लोडसेडिङ अन्त्य घोषणा गर्दा धेरैले मजाकको विषय बनाएका थिए : प्रधानमन्त्री दाहाल


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
लोडसेडिङ अन्त्य घोषणा गर्दा धेरैले मजाकको विषय बनाएका थिए : प्रधानमन्त्री दाहाल

‘चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुने विश्वास छ’

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गर्ने घोषणा गर्दा धेरैले मजाकको विषय बनाएको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दैनिङ १८ घण्टासम्म लोडसेडिङको अवस्थालाई अन्त्य गरेको बताएका हुन् ।

‘विद्युत् प्राधिकरणको ३८औं वार्षिक उत्सवलाई सम्बोधन गर्न यस रोस्ट्रममा आउँदै गर्दा मैले २०७३ को साउनमा म दोस्रोपटक प्रधानमन्त्री हुँदा देशले बर्सातको समयमा पनि बेहोरिरहेको लोडसेडिङको कहालीलाग्दो अवस्थालाई सम्झिरहेको छु । त्यसबेला बिजुलीको पहुँच भएको ठाउँमा दिनमा १८ घण्टासम्म लोडसेडिङ हुने गरेको थियो भने देशका करिब ४० प्रतिशत जनता त विद्युत्को पुहँचभन्दा बाहिर थिए…,’ उनले भने, ‘त्यस्तो बेला मैले ३ महिनाभित्र देशमा लोडसेडिङ अन्त्य गर्ने र प्राधिकरणलाई नाफामा लाने घोषणा गर्दा धेरैले त्यसलाई मजाकको विषय बनाएका थिए, कतिले त लोडसेडिङ अन्त्य भयो भने खुल्लामञ्चमै आत्महत्या गर्नेसम्म घोषणा गरेका थिए ।’

प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई ल्याएपछि १८ घण्टाको लोडसेडिङ अन्त्य गरेर देशलाई उज्यालोतर्फ अघि बढाएको पनि प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री दाहालले आफूले सरकारको नेतृत्व गर्दा ऊर्जा क्षेत्रको विकासका लागि दूरगामी महत्त्वका निर्णयहरू भएको बताएका छन् । ‘प्राधिकरणभित्र नीतिगत सुधार, प्राधिकरणको घाटा अपलेखन गरी वित्तीय सुरक्षा प्रदान, प्राधिकरण व्यवस्थापन र संस्थाको नेतृत्व परिवर्तन गरी लोडसेडिङलाई पूर्णरूपमा अन्त्य गर्दै संस्थालाई नाफामा लाने काम भएको कुरा विदितै छ,’ उनले भने । नेपाल विद्युत प्राधिकरणको संलग्नतामा आगामी दिनमा १,२०० मेगावाट क्षमताको बूढीगण्डकी जलासय तथा १०,८०० मेगावाट क्षमताको बहुआयमिक कर्णाली चिसापानी जस्ता ठूला जलविद्युत आयोजनाहरूको निर्माण अघि बढाउने योजना रहेको प्रधानमन्त्री दाहालले बताए ।

प्रधानमन्त्री दाहालले आगामी महिनामा हुने आफ्नो चीन भ्रमणका क्रममा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुनेसमेत बताएका छन् । दाहालले भने, ‘हामी अर्को छिमेकी मित्रराष्ट्र चीनसँग पनि चिलिमे–केरुङ २२० के.भी. प्रसारण लाइन निर्माणमार्फत जोडिन सोसँग सम्बन्धित अध्ययन कार्य पूरा गरी कार्यान्वयन तहमा प्रवेश गर्ने योजनाका साथ अघि बढेका छौँ । मेरो आगामी महिनामा हुने चीन भ्रमणमा ऊर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्त्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु ।’ दाहाल असोज पहिलो साता संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर न्युयोर्कबाटै चीन जाने कार्यक्रम रहेको छ ।

नेपालले हरित हाइड्रोजन उत्पादन र प्रयोगमा पनि विशेष ध्यान केन्द्रित गर्नुपर्ने बेला आइसकेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सरकारले चाँडै हरित हाइड्रोजनसम्बन्धी नीति जारी गर्ने पनि बताए । ‘हरित हाइड्रोजन व्यापारिक रूपले सम्भाव्य हुने अवस्थामा नेपाल हरित ऊर्जाको केन्द्र बन्नेछ । यसबाट सरकारको स्वच्छ र नवीकरणीय ऊर्जाको विकास र खपत गर्दै कार्बन उत्सर्जन घटाउने लक्ष्यमा सहयोग पुग्नेछ,’ उनले भने ।

देशले आउँदो दस वर्षमा जलविद्युत्को तीव्र विकास र अधिकतम स्वदेशी खपतबाट व्यग्रतापूर्वक ठूलो आर्थिक रूपान्तरणको तयारी र प्रतीक्षा गरिरहेको पनि प्रधानमन्त्री दाहालको भनाइ छ । हाल करिब ४५० मेगावाट विद्युत निर्यात भइरहेको अवस्थाबाट नेपालको विद्युत् निर्यातलाई १० वर्षमा १० हजार मेगावाटसम्म पुर्‍याउने गरी द्विपक्षीय सम्झौतामा नेपाल र भारतबीच प्रारम्भिक हस्ताक्षर भइसकेको पनि उनले बताए ।