अहिले क्यानडा जाने नेपाली युवाहरुको पंक्ति लम्बिंदो छ । पढ्नका लागि भन्दै देश छाड्ने युवाहरु हुन् वा ‘वर्किङ भिसा’ च्यापेर उड्नेहरु नै, क्यानडालाई गन्तव्य बनाइरहेका छन् । त्यति मात्र कहाँ हो र ? ‘भिजिट भिसा’मा क्यानडा टेक्ने र उतै हराउनेहरुको जमात पनि कम छैन । आखिर क्यानडमा के छ त्यस्तो चुम्बकीय आकर्षण ?
हामीले मुगा राजभण्डारीसँग यही प्रश्न सोध्यौं । उनी वितेको दुई दशक बढी क्यानडामा बसोबास गरिरहेका छन् । र, रेगुलेटेड क्यानेडियन इमिग्रेसन कन्सल्टेन्टको रुपमा सक्रिय छन् । हामीसँगको भेटमा उनी भन्दै थिए, ‘क्यानडा आउनेहरुको संख्या त बढ्दो छ नै ठगिनेहरु पनि कम छैनन् । दुरुस्तै कागजात बनाएर क्यानडा पठाइदिन्छु भन्दै लाखौं लाख ठग्नेहरु जताततै छन् ।’
यसै पृष्ठभूमिमा हामीले राजभण्डारीसँग सोधेका थियौं, क्यानडा जान किन मरिहत्ते गर्छन् नेपाली ? आखिर क्यानडमा के छ त्यस्तो आकर्षण ? त्यहाँ नेपालीहरु के गर्छन् ? कस्तो जीवनयापन गर्छन् ? पढ्न जानेहरुका लागि के छ सुविधा ? काम गर्नेहरुले कति कमाउँछन् ? उतै स्थायी बसोबास गर्नेहरुले कसरी प्रक्रिया मिलाउँछन् ?
उनले हाम्रो प्रश्नको उत्तर यसरी विस्तारमा दिएका छन् ।
के छ क्यानडामा ?
क्यानडा एउटा विकसित देश हो । यसमा परिवारको लागि सामाजिक सुरक्षा र पढ्ने विद्यार्थीको लागि विद्यालयमा पनि त्यतिकै राम्रा छन् । क्यानडामा विकल्प थप्रै छन् । त्यही कारण अन्य देशबाट पढ्न, काम गर्न वा त्यही बसोबासको व्यवस्था मिलाउन आउनेहरुको जमात ठूलो छ ।
नेपाली युवाहरु पनि विद्यार्थी भिषामा क्यानडा जाने गरेका छन् । त्यहाँ पढ्न र काम गर्न अनुकुल छ । एक वा डेढ वर्ष अध्ययन गरिसकेपछि पोस्ट ग्राजुएट वर्क पर्मिट पाइन्छ ।
त्यहाँ एक बर्ष पढेपछि अर्को एक वर्ष वर्क परमिट पाइन्छ । त्यस्तै दुई वर्षसम्म काम गरिसकेपछि त्यहाँ पर्मानेन्ट रेसिडेन्ट (स्थायी बसोबास)का लागि आवेदन दिन सकिन्छ । यसरी दुई चार बर्ष बसेर काम गरिसकेपछि त्यही स्थायी बसोबासको बन्दोबस्ती मिलाउन सकिन्छ । त्यहाँको स्थायी बासिन्दा भएपछि भोट हाल्नबाहेक अरु सबै सेवासुविधा, अधिकार उपभोग गर्न पाइन्छ ।
जस्तो स्थायी बसोबासको अनुमतिपत्र भएपछि कलेज पढ्दा आफ्नै खल्तीको पैसा झिक्नुपर्दैन । सरकारले लोन र अरु सुविधा दिन्छ । पढ्नका लागि लिइएको ऋण तुरुन्तै भुक्तानी गर्नुपर्ने बाध्यता छैन । आफूले काम गरेर कमाउन सुरु गरेपछि तिर्ने हो ।
पढ्नै लागि जाने नेपालीहरु कति छन् ?
