बढ्दो बाँझोपन : समान समस्या, दोष महिलालाई


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
बढ्दो बाँझोपन : समान समस्या, दोष महिलालाई

चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दैछ । समान समस्या हुँदाहुँदै पनि यसको महँगो मूल्य महिलाले चुकाउनु परिरहेको छ ।

२९ साउन, काठमाडौं । नुवाकोटका ३० वर्षका बद्री रिजाल र २३ वर्षीया सुष्मा घिमिरे (नाम परिवर्तन) को विवाह भएको पाँच वर्षसम्म पनि सन्तान भएनन् ।

आफन्त तथा गाउँलेले सन्तान नभएको भनेर महिलाको कुरा काट्न थाले । जबकि उनको श्रीमानलाई यौनसम्पर्क गर्न इच्छै हुँदैनथ्यो । चिकित्सकसँग जाँच गराउँदा पुरुषमा ‘क्लाइनफेल्टर सिन्ड्रोम’  अर्थात् शुक्रकीट नै उत्पादन नहुने समस्या रहेको पुष्टि भयो । यो कुरा परिवारका अरु सदस्यलाई पनि थाहा थियो ।

आफूमा होइन, श्रीमानमा समस्या छ भनेर बताउने हिम्मत उनमा थिएन । उनमा डिप्रेसनको संकेत देखिएपछि एक वर्ष अगाडि परिवार सहित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल आइपुगे । डोनर बैंक मार्फत शुक्रकीट ल्याएर पाठेघरमा राखिदिने र बच्चा जन्माउने घरपरिवारको योजना थियो ।

तर, यो विषयमा महिला अनभिज्ञ थिइन् । चिकित्सकले महिलालाई पनि थाहा दिनुपर्ने र कानुनी रूपमा सरकारी अस्पतालमा डोनर बैंक मार्फत शुक्रकीट उपलब्ध नभएको भन्दै परिवारलाई फर्काइदिए ।

‘छोरामा समस्या हुँदा पनि समाजमा इज्जत तथा पौरुषत्वका लागि पनि विवाह भइरहेकाले धेरै महिला पीडित भएका उदाहरण छन्’ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. श्रीप्रसाद अधिकारी भन्छन्, ‘पुरुषको समस्यालाई ढाकछोप गर्ने र बाँझोपन महिलाको मात्रै समस्या हो भन्ने भ्रम अझै पनि छ ।’

हुम्लाका २८ वर्षका रामबहादुर विक र २२ वर्षीया पार्वती विक (नाम परिवर्तन) ले विभिन्न स्वास्थ्य संस्था चहारे, धामीझाँक्रीकहाँ पुगे । तर विवाह भएको चार वर्ष बितिसक्दा पनि सन्तान जन्मिएनन् । पुरुषले श्रीमतीको कमजोरी रहेको ठाने । घरपरिवारले पनि अर्को विवाहको लागि दबाब दिन थाले । दुई महिना अगाडि प्रसूति तथा स्त्रीरोग अस्पताल आइपुगेका विक दम्पतीको स्वास्थ्य परीक्षणमा पुरुषको शुक्रकीटको मात्रा कम भएको पत्ता लाग्यो ।

पुरुष र महिला समान समस्या : दोष महिलालाई मात्रै

पछिल्ला दिनमा बाँझोपनको समस्या बढ्दै गएको छ । उपचारमा संलग्न चिकित्सकको अनुभवमा नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् । प्रसूति अस्पतालमा पछिल्ला वर्षमा निःसन्तान उपचार कक्षमा वाषिर्क ८ हजारभन्दा बढीले सेवा लिएको तथ्यांक छ ।

बर्सेनि यो संख्या बढिरहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ६ हजार २३४, २०७८/७९ मा ७ हजार ५२३ र २०७९/८० मा ८ हजार ३५३ जना निःसन्तानको समस्या लिएर अस्पताल पुगेका थिए । पछिल्लो पाँच वर्षमा निःसन्तानको समस्या लिएर ३५ हजारले सेवा लिएको अस्पताल प्रशासनको तथ्यांक छ ।

