुपर्ने बताए।

‘बाघले आक्रमण गरेपछि होइन, आक्रमण गर्नु अगाडि नै बाघको गतिविधिबारे थाहा हुनुपर्छ। सतर्क रहनुपर्ने अवस्था छ भने समुदायलाई बेलैमा जानकारी गराउने प्रणालीको विकास गर्नुपर्छ,’ लामिछाने भन्छन्, ‘ऊबाट मान्छेलाई जोखिम हुने अवस्था देखिए तुरून्तै एक्सनमा जान सकिन्छ। बेलैमा व्यवस्थापन गर्न सकियो भने क्षति हुँदैन।’

लामिछानेले मान्छेको मृत्यु अरू धेरै कारणले हुने गरे पनि बाघको आक्रमणबाट भएको मृत्युको धेरै चर्चा हुने गरेको बताए। केही बाघका कारण सबै बाघले दोष पाइरहेको उनी बताउँछन्।

‘बाघ दिवसमा समेत बाघलाई नै गाली गर्ने प्रवृत्ति बढिरहेको छ। त्यो दिन त बाघको सकारात्मक चर्चा हुनुपर्ने, संरक्षणका कुरा हुनुपर्ने नि,’ उनी भन्छन्, ‘केही नरभक्षी बाघको व्यवस्थापन गर्न नसक्दा बाघप्रति मान्छेको दृष्टिकोण नै नराम्रो हुन पुगेको छ।’

त्यस्ता बाघप्रति अब निकुञ्ज प्रशासन क्रुर हुन सक्नुपर्ने लामिछानेको धारणा छ।

‘नियन्त्रणमा लिएर राख्ने एउटा उपाय भयो। तर ऊ समस्या हो भने मार्न पनि पछि पर्नु हुँदैन। संख्या बढी भएरै मान्छे माथि आक्रमण भइरहेको भए घटाउनेतर्फ पनि लाग्नुपर्छ,’ लामिछाने भन्छन्, ‘हामीसँग अब बाघको संख्या पर्याप्त भएका कारण संख्या व्यवस्थापन गर्न डराउन हुँदैन।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले संरक्षित वन्यजन्तुको सिकार गर्न निषेध गरेको छ। तर बौलाएको जंगली हात्ती, मानिस खान पल्किएको बाघ र नबाँच्ने किसिमले रोगग्रस्त भएका वा अङ्गभङ्ग भएका वन्यजन्तुलाई तोकिएको अधिकारीको आदेशले मार्न वा पक्रन ऐनले रोकेको छैन। उक्त ऐनले वन क्षेत्र बाहिर आई मानिस वा घर पालुवा पशु पंक्षीलाई धेरै नोक्सान गर्ने वन्यजन्तुलाई मानुपर्ने ठहराएमा तोकिएको अधिकारीको आदेशले मार्न, पक्रन वा लखेट्न सकिने व्यवस्था गरेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीले सोही ऐनमा टेकेर वन्यजन्तुलाई मार्न, पक्रन वा लखेट्न आदेश दिने अधिकारी तोकेको छ।

निकुञ्ज वा आरक्षको कार्यालय रहेको जिल्लामा संरक्षकले वा त्यस्तो कार्यालय नभएको जिल्लामा डिभिजनल वन अधिकृतले आदेश दिनसक्ने व्यवस्था नियमावलीमा छ। आदेश दिने अधिकारीलाई आवश्यक राय, सुझाव एवं विकल्पसहितको सिफारिस गर्न समितिको व्यवस्था पनि नियमावलीले गरेको छ।

चितवन राष्ट्रिय निकुञ्ज आसपासका क्षेत्रमा आतंक मच्चाएको ध्रुबे हात्तीलाई २०६९ सालको पुस १ गते यही ऐन र नियमावलीमा टेकेर मार्ने आदेश दिइएको थियो। १५ जना मान्छेको ज्यान लिएको हात्ती मार्न हेलिकप्टरकोसमेत प्रयोग गरिएको थियो। तर धेरै प्रयास गर्दा पनि निकुञ्जले उसलाई मार्न सकेन। लामो समय हराएको ध्रुबे २०७५ सालतिर फेरि देखिएको थियो। त्यसपछि पनि उसले धेरै मान्छेको ज्यान लिइसकेको छ।

प्रकृतिमा सबै प्राणीको महत्व हुन्छ। मान्छेको अस्थित्व रहिरहन बाघजस्ता हिंस्रक वन्यजन्तु पनि बाँच्नुपर्छ। तर वन्यजन्तु मान्छे भन्दा महत्वपूर्ण हो भन्ने सन्देश जाँदा समुदायमा आक्रोश बढेको छ। वन्यजन्तुको आतंक सहन नसकेपछि कतिपय ठाउँमा त मध्यवर्ती क्षेत्र खारेज गर्न माग गरेर आन्दोलन हुन थालेको छ।