उहिले खासै विद्यार्थी भिषामा क्यानडा जाने चलन थिएन । २०१५ सालसम्म त वर्षमा १ सय ५० जना पनि जादैनथे । तर, पछिल्लो आंकडा आश्चर्यलाग्दो छ । गतवर्ष मात्रै करिब ६ हजार ४ सय विद्यार्थी क्यानडा भित्रिएका छन् । यो वर्ष करिब १० हजार विद्यार्थी क्यानडा भित्रिने वा जाने अनुमान गरिएको छ । पर्मानेन्ट रेसिडेन्ट लिने पनि अत्याधिक बढ्दो क्रममा छ । यसबाहेक वर्किङ र पर्मानेन्ट रेसिडेन्ट पनि उत्तिकै छन् ।
वर्किङ भिसामा जानेहरुको के छ अवस्था ?
वर्किङ भिसामा क्यानडा जानेहरुको संख्या पनि धेरै छ । तर, सबैभन्दा बढी सचेत हुनुपर्ने उनीहरुले हो । किनभने वर्किङ परमिटमा जानेलाई धेरैले ठगेका छन् र ठगिने गरेका छन् ।
क्यानडामा काम गर्नका लागि मान्छे राख्न सबैलाई अनुमति छैन । त्यहाँ कुनै काम वा रोजगारको अवसर छ भने सुरुमा त्यहीका नागरिक वा त्यही स्थायी बसोबास गर्नेलाई मौका दिनुपर्ने प्रावधान छ ।
यदि यी दुबैमा काम गर्ने मान्छे पाइएन भने मात्र बाहिरबाट मान्छे ल्याउनुपर्ने हुन्छ । तर, यसका लागि पनि आफुखुसी गर्न पाउने छुट छैन ।
बाहिरबाट कामदार ल्याउनुअघि त्यहाँको सरकारसँग अनुमति लिनुपर्छ । त्यो अनुमति लिने प्रक्रियालार्ई लेबर मार्केट इम्प्याक्ट एसेसमेन्ट) (श्रम बजार प्रभाव मुल्यांकन) भनिन्छ । यहाँ काम गर्ने मान्छे छैन भने प्रमाणित गर्नुपर्ने हुन्छ ।
त्यसको लागि तीनवटा मिडियामा जब भ्याकेन्सी (बिज्ञापन) छाप्नुपर्ने हुन्छ २८ दिनसम्म लागि । त्यसपछि त्यो विज्ञापन हेरेर जागिरको लागि निवेदन आएको हुन्छ । ती मान्छे किन योग्य भएन भनेर स्पष्टिकरण दिनुपर्ने हुन्छ । त्यसपछि सरकारलाई निवेदन यस्तो व्यहोराको निवेदन दिनुपर्छ, ‘मैले यहाँ काम गर्ने मान्छे पाइन सरकार, बाहिरबाट ल्याउने अनुमति पाउँ’ ।
सबै प्रक्रिया पुर्याएको छ कि छैन ? तलब दिन सक्छ कि सक्दैन ? कम्पनी कहिले स्थापना भएको हो ? यसको अवस्था कस्तो छ ? यी सबैको कुराको छानबिन गरिसकेपछि त्यहाँको सरकारले अनुमति दिने वा नदिने भनेर निर्णय गर्छ । यदि सरकारले अनुमति दियो भने त्यसले जागिरको लागि प्रस्ताव गर्न सक्छ बाहिरको मान्छेलाई ।
तर, ठगहरुले भने यस्तै नक्कली कागजात बनाएर व्यापक रुपमा ठग्ने गरेका छन् । नेपाल, भारत, पाकिस्तान, बंगलादेशका मान्छेहरु दलालको फन्दामा परेर लाखौं लाख रुपैयाँ ठगिएका छन् ।
आफू ठगिएको कसरी थाहा हुन्छ ?
लभ इज ब्लाइन्ड भनेजस्तै सबैजनामा विदेश जाने भोक छ । तर, कसरी जाने, के प्रक्रिया पुरा गर्ने भनेर बुझ्नका लागि धैर्यता छैन ।
पैसा भएपछि भिषा आउँछ भन्ने भ्रम छ । त्यही कारण पैसा दिएर सबै कुरा मिलाउन खोज्छ, जुन गलत हो । विदेशमा कुन प्रयोजनका लागि कसरी जाने भन्ने एउटा लामो प्रक्रिया हुन्छ । फुत्त जान पाइने होइन । तर, न निवेदन दिएको छ, न अन्र्तवार्ता दिएको छ । अनि घरमै भिषा आइपुग्छ भने यहाँ सरसार गडबड छ भनेर बुझ्नुपर्छ ।
आफुले पाएको कागजात सक्कली हो ? भिषा सही छ ? यसबार बुझ्नुपर्छ । किनभने नक्कली भिषा बनाउने गिरोह पनि यहाँ उत्तिकै छन् ।
एकदमै सहज रुपमा कसैले क्यानडा पठाइदिन्छु, मासिक तलब ६ हजार डलर मिलाइदिन्छु भन्ने जस्ता आश्वसन दिएमा त्यहाँ शंका गर्नुपर्छ ।
उनीहरुलाई आफु ठगिएको कहिले थाहा हुन्छ ?