गर्भ बस्न नसक्नुमा नेपाली समाजले बढी जसो महिलालाई दोष लगाउँदै आएको छ । जसका कारण उनीहरूले मानसिक र शारीरिक हिंसा भोग्न बाध्य छन् । सिन्धुपाल्चोककी एक महिलाले सन्तान नभएका कारण दैनिकजसो सासूको वचन सहनुपर्छ ।

‘समाज, आफन्तले दैनिकजसो सोधिरहने एउटै प्रश्न ! त्यसमाथि पनि सासूले गर्ने हेला सहेर बस्नुपरेको छ’ ती महिला गुनासो गर्छिन्, ‘तीन वर्षदेखि धेरै स्वास्थ्य संस्था चहारिरहेका छौं । तर, पनि बच्चा बसेको छैन ।’

पछिल्ला दिनमा महिलामा बच्चा जन्माउने अक्षमताले डिप्रेसन, सामाजिक अपहेलना, घरपरिवारबाट नै शारीरिक हिंसा र सम्बन्धविच्छेदसम्मका घटना हुने गरेका छन् ।

‘मेरो क्लिनिकमा आउने धेरैजसो महिलाले दुःख पोख्छन् । परिवारलाई एउटा बच्चा पनि दिन नसक्दा श्रीमानबाट हेंला र समाजको तिरस्कारका कारण उनीहरू मर्न पाए नि हुन्थ्यो भन्नेसम्मको तनावको अवस्थामा पुगेका हुन्छन्’, वीर अस्पतालमा कार्यरत वंशाणुगत विशेषज्ञ डा. नीलम ठाकुर भन्छिन् ।

पहिलो कारण : ढिलो विवाह र उच्च तापक्रममा बस्नु

विवाहपछि महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब एक वर्षसम्म वा त्योभन्दा बढीको समयावधिमा पनि बच्चा नभएको अवस्थालाई निःसन्तान वा बाँझोपन भनेर बुझिन्छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बाँझोपन विश्वव्यापी स्वास्थ्य समस्याको चुनौतीका रूपमा रहेको जनाएको छ । डब्लूएचओको पछिल्लो अध्ययनले १७.५ प्रतिशत युवायुवतीमा बाँझोपनको समस्या छ । अर्थात्, ६ जनामध्ये एक जना युवायुवती बाँझोपनको समस्याबाट प्रभावित छन् ।

अझ उच्च आय भएका देशमा बाँझोपनको समस्या भयावह बन्दै गएको छ । सन् २०२३ मा प्रकाशित सो अध्ययनले उच्च आय भएका देशमा १७.८ प्रतिशत र मध्यम तथा न्यून आय भएका देशमा १६.५ प्रतिशत युवायुवती बाँझोपनको समस्यामा रहेको देखाएको छ ।

प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. कृतिपाल सुवेदीका अनुसार, समाजमा बाँझोपनको समस्या महिलामा मात्रै हुने भन्ने भ्रम छ । तर, पुरुषमा पनि महिलाजत्तिकै समान कमजोरीहरू हुन्छन् । महिला र पुरुषको दुवै साझा कारणबाट बाँझोपनको समस्या भइरहेको हुन्छ ।

पुरुषमा शुक्रकीटको मात्रा कम हुँदा, शुक्रकीट स्वस्थ नहुँदा वा शुक्रकीट नै उत्पादन (एजोस्परमिया) वा अण्डकोष खराब हुँदा गर्भ बस्दैन । यस्तै, महिलामा भने धेरै अण्डा बन्ने वा अण्डा नै नबन्ने, पाठेघरको मुख बन्द हुँदा, पाठेघरको बनावटमा गडबड हुँदा, यौनरोगका कारण वा पाठेघरमा ट्युमर वा मासु पलाएको कारणले पनि गर्भ बस्दैन । यसका साथै वंशाणुगत कारणले पनि बाँझोपनको समस्या निम्त्याइरहेको हुन्छ ।