‘समस्या निम्त्याउने वन्यजन्तुलाई सकेसम्म ठूलो उद्धार केन्द्र बनाएर त्यहाँ राख्ने हो। त्यसो गर्दा पर्यटनलाई पनि जोड्न सकिन्छ। त्यो सम्भव छैन भने मार्ने विकल्प रोज्दा ठीक हुन्छ। मान्छे मार्ने बाघलाई जोगाउन सकिँदैन,’ लामिछाने भन्छन्, ‘अहिलेको जसरी खोरमा थुनेर राख्नु र मार्नुमा कुनै फरक छैन।’

सेतोपाटीसँगको कुराकानीमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–महानिर्देशक अजय कार्कीले बाघको संख्या बढेसँगै त्यहीअनुसारको निगरानी र व्यवस्थापन प्रणाली विकास गर्नुपर्नेमा हुन नसकेको स्वीकार गरे। तर पनि समस्याग्रस्त बाघलाई मार्नुपर्ने निष्कर्षमा विभाग पुगिनसकेको उनले बताए।

‘ऐनले समस्याग्रस्त वन्यजन्तुलाई मार्न सकिने व्यवस्था गरेको छ। कुनै बेला यसको प्रयोग पनि भयो। अहिले पनि अनौपचारिक रूपमा त यस विषयमा छलफल हुन्छ। तर योजना नै बनाउने गरी यो विकल्पमा औपचारिक रूपमा कुरा भएको छैन,’ कार्की भन्छन्।

उनका अनुसार कुल बाघमध्ये करिब ९० प्रतिशत जंगलभित्रै आफ्नो क्षेत्र कायम गरेर बस्ने गरेको देखिएको छ। १० प्रतिशत बाघ विभिन्न कारणले जंगलमा बस्न नसकेर बाहिर निस्कने गरेका छन्। त्यसैले ठाउँ–ठाउँमा क्यामेरा, सिसी क्यामेरा राखेर वन्यजन्तुको निगरानी बढाउने, गस्ती बढाउने, उद्धार तथा व्यवस्थापनलाई चुस्त बनाउने, समुदायमा चेतना बढाउनेजस्ता काममा अहिले बढी ध्यान दिइएको उनले बताए।

‘रोगी, बुढो, माउबाट छुट्टिएर अरूसँग रहन नसकेको, आफ्नो क्षेत्र कायम गर्न नसकेको, घाइते, मान्छे खान पल्केको बाघको निगरानी बढाउने गरी लागेका छौं। यस्ता बाघहरू मानव बस्तीको नजिक रहने गरेका छन्,’ कार्कीले भने, ‘उनीहरूलाई नियमित रूपमा निगरानी गर्ने र आवश्यक पर्दा नियन्त्रणमा लिइहाल्ने हो भने समस्या आउँदैन। हामीले मान्छेभन्दा बाघ महत्वपूर्ण भनेका छैनौं। मान्छेलाई त जोगाउनै पर्‍यो। सँगै बाघलाई पनि जोगाउनुपर्छ भन्ने मान्यता हो।’

तर नियन्त्रणमा लिइएका वन्यजन्तुलाई कहाँ लगेर राख्ने भन्ने समस्या अहिले छ। ठूलो क्षेत्रफलमा वन्यजन्तु उद्धार केन्द्र स्थापना गरेर समस्याग्रस्त, टुहुरा वन्यजन्तुलाई राख्ने योजना बने पनि बजेटको अभावमा सम्पन्न हुन नसकेको उनले बताए।

बाघ विज्ञ डा.लामिछाने मारेपछि पक्रिएर खोरमा राखेको बाघलाई पुनः जंगलमा छाड्न नहुने बताउँछन्। जतिसुकै भित्र छाडे पनि बाघलाई मानव बस्तीमा आइपुग्न धेरै समय नलाग्ने उनले बताए।

‘एकै दिनमा १० किलोमिटर हिँडेर कोर एरियाबाट बाहिर आएको पनि देखिएको छ। बाघहरू मान्छेभन्दा कम्तीका हुँदैनन् क्षेत्र पहिचान गर्न,’ उनले भने।

समस्याग्रस्त बाघहरू प्रायः भाले छन्। एउटै भाले बाघले धेरै पोथीहरूसँग सहवास गर्ने भएकाले भालेको संख्या केही घट्दैमा तात्विक फरक नहुने लामिछानेले बताए। तर पोथी कम भए भने चाहिँ ठूलै असर पर्नसक्छ। बाघको उमेर १५–१६ वर्षको हुन्छ। तीन वर्ष पुगेपछि बघिनी बच्चा जन्माउन तयार हुन्छे। एउटी बघिनीले जीवनभरमा ६ वटासम्म डमरू जन्माएको भेटिएको छ।

वन्यजन्तुबाट आक्रमणका प्रायः घटना जंगलभित्रै भइरहेको छ। मध्यवर्ती वन आसपासका बासिन्दाको जंगलसँग निर्भर रहनुपर्ने अवस्था हटाउनु पनि अति आवश्यक रहेको विज्ञहरू बताउँछन्। वन्यजन्तुलाई बाहिर निस्कन नदिने र मान्छेलाई भित्र जान नपर्ने अवस्था ल्याउन सँगसँगै काम गर्नुपर्ने लामिछानेले बताए।

तिवारीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न सीमानामा आरसीसी पर्खाल लगाउनु, संख्या वृद्धिभन्दा वासस्थानको व्यवस्थापनमा ध्यान दिनु, वन क्षेत्रको निर्भरता हटाउन समुदायलाई आयआर्जनको वैकल्पिक व्यवस्था मिलाइदिनु, सचेतना अभियानलाई बढाउनु आवश्यक रहेको बताए।

‘बाघको बानी त हामी चाहेर पनि सुधार्न सक्दैनौं। मान्छेले आफ्नो बानी सुधार्न सक्छ। यसका लागि सचेतना अभियान बढाउनुपर्छ,’ उनी भन्छन्।

वन्यजन्तु उद्धार केन्द्र बन्यो भने के हुन्छ?

नियन्त्रणमा लिएर इनक्लोजरमा राखिएका बाघ पाल्न चितवन राष्ट्रिय निकुञ्जलाई हम्मे भइरहेको छ। बाघलाई आहारा जुटाएर पालिराख्न बजेटको अभाव रहेको निकुञ्जका सहायक संरक्षण अधिकृत तिवारी बताउँछन्। उनका अनुसार बाघ पाल्न २५ लाख रूपैयाँसम्म खर्च लाग्ने गरेकोमा बजेट एक–दुई लाख रूपैयाँमात्रै हुने गरेको छ। निकुञ्जले अन्य कार्यक्रमको बजेट तानेर बाघका लागि खर्च गर्दै आएको छ। एउटा बाघका लागि दैनिक ५ देखि ७ किलो मासु आवश्यक पर्छ।

मान्छेमाथि आक्रमण गर्ने बाघ बढिरहेको र नियन्त्रणमा लिएपछि पाल्न मुस्किल भइरहेको अवस्थामा वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न आवश्यक भएको तिवारी बताउँछन्। वन्यजन्तु उद्धार केन्द्रलाई पर्यटनसँग जोडेर दीगो बनाउन सकिने उनी बताउँछन्।

भरतपुर–१३ देवनगरमा उद्धार केन्द्र बनाउने योजना बनेको केही वर्ष भयो। तर यो योजनाले मूर्तरूप पाउन सकेको छैन।

निकुञ्जको मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले देवनगर पोष्ट नजिकै वन्यजन्तु उद्धार केन्द्र बनाउनका लागि केही संरचनाहरू तयार भइसकेको बताए।

दरबन्दीसहितका एक जना डाक्टर पनि पठाइएको छ। तर बजेटको अभावमा बाँकी काम हुन नसकेको उनले बताए।

‘नियन्त्रणमा लिएका बाघहरूलाई त्यहाँ राखेर पर्यटकलाई देखाउन सकिन्छ। एकै ठाउँमा धेरै बाघ देख्न पाउँदा पर्यटक पनि खुसी हुन्छन्। पर्यटकबाट भएको आम्दानीले बाघलगायतका वन्यजन्तुको राम्रो व्यवस्थापन गर्न सकिन्छ,’ ढुंगाना भन्छन्, ‘यो गर्नु उपयुक्त हुन्छ भनेर हामीले भनिरहेका छौं। तर बजेटको अभावमा काम हुन सकेको छैन। वार्डेन फेरिएपछि योजना पनि फेरिन्छ।’

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनले पनि वन्यजन्तु उद्धार केन्द्र सञ्चालन गर्न सकिने व्यवस्था गरेको छ।

‘कुनै पनि व्यक्ति, संस्था वा स्थानीय तहले टुहुरा, असहाय, समस्याग्रस्त र उद्धार गरिएका वन्यजन्तुहरूको संरक्षण र व्यवस्थापनको लागि वन्यजन्तु उद्धार केन्द्र स्थापना गर्न सक्नेछ,’ ऐनको दफा १५ को उपदफा २ मा व्यवस्था छ।

यो ऐनलाई टेकेर बनेको नियमावलीले वन्यजन्तु उद्धार केन्द्र स्थापनाका लागि सम्बन्धित व्यक्ति, संस्था वा स्थानीय तहको निवेदन प्राप्त भएको अवस्थामा जाँचबुझ तथा मूल्यांकन गरी प्रतिवेदन पेश गर्न प्राविधिक समितिको व्यवस्था गरेको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले २०७३ सालमा वन्यजन्तु उद्धार एवं उद्धार केन्द्र व्यवस्थापन कार्यविधि तयार पारेको थियो।

ढुंगानाले समस्याग्रस्त वन्यजन्तुलाई समातेर खोरमा राखेर खुवाउनेमात्रै भन्दा पनि पर्यटनमा जोडेर उपयोग गर्न सक्नुपर्ने बताए।