मान्छेले ठगलाई नै विश्वास गरेर लाखौं खर्च गरिसकेको हुन्छ । जब उनीहरु विमानस्थलमा पुग्छन्, त्यहाँ मात्र आफु ठगिएको पत्तो पाउँछन् । किनभने विमानस्थलमा आवश्यक कागजात राम्ररी जाँच्ने गरिन्छ ।
तर, यही कुरा थाहा भएकाले दलालहरु अर्को चोर बाटो अपनाउँछन् । जस्तो उनीहरुले यहाँको विमानस्थलबाट सोझै पठाउँदैनन् । बरु, भारत लगायत अरुतिर घुमाउँछन् र फर्काइदिन्छन् । अघिल्लो बर्षमात्र एकसाथ २० जना नेपाली युवा युएई हुँदै जान खोज्दा त्यहीँबाट फर्काइएका छन् ।
नक्कली भिषामा परेर ठगिनेहरुको संख्या धेरै छ । त्यसैले त्यहाँ जानुअघि सबैकुरा राम्ररी बुझेर, सही प्रक्रिया अपनाएर मात्र जानुपर्छ ।
विद्यार्थी भिसामा ठगिने जोखिम कति ?
तुलनात्मक रुपमा विद्यार्थी भिषामा जानेहरु ठगिएको पाइदैन । किनभने विद्यार्थी भन्नसाथ आफैमा चलाख हुन्छन् । अहिले उनीहरुले इन्टरनेटबाट नै धेरै कुरा थाहा पाइसकेका हुन्छन् । कुन विषय पढ्ने, कुन विश्वविद्यालयमा भर्ना गर्ने भनेर तय गरिसकेका हुन्छन् ।
धेरैले प्रक्रिया पुराएर नै आवेदन दिन्छन् । यसरी आवेदन दिएपछि सम्बन्धित विश्वविद्यालयबाट प्रस्ताव पत्र आउँछ । त्यहाँ एक बर्षका लागि पढ्ने खर्च अर्थात शुल्क बुझाउनुपर्छ । र, अनलाइन फर्म भर्नुपर्छ ।
तर, त्यसो भन्दैमा विद्यार्थीहरु ठगिदै नठगिने भन्ने होइन । कतिले फेक अफर लेटर पठाएर ठगेको घटना पनि छ । दुई चार महिना अघि मात्र भारतका ७ सय विद्यार्थीलाई यसरी नै फर्काइएको छ ।
जबकि उनीहरुको सबै कागजात दुरुस्तै थियो । पछि पिआरको लागि आवेदन दिँदा मात्र त्यो कागजात नक्कली भन्ने देखियो ।
क्यानडामा पीआर लिने प्रक्रिया के छ ?
क्यानडा गइसकेपछि पिआर लिनको लागि थुप्रै प्रक्रिया छन् ।
तपाईं कुनैपनि देशमा हुनुहुन्छ भने पीआरका लागि आवेदन दिन सक्नुहुन्छ । यसका लागि निश्चित मापदण्ड पुरा गर्नुपर्छ ।
त्यस्तै यदि क्यानडा भित्रै हुनुहुन्छ र एक वर्ष काम गरिसकेको छ भने कुनै पिआरका लागि आवेदन दिन सकिन्छ ।
त्यहाँ संघिय र प्रान्तिय सरका छ । यी दुबैमा पिआर लिने प्रक्रिया केही फरक हुनसक्छ । यद्यपि क्यानडामा बसेर पढेको, त्यही काम गरिरहेको छ भने उनीहरुले पीआर पाउने संभावना बढी हुन्छ ।
पढेको आधारमा पनि पीआरको लागि आवेदन दिन सकिन्छ । शैक्षिक योग्यता, कामको अनुभव, क्यानडामा नै कति पढेको छ भन्ने कुरामा पनि यो भरपर्छ ।
प्रान्त अनुसार पनि पिआर पाउने सम्भावना कम वा बढी हुन्छ । त्यसैले क्यानडा गएर फर्किने होइन भने त्यहि अनुसारको ठाउँ र कलेज छनोट गरेर जादाँ उपयुक्त हुन्छ । तर पढेर नेपाल फर्किने हो भने जहाँ पढ्दा पनि हुन्छ ।
क्यानडामा पीआर पाइसकेपछि परिवार पनि उतै लैजाने प्रवृत्ति छ नि ?