पछिल्ला दिनमा ढिलो विवाह गर्ने प्रचलनले पनि प्रजनन क्षमतामा कमी आउन थालेको छ । प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.सुवेदीका अनुसार, २० देखि ३० वर्षसम्म बच्चा जन्माउने उपयुक्त उमेर हो । तर, ३५ वर्ष नाघेका महिलामा अण्डाको गुणस्तरमा ह्रास आउने र अण्डाको उत्पादन नै कम हुँदै जान्छ ।

‘जति उमेर बढ्दै गयो त्यति महिलामा राम्रो अण्डाहरूको मात्रामा कमी हुन्छ । जसको कारण बाँझोपनको समस्या पनि बढ्छ’ डा. सुवेदी भन्छन्, ‘अहिलेका महिला करियर र व्यवसायमा ध्यान दिंदा विवाह ढिलो हुनपुग्छ । जागिरमा लागेर विवाह गर्छु भन्दा बच्चा पाउने उमेर पनि ढिलो भइसकेको हुन्छ ।’

यस्तैगरी, धेरै तापक्रममा बस्ने पुरुषमा बाँझोपन देखिने हुन्छ । चिकित्सकको अनुभवमा खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुषमा अहिले बाँझोपन प्रमुख समस्याको रूपमा देखिएको छ ।

‘उच्च तापक्रमका कारणले गर्दा अण्डकोषले वीर्य राम्रोसँग उत्पादन गर्न सक्दैन । शहरी क्षेत्रमा काम गर्ने ड्राइभर, कुक लगायत मानिसमा वीर्यको क्षमतामा ह्रास आएको छ’ डा. सुवेदी थप्छन्, ‘त्यसबाहेक बच्चामा हाडे आएको कारण ग्रन्थीमा भएको समस्या सँगै अण्डकोषमा पनि संक्रमण हुँदा बाँझोपनको समस्या निम्तिन्छ ।’

पछिल्लो समय धेरै संख्यामा युवा विदेश जाने क्रम बढ्दा बाँझोपनको समस्या हृवात्तै बढेको वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजाल बताउँछन् । डा. रिजालको अनुभवमा केही वर्ष अगाडिसम्म विवाहित दम्पतीमा १५ प्रतिशतमा बाँझोपनको समस्या भएको अनुमान गरे पनि अहिले यो संख्या झण्डै २५ प्रतिशतमा उकालो लागेको छ ।

‘युवा अवस्थामा विदेशिएको श्रीमान् घर फर्किंदा एक-दुई महिनाको लागि मात्रै फर्किन्छन् । उनीहरूबाट बच्चा हुन नसक्ने धेरै कारण हुन्छ’ डा. रिजाल भन्छन्, ‘नेपालको परिवेशबाट विदेशमा उच्च तापक्रममा बस्दा युवाको प्रजनन् क्षमतामा कम हुन्छ ।’

यस्तै, विदेशी मुलुकमा भएको यौनरोग सर्ने सम्भावना युवाहरूमा धेरै हुने गर्छ । उनीहरू घर फर्किएर आएपछि उक्त यौनरोग श्रीमतीमा सारिरहेका हुन्छन् । नेपालमा अहिलेकै क्रममा विदेश जाने अवस्था रहिरहे बाँझोपनको भयावह अवस्था आउन सक्ने डा.रिजालको दाबी छ ।

भ्रूण विशेषज्ञ डा. विनिता थापाको अनुभवमा बाँझोपन भएका दम्पती अत्यधिक तनाव लिएर बसेका हुन्छन् । नेपाली सामाजिक परिवेशमा महिलाले नै बाँझोपनको भार बोकिरहेका हुन्छन् ।

