‘अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै


[ss_social_share]
लेखक : admin      ४ महिना अगाडि मा प्रकाशित     
‘अतिवादी’ धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै

धार्मिक कथा वाचकका रूपमा उदाएका शास्त्री भारतमा हिन्दु सनातनीमाझ जति लोकप्रिय छन्, उत्तिकै विवादित पनि, उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ।

नयाँदिल्ली‚ नवलपुर — धार्मिक विद्वेष र सामाजिक सद्भाव भड्काउने भनेर आरोप लाग्दै आएका भारतीय धर्मगुरुलाई अग्रणी व्यापारिक घराना चौधरी समूहले नेपाल ल्याउन लागेको छ । चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याउने भएको हो ।

चौधरी ग्रुप एवं सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीको निमन्त्रणामा शास्त्री आउन लागेका हुन् । शाश्वत धामका व्यवस्थापक अशोक घर्तीका अनुसार शास्त्रीले आगामी भदौ २, ३ र ४ मा कथा वाचन गर्नेछन् । ‘हनुमन्त कथा वाचनका लागि शास्त्रीजी आउँदै हुनुहुन्छ,’ घर्तीले भने, ‘हामी तयारीमा जुटिरहेका छौं ।’ शास्त्री भदौ १ मा नेपाल आएर पशुपतिनाथको दर्शनपछि नवलपुर पुग्ने तयारी छ । उनी कथा वाचन अवधरिभर चौधरी ग्राम परिसरमै बस्नेछन् । उनको कथा वाचन समूह ५० देखि ६० जनासम्मको रहने भनिएको छ । शाश्वत धाम चौधरी समूहको उद्योग ग्राम परिसरमा रहेको छ । त्यहाँ पण्डाल लगाएर कथा वाचनस्थल तयार गरिएको छ । व्यवस्थापक घर्तीका अनुसार एक दिनमा करिब ११ हजार जनाले कथा सुन्न मिल्ने गरेर स्टेज तयार गरिँदै छ । प्रत्यक्ष उपस्थित नहुनेका लागि सामाजिक सञ्जाल तथा डिजिटल डिस्प्लेमार्फत कथा सुन्ने व्यवस्था मिलाइने घर्तीले जानकारी दिए ।

पछिल्ला दिनमा धार्मिक कथा वाचकका रूपमा उदाएका शास्त्री भारतमा हिन्दु सनातनीमाझ जति लोकप्रिय छन्, उत्तिकै विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ । उनले हिंसा भड्काउने खालका घृणास्पद अभिव्यक्ति दिने गरेका छन् । भारतको हरेक धार्मिक सभामा उनले ‘हिन्दुस्थानमा रहना है तो सीताराम कहना है’ भन्ने गरेका छन् । त्यही कारण शास्त्रीलाई अतिवादी हिन्दुहरूको भने साथ छ । शास्त्रीले भारतलाई हिन्दु राष्ट्र बनाउनुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । सबै हिन्दुलाई एक हुन र धर्म रक्षाका लागि हतियार उठाउन उनले सार्वजनिक अपिल नै गरेका छन् । हिन्दुको घरमाथि पत्थर चलाउनेको घरमाथि बुल्डोजर चलाउनुपर्ने अभिव्यक्ति दिएर उनले खास समुदायविरुद्ध उक्साउने प्रयाससमेत गरेका छन् । आफूलाई कट्टर हिन्दुवादीका रूपमा प्रस्तुत गर्दै आएका उनले मुस्लिम समुदायलाई लक्ष्य गर्दै उनीहरूलाई घर फिर्ता पठाउनुपर्ने बयानसमेत दिएका छन् । शास्त्रीले भूत–प्रेत हुने र त्यसको उपचार आफूले गर्दै आएको भनेर अन्धविश्वास पनि फैलाउने गरेका छन् । उनको सभामा ‘भूत–प्रेतलाई मानिसको शरीरबाट निकालिएका दृश्य’ देखाउने गरिएको छ ।

धार्मिक सहिष्णुता कायम रहेको मुलुकमा यस्ता विवादास्पद व्यक्तिलाई सत्तारूढ कंग्रेसका सांसदसमेत रहेका विनोद चौधरीको समूहले निम्त्याएको हो । मानवशास्त्री सुरेश ढकाल कट्टर धार्मिक मतका प्रवर्तक शास्त्रीले नेपालमा पनि विभाजक र विखण्डनकारी मतको प्रचार गर्ने खतरा रहेको बताउँछन् । उनी यसलाई भारतीय जनता पार्टीको अतिवादी हिन्दुत्वको राजनीति छिमेकमा पनि प्रसार गर्ने बृहत् योजनाको एक अंगका रूपमा टिप्पणी गर्छन् । ‘समाजमा एउटा विभाजक र अर्को संयोजक शक्ति हुन्छ, विभाजकले समाजलाई टुटाउँछ र संयोजक शक्तिले समाजलाई

जोड्छ,’ उनले भने, ‘तोकेरै हिन्दुबाहेक अरूलाई मानिस नगन्ने शास्त्री प्रवृत्ति स्पष्ट रूपले विभाजक शक्ति हो, नेपालजस्तो शान्त र सहिष्णु समाजलाई असर पार्ने गरी यस्ता विवादित व्यक्तिलाई ल्याउनु आपत्तिजनक मात्र होइन, गैरसंवैधानिक पनि छ ।’ उनले शास्त्रीजस्ता अतिवादका प्रवर्तकलाई राज्य र जनता दुवै चनाखो भएर नेपालमा मञ्च दिन नहुनेमा जोड दिए ।