क्यानडामा स्थायी बसोबासको अनुमति पाइसकेपछि आफ्नो परिवारलाई पनि उतै लान पाउने सुविधा छ ।
कोही विद्यार्थी भिषामा क्यानडा गएको छ । पिआर पायो । तर, विवाह भएको छैन भने आफ्नो देश फर्किएर विवाह पछि श्रीमान वा श्रीमतीलाई स्पोन्सर गर्न सक्छन् ।
यदि पीआर पनि पाउनुभयो, एक वर्षको कर पनि तिरिसक्नु भयो भने आफ्नो अभिभावक अर्थात आमाबुबालाई पनि बोलाउन सकिन्छ । आमाबुबालाई दुई तरिकाले बोलाउन सकिन्छ भिजिटर र सुपर भिषामा ।
सुपर भिषा प्राय १० वर्षको हुन्छ एकचोटी वा ५ वर्षसम्म वर्ष सकिन्छ । भिजिटर भिषामा पनि १० वर्षको हुन्छ तर एकचोटी जाँदा ६ महिना मात्र बस्न पाउँछ ।
अथवा आफु क्यानडामा भएको तीन वर्ष भइसक्यो यदि ती वर्षको कर बुझाउनु भएको छ र इन्कम थ्रेस होल्ड पुरा गरेको छ भने बुबाआमालाई स्पोन्सर गरेर पनि बोलाउन सकिन्छ ।
विद्यार्थी भिषामा भएकाले पनि यस्तो सुविधा पाउँछ । उसले आफ्नो श्रीमान-श्रीमतीलाई ओपन वर्क पर्मिटमा एप्लाई गराएर बोलाउन मिल्छ । यसैमा यदि छोराछोरी छन् भने उनीहरुलाई पनि सँगै लान पाइन्छ तर छोराछोरीको उमेर २२ वर्षभन्दा कम भएको हुनुपर्छ । त्यो भन्दामाथिको उमेर भएमा लान मिल्दैन ।
पीआर अर्थात स्थायी बसोबासका लागि पनि आवेदन दिएर क्यानडा जानेहरु पनि छन् ?
क्यानडामा अरु देशका नागरिकले पिआरका लागि पनि आवेदन दिन सक्छन् । क्यानडमा दुई तहको सरकार छ, संघिय र प्रान्तिय । यी दुबैको छुटाछुटै नीतिनियम हुन्छ ।
संघिय भनेपछि त्यसको सबैतिर एउटै नियम लागु हुन्छ । त्यस अन्र्तगत आवेदकका उमेर, पढाई, भाषा, कस्तो काम गरेको आदिको आधारमा छानबिन गर्छ र अंक दिन्छ । यदि क्यानडमा आफन्त कोही बसोबास गर्छन् अझ आफ्नै दाजुभाई छन् भने थप अंक पाइन्छ । स्नाकोत्तर गरेका, ३० बर्षभन्दा कम उमेरका, अंग्रेजी राम्ररी बोल्ने छ भने राम्रो अंक प्राप्त हुन्छ ।
फ्रेन्च बोल्न जान्ने, मेडिकल क्षेत्रका, सूचना प्रविधि क्षेत्रका, पलम्बर, कार्पेन्टर वा यातायात क्षेत्र भएमा अरु प्राथमिकतामा पर्न सकिन्छ ।
यसरी प्राप्त हुने अंकको आधारमा पिआरका लागि छनौट गरिन्छ ।
नेपालीहरु त भिजिट भिसामा गएर उतै बस्ने गरेको पनि सुनिन्छ नि ?