स्त्रीरोग विशेषज्ञ डा.अधिकारी बाँझोपन नेपालमा ठूलो स्वास्थ्य समस्या बन्दै गएको बताउँछन् । प्रसूति अस्पतालमा दैनिक ६० देखि ७० जना निःसन्तानको समस्या लिएर आउने गर्छन् । उनका भनाइमा, अस्वस्थ जीवनशैली, खानपान, धूम्रपान, मद्यपान जस्ता क्रियाकलाप पनि बाँझोपनका कारण हुन् । उनी भन्छन्, ‘७० देखि ८० प्रतिशतसम्म बाँझोपन हाम्रो आफ्नै कारणले हुन्छ । यो सबै कारण आफ्नो व्यवहार र दैनिक क्रियाकलापमा भर पर्छ ।’

‘खानपान परिवर्तन गर्ने, व्यायाम गर्ने, मद्यपान, धूम्रपान नगर्ने, मेटोपनलाई घटाउने र बच्चा बस्ने सही समय कुन भनेर थाहा पाउँदा ८० प्रतिशत समस्या काउन्सिलबाट हल हुन्छ’ डा. अधिकारी भन्छन्, ‘बाँकी १० प्रतिशत महिलालाई अण्डा बन्ने औषधि दिनुपर्ने र आईयूआई प्रविधि र तीन-चार प्रतिशतलाई आईभीएफ उपचार आवश्यक पर्छ । दुई-तीन प्रतिशतमा भने बच्चा नै बस्दैन ।’

यस्तै, अर्को समस्या हो, वंशाणुगत समस्या । वीर अस्पतालमा कार्यरत वंशाणुगत रोग विशेषज्ञ डा. ठाकुरका अनुसार, बाँझोपन भएका कारणमध्ये आनुवंशिक समस्या १५ देखि २० प्रतिशतलाई हुन्छ ।

पुरुषमा शुक्रकीट कम हुने वा हुँदै नहुने र भए पनि क्रियाशील नरहने हुन्छ । ‘कुनै पनि दम्पती शारीरिक हिसाबले सक्षम हुँदाहुँदै पनि गर्भ बस्न सकेको हुँदैन । क्रोमजोम डिसअर्डर, जीनको डिफोर्ट लगायत कारणले समस्या देखिएको हुन्छ’, डा. ठाकुर भन्छिन् ।

विवाह भएको पाँच वर्षपछि मात्रै बच्चा पाउन ‘ग्याप’ राख्दा पनि बाँझोपन हुने गरेको हो । सामान्यतया बिहे भएपछि महिलामा संक्रमणको सम्भावना बढी हुन्छ । संक्रमणका कारण कसैमा लामो समयसम्म बच्चा बसेन भने पनि बाँझोपन बढाउँदै जान्छ ।

डा. सुवेदीका अनुसार, असुरक्षित गर्भपतन अर्को कारण हो । ‘पटक-पटक गर्भपतन गराउँदा वा असुरक्षित गर्भपतनले संक्रमण गराइरहेको हुन्छ । लामो समय परिवार नियोजनका साधन प्रयोगले पनि बाँझोपन बढाइरहेको हुन्छ’, डा. सुवेदी थप्छन् । त्यस्तै, पुरुषले उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलको औषधि सेवन गर्दा पनि वीर्यको गुणस्तरमा ह्रास ल्याइरहेको हुन्छ ।

अत्यधिक तनावले निम्त्याउने मानसिक समस्या

विज्ञका अनुसार गर्भ रहन महिलाको डिम्ब र पुरुषको शुक्रकीट बीचको मिलन हुनुपर्छ । महिलाको गर्भाशयमा महिनामा एकपटक अण्डा उत्पादन हुन्छ । महिनावारी भएको दिनबाट गन्ती सुरु गर्दा १४ दिनमा अण्डा उत्पादन हुन्छ । यसरी उत्पादन भएको अण्डा ४८ घन्टासम्म बाँच्छ । त्यस्तै, पुरुषको शुक्रकीट भने ७२ घन्टासम्म जीवित रहन्छ ।

