समाजवादी मोर्चाले भदौ ८ देखि सातै प्रदेशमा सभा गर्ने


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
समाजवादी मोर्चाले भदौ ८ देखि सातै प्रदेशमा सभा गर्ने

काठमाडौँ — समाजवादी मोर्चाले प्रदेशस्तरमा सभाको आयोजना गर्ने भएको छ । सोमबार नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्दले मोर्चाको बैठकमा समाजवादी मोर्चाको कामलाई प्रभावकारी बनाएर लैजाने बारेमा छलफल भएको बताए । उनले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको पनि बताए ।

‘छलफल राम्रो भयो, तरंगमय वातावरणमा मोर्चा घोषणा भएको थियो । समय लम्बिँदा बाहिर के हो ? के हो ? भन्ने थियो,’ उनले भने, ‘हामीले ८ गतेदेखि प्रदेशस्तरको घोषणासभा गर्ने निर्णय गरेका छौं । भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय भएको छ ।’

बैठकपछि बोल्दै नेकपा (एकीकृत समाजवादी) का नेता प्रमेश हमालले घोषणासभा ८ गते मधेश प्रदेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवल, १३ गते सुदूरपश्चिमको धनगढी, १४ गते कर्णालीको सुर्खेत, १५ गते गण्डकीको पोखरा, २३ गते वाग्मतीको हेटौंडा र २५ गते कोशीको विराटनगरमा घोषणासभा गर्ने बताए । उनले बैठकमा समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भएको पनि बताए । प्रदेश घोषणासभामा प्रदेशका लागि समाजवादी मोर्चाको संयोजक तोक्ने निर्णय भएको पनि बताए ।

‘समाजवादी मोर्चा नेपालका तेस्रो बैठक बस्यो । समसामयिक राजनीति र समाजवादी मोर्चाको भूमिकाको बारेमा छलफल भयो । सचिवालयमा गरेका निर्णयहरुको अनुमोदन गर्ने निर्णय भएको छ । समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रुपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्नेकुरामा छलफल भयो,’ उनले भने, ‘हामीले ८ गते मधेसमा वीरगञ्ज, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ गते कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते वागमतीको हेटौंडामा, २५ गते कोशीको विराटनगरमा कार्यक्रम गर्नेछौं ।’

बैठकमा समाजवादी मोर्चालाई प्रभावकारी बनाउने, समाजवादी मोर्चालाई शक्तिको रुपमा विकास गर्नुपर्छ र समाजवादी आन्दोलन अघि बढाउनुपर्छ भन्ने कुरामा छलफल भएको छ । मोर्चामा सत्तारूढ नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सहभागी छन् ।