भिजिट भिषामा क्यानडा जाने र त्यही बस्नेहरु पनि छन् । धेरैजसोले आफुलाई शरणार्थी भनेर बसोबासको व्यवस्था मिलाएका छन् । यदि राजनीति वा अन्य कारणले आफ्नो देशमा बस्नै नसकिने अवस्था छ, ज्यान जोखिममा छ भन्ने कुरा पुष्टि गर्न सकेमा पनि क्यानडाले आश्रय दिन्छ ।
तर, यसका लागि आफुले दावी गरेर मात्र पुग्दैन । आधिकारिक कागजात पेश गर्नुपर्छ, जसमाथि मिहिन रुपमा छानबिन गरी प्रमाणित भएमा मात्र बस्न पाइन्छ । नभए त्यहाँबाट आफ्नो देश फार्काइदिन्छन् ।
यद्यपि क्यानडाको सुविधा के छ भने त्यहाँ गएर बसेपछि जबसम्म आफ्नो कागजात सही छैन भन्ने प्रमाणित हुँदैन, तबसम्म बस्न पाइन्छ । यसरी बस्दा सरकारले नै खान बस्न पैसा उपलब्ध गराउँछ ।
अवार्ड वा कार्यक्रमको गर्ने भन्दै क्यानडा जाने र उतै लुकिछिपी बसेको भन्ने पनि सुनिन्छ नि ?
नेपालीहरुमा यस्तो प्रवृत्ति पनि देखिन्छ । केही समयअघि पनि यस्तै खबर फैलिएको थियो । क्यानडामा कुनै अवार्ड कार्यक्रम गर्न भनेर नेपालीहरु गएका थिए र त्यसमध्ये कतिपय नेपाल फर्किएनन् भनेर मैले सुनेको हुँ । तर, यसको कुनै लिखित प्रमाण भने छैन ।
यसरी लुकीछिपी बस्नेलाई कारबाही गर्दैन ?
क्यानडा एकदम नियममा चल्ने देश हो । त्यहाँ कुनैपनि कुरा हचुवाको भरमा हुँदैन । जस्तो कुनै व्यक्ति दोषी हो भनेर औंल्याएर हुँदैन । प्रमाणित हुनुपर्छ । अदालतबाट दोषी प्रमाणित नभएसम्म केही कारबाही गरिदैन ।
क्यानडामा के गर्छन् नेपालीहरु ?
कतिले रोजगारी गर्छन्, कतिले आफ्नै व्यवसाय । धेरैले रेष्टुरेन्ट चलाएका छन् । कतिले व्यापार व्यावसाय गरेका छन् । घरजग्गाको कारोबार गर्ने पनि छन् ।
तर, जे काम गरेपनि त्यहाँ इमान्दार र पूर्ण लगावका साथ गर्नुपर्छ । नेपालमा जस्तो कामचलाउ काम गरेर मात्र पुग्दैन । त्यहाँ निर्धारित समयमा यन्त्रवत काम गर्नुपर्छ । हप्तामा पाँच दिन काम गर्नुपर्छ । बिहान ९ देखि ५ बजेसम्म कामको अवधि हुन्छ । यदि घर धान्न गाह्रो भयो भने पार्ट टाइम काम पनि गर्न पाइन्छ ।
त्यही घर गाडी किन्न कति सहज छ ?
उहिले क्यानडामा घर किन्न १० वर्ष लाग्थ्यो भने सन् २०१० देखी भने ३ देखी ५ वर्षमा नै घर किन्ने गरेका छन् । गाडी किन्न भनेको त नेपालमा साइकल किन्नु जस्तै हो । किनकि क्यानडामा गाडी नभई काम गर्नै सकिदैन । त्यस्तै क्यानडाको एउटा एमदम राम्रो पाटो भने तपाईंले जेसुकै काम गरेपनि एउटा गाडी, फ्ल्याट लिएर बस्न गाह्रो हुँदैन । यहाँको जस्तो घुस खानुपर्ने हुँदैन । यदि दुईचार वर्ष काम गरेर रकम जम्मा गर्न सके वा बैंकले पत्याएमा घर नै किन्न सकिन्छ । क्यानडामा घर किन्नलाई अहिले डाउन पेमेन्ट १० देखि २५ प्रतिशत तिर्नुपर्ने हुन्छ ।