‘अण्डा उत्पादन भएको दुई दिनभित्र यौनसम्पर्क भएको अवस्थामा मात्रै बच्चा बस्छ । त्यसबाहेक महिनाभर जति यौनसम्पर्क भए पनि गर्भ बस्दैन’, डा. सुवेदी भन्छन् । उनका अनुसार, कतिपय दम्पतीमा सही समयमा यौनसम्पर्क नहुँदा बच्चा बस्न सकिरहेको हुँदैन ।
पछिल्लो समय भविष्य बनाउन वा कामको सिलसिलामा श्रीमान्-श्रीमती छुट्टा-छुट्टै बस्ने प्रवृत्ति बढ्दो छ । दुई-चार वर्षपछि भेट हुँदा एक-दुई महिनाभित्रमा जसरी पनि बच्चा बस्नुपर्छ भन्ने तनावमा दम्पती हुन्छन् । तर, यस्तो अवस्थामा बच्चा बस्ने सम्भावना पनि न्यून हुन्छ ।

‘हरेक यौनसम्पर्क तनावपूर्ण वातावरणमा हुँदा शुक्रकीट र अण्डाको गुणस्तर घट्छ । जसका कारण बच्चा बसिरहेको हुँदैन’, डा. सुवेदी भन्छन् ।

परीक्षण र उपचारमा सकस

हालसम्म बाँझोपन समस्या लिएर आएको संख्या र तिनको उपचारमा पहुँचबारे यकिन तथ्यांक सरकारसँग छैन । भ्रूण विशेषज्ञ डा. विनिता थापाको अनुभवमा बाँझोपन भएका दम्पती अत्यधिक तनाव लिएर बसेका हुन्छन् । नेपाली सामाजिक परिवेशमा महिलाले नै बाँझोपनको भार बोकिरहेका हुन्छन् ।

विवाह भएको ५-७ वर्षसम्म बच्चा नभएपछि परीक्षण गर्न महिला मात्रै स्वास्थ्य संस्था धाउने कैयौं उदाहरण छन् । ‘अस्पताल आएका अधिकांश महिलाको आफैंमा समस्या हुनसक्ने जवाफ दिन्छन् । तर, उहाँको रिपोर्ट नर्मल आएपछि पुरुषलाई ल्याउन सुझाव दिन्छौं’ डा. थापा भन्छिन्, ‘पुरुष त परीक्षण गर्न आउने कुनै परिपाटी नै छैन ।’

चिकित्सकको अनुभवमा पुरुष परीक्षण गर्न नआउने मुख्य कारण ‘पौरुषत्व’ का कारण हो । किनकि समाजले हेर्ने दृष्टिकोण र आफैंमा कमी-कमजोरी देखिएमा हुने हीनताबोधका कारण पनि उनीहरू परीक्षणको दायरामा आउँदैनन् ।

निःसन्तानपनको उपचार सेवा विकेन्द्रीकरण नभएका कारणले देशको दुर्गम क्षेत्रबाट नै काठमाडौंसम्म धाउनुपर्ने बाध्यता छ । डा. थापाका अनुसार निःसन्तानपनको उपचार महिनावारीको दोस्रो दिनबाट सुरु गरेर दुई हप्तासम्म स्त्रिmनिङ गरेर परीक्षण गर्नुपर्ने हुन्छ । उक्त परीक्षण पनि सफल नभएमा अर्को महिनावारीमा आईयूआई (इन्ट्रा युटेराइन इन्सेमिनेशन) गर्नुपर्ने हुन्छ ।

‘दुर्गम क्षेत्रबाट आउने दम्पतीलाई आउने-जाने खर्चभन्दा काठमाडौंमा एक महिना बस्न सस्तो पर्छ’ डा. थापा भन्छिन्, ‘निःसन्तापनको लामो उपचार हुँदा काठमाडौंमा नै काम खोजेर बसिरहेका धेरै दम्पती पनि छन् ।’

चिकित्सकको अनुभवमा धेरै दम्पतीले उचित परामर्श वा गुणस्तरीय सेवा नपाउँदा वर्षौंदेखि विभिन्न क्लिनिक वा स्वास्थ्य संस्थामा भौंतारिइरहेका छन् । ‘वर्षौंदेखि अनेक परीक्षण र लाखौं खर्च गरेपछि अन्तिममा प्रसूति अस्पताल आइपुगेका हुन्छन् । साधारण परामर्शले पनि अधिकांश दम्पतीको बच्चा बसेको धेरै उदाहरण छन्’, डा. थापा बताउँछिन् ।

समाजमा यौनको बारेमा खुलेर कुरा गर्न हुने भन्ने मान्यताका कारण पनि अधिकांश केस अस्पतालसम्म आइपुग्दैनन् । ‘यौनसम्पर्क गरेर पिसाब फेर्दा सबै वीर्य जान्छ भन्ने भ्रमका कारण धेरै महिला पिसाब फेर्न जाँदैनन् । जसका कारण महिलाले विभिन्न संक्रमण बोकिरहेका हुन्छन् । पहिला त, स्वस्थ यौनसम्पर्कको बारेमा जनमानसमा बुझाउन जरूरी छ’, डा. सुवेदी भन्छन् ।

महँगो सेवा

बाँझोपन भएका ७० प्रतिशतको सामान्य उपचारबाटै बच्चा हुन्छ । अण्डाको क्षमता कम भएका कतिपय महिलाका हकमा भने औषधि र हर्मोन दिएर अण्डाको क्षमता बढाउने गरिन्छ । काउन्सिल र औषधिको माध्यमबाट बच्चा बसेन भने आईयूआई गर्नुपर्ने चिकित्सक बताउँछन् । आईयूआई प्रविधि मार्फत श्रीमान्को शुक्रकीटलाई मेसिनमा सफा गरेर सक्रिय शुक्रकीटलाई पाठेघरमा राखिन्छ ।

‘श्रीमान्-श्रीमती बीच यौनसम्पर्क हुँदा शुक्रकीट पुग्नुपर्ने ठाउँमा पुग्न सकिरहेको हुँदैन । यस्तो केसमा पुरुषको वीर्य स्खलन गराएर र राम्रो शुक्रकीटलाई सीधै महिलाको आमाशयमा राख्न सकिन्छ । जुन ओपीडी मार्फत नै सेवा दिइन्छ’, डा. थापा भन्छिन् ।

अहिलेसम्म केन्द्रीय तहका सरकारी अस्पतालमध्ये परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल र प्रतिष्ठानतर्फ बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र बाँझोपनको उपचार हुन्छ । हाल प्रसूति अस्पतालमा दैनिक २-३ जनाले आईयूआई सेवा लिन्छन् ।

यो निकै सरल विधि हो । एक पटक आईयूआई गर्न १० हजारसम्म खर्च लाग्न सक्छ । बाँझोपन भएका दम्पती अस्पताल आए भने करिब ६ पटकसम्म आईयूआई गर्न मिल्छ । आईयूआई सफल भएन भने मात्र आईभीएफमा जान सकिने चिकित्सक बताउँछन् ।

अहिलेसम्म केन्द्रीय तहका सरकारी अस्पतालमध्ये परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल र प्रतिष्ठानतर्फ बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्र बाँझोपनको उपचार हुन्छ । हाल प्रसूति अस्पतालमा दैनिक २-३ जनाले आईयूआई सेवा लिन्छन् ।

चिकित्सकका अनुसार पटक-पटक आईयूआई गर्दा पनि सफल नभएमा आईभीएफ -इन (भिट्रो फर्टिलाइजेसन) गर्नुपर्ने हुन्छ । ‘आईभीएफ’ प्रविधिबाट कृत्रिम रूपमा जन्मेका बच्चाहरू नै टेस्टट्युव बेबी हुन् । प्राकृतिक रूपमा बच्चा जन्माउन नसक्ने बाध्यता भएकाहरूको लागि ‘आईभीएफ’ प्रविधिले सहयोग गर्छ ।

डा. अधिकारीका अनुसार महिलाको उमेर ३५ वर्षभन्दा माथि भएर अण्डाको गुणस्तर नभएमा, श्रीमान्को शुक्रकीटको क्षमता पनि घट्दै गएमा आईभीएफ गर्नुपर्छ । पाठेघरको नली पूरा बन्द हुँदा पनि सन्तान जन्मिंदैन । सन्तान जन्माउन नसक्ने महिलाहरूको पाठेघरमा पानी जम्न सक्छ । हर्मोन गडबडी र पाठेघरको गर्भाशयको मुख ज्यादै सानो हुन्छ । यस्तो अवस्था भएका महिलाहरूले सन्तान जन्माउने उत्तम विकल्प आईभीएफ प्रविधि अपनाउनुपर्छ । तर, यो प्रक्रिया अलि लामो हुन्छ ।

डा. अधिकारीका अनुसार एक महिनाबाट नै महिलालाई हर्मोन र औषधि दिएर तयारी गर्नुपर्छ । महिनावारी भएको दुई दिनमा महिलालाई बोलाएर सुई लगाउनुपर्छ । आईभीएफ दुई वटा ओभरी -डिम्बाशय) २० वटासम्म अण्डा बनाउनुपर्ने हुन्छ ।

अण्डा परिपक्व भइसकेपछि महिलालाई बेहोश बनाएर सबै अण्डा निकालेर ल्याबमा राखिन्छ । त्यसमा शुक्रकीट छोडिन्छ ।

‘महिलाको डिम्ब र पुरुषको शुक्रकीटलाई निकालिसकेपछि प्रयोगशालामा एउटा प्लेटमा राखी इन्क्युवेटरमा राखिन्छ । जहाँ फर्टिलाइजेसन गरिन्छ । यसरी बनेको भ्रूणलाई ४८ घन्टापछि महिलाको गर्भाशयमा प्रतिस्थापित गरिन्छ’ डा. अधिकारी भन्छन्, ‘महँगो प्रविधि हुने भएकाले खर्च धेरै पर्न जान्छ ।’

डा. अधिकारीका अनुसार सरकारी अस्पतालमा विशेषज्ञ जनशक्ति एकदमै कम छन् । जसले गर्दा आईभीएफका लागि पालो कुर्नपर्ने बाध्यता समेत छ । परोपकार अस्पतालमा आईभीएफ गर्ने दक्ष जनशक्ति तीन चिकित्सक सहित चार जना नर्सको टिम मात्रै छ ।

‘सरकारको कार्यक्रम अन्तर्गत अस्पतालमा सेवा भए पनि दक्ष जनशक्ति नै छैनन् । निःशुल्क हुनुपर्ने सेवा सर्वसाधारणको लागि महँगो बन्न पुगेको छ’, डा. अधिकारी भन्छन् । अहिलेसम्म प्रसूति अस्पतालमा ४० दम्पतीले आईभीएफ सेवा लिएका छन् ।

नेपालमा बाँझोपन सम्बन्धी अध्यापन नहुने भएकाले सरकारसँग विशेषज्ञ चिकित्सकको अभाव छ । प्रसूतिगृहमा आईभीएफका लागि दुई लाख र आईयूआईका लागि १० हजार रुपैयाँसम्म लाग्छ । निजी अस्पतालमा दश्ाौं लाख खर्च गरेर आईभीएफ गराउन सर्वसाधारण बाध्य छन् । चिकित्सकका अनुसार, आईभीएफ गर्दा पनि सफल हुने २५ देखि ३० प्रतिशत मात्रै हो ।

वीर अस्पतालमा कार्यरत डा. नीलम ठाकुर बाँझोपनका समस्या भएका धेरै बिरामी २५-३० लाख खर्च गरेर आफूकहाँ आइपुग्ने गरेको बताउँछिन् । ‘कतिपय दम्पतीले समय, स्वास्थ्य र पैसा समेत गुमाएका हुन्छन् । आईभीएफ प्रविधि मार्फत गर्भधारण गर्न २५-३० लाख खर्च गरिसकेपछि आफूसँग बच्चा जन्माउन सक्ने क्षमता नभएका महिला समेत आउने गरेका छन्’, डा. ठाकुर भन्छिन् ।

यस्तै, बाँझोपनको उपचारका लागि खल्तीको पैसा सकेर घर, जग्गा धितोमा राखेर ऋण काढेर आउने दम्पती पनि हुने गरेको भ्रूण रोग विशेषज्ञ डा.थापा बताउँछिन् ।

‘सरकारी अस्पतालमा आईभीएफ गर्दा धेरै महँगो पर्दैन । तर, निजीमा आईभीएफ गरेका केही दम्पतीले घर नै बेचेर अन्तिममा प्रसूति अस्पताल आएका धेरै केस छन्’ डा. ठाकुर भन्छिन्, ‘प्रसूति अस्पतालमा आइपुग्दा उनीहरू ५० हजार समेत निकाल्न नसक्ने अवस्थामा हुन्छन् ।’

बल्ल सेवा विकेन्द्रीकरण हुँदै

सरकारले हालसम्म बाँझोपनलाई कानुनी रूपमा सम्बोधन गरेको छैन । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत परिवार नियोजन तथा प्रजनन स्वास्थ्य शाखा प्रमुख कविता अर्याल परिवार नियोजन नीतिमा टेकेर बाँझोपनको बहस सुरु भएको बताउँछिन् ।

उनका भनाइमा, बाँझोपनको विभिन्न सेवाका लागि कुन-कुन अस्पताललाई दिने भन्ने विषयमा निर्देशिका तयार भएको छ । उक्त निर्देशिका स्वास्थ्य मन्त्रालय पुगेको र पास हुने क्रममा छ ।

यस्तै, आर्थिक वर्ष २०८०/८१ को बजेटमा सबै संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा क्रमशः विस्तार गरिने उल्लेख छ । सरकारको नीति कार्यक्रम अनुसार नै जनकपुर, सुर्खेत, बुटवल र सेती अस्पतालमा आईयूआई सेवा विस्तारको लागि स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको र अबको केही समयमै सेवा विस्तार हुने अर्यालले बताइन् ।

हाल सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ ले प्रजनन स्वास्थ्यलाई समेटेको छ । जसमा महिलालाई स्वास्थ्य संस्थाबाट प्रजनन सम्बन्धी परीक्षण, परामर्श तथा उपचारको अधिकार हुनेछ । हालसम्म सरकारी तवरमा पाठेघरको मुखको क्यान्सर, आङ खस्ने समस्या र प्रजनन फिस्टुला सम्बन्धी कार्यक्रम मात्रै समावेश छन् ।

तर, यी कार्यक्रम अन्तर्गत परामर्श, घरदैलो, स्क्रिनिङ तथा उपचार सेवा सरकारले निःशुल्क गर्ने घोषणा गरे पनि कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् । बाँझोपनको समस्या रहेका सबैलाई उपचारको दायरामा ल्याउन अबदेखि ग्रामीण तहसम्मै स्वयंसेवी खटाउने सरकारको योजना छ ।

विज्ञ चिकित्सकका भनाइमा, स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीबाट उचित परामर्श मात्रै दिनसके बाँझोपनको ५० प्रतिशत समस्या हल हुन्छ । सरकारले अहिले आईभीएफ केन्द्र स्थापना गर्नेभन्दा पनि स्थानीय तहमा स्वास्थ्यकर्मी मार्फत परामर्शको सेवालाई विस्तार गर्नुपर्ने डा. सुवेदी बताउँछन् ।

‘स्थानीय तहमा सही परामर्श दिनसके यस्ता दम्पती केन्द्रका अस्पतालसम्म भौंतारिनुपर्दैन । समयमै समस्या सम्बोधन नहुँदा धेरै गम्भीर अवस्थामा दम्पतीहरू अस्पताल आइपुगेका हुन्छन्’ डा. सुवेदी थप्छन्, ‘जिल्ला तहका अस्पतालमा बाँझोपन सम्बन्धी स्वास्थ्यकर्मीबाट परामर्श दिन सकियो भने ५० प्रतिशत दम्पतीको समस्या तल्लो तहबाटै समाधान हुन्छ ।’