ललितानिवास प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ


[ss_social_share]
लेखक : admin      १ वर्ष अगाडि मा प्रकाशित     
ललितानिवास प्रकरणमा सञ्चार सचिव कृष्णबहादुर राउत पक्राउ

ललितानिवास जग्गा हिनामिना प्रकरणमा सञ्चार मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् ।

प्रहरीले उनलाई आइतवार अपराह्न पक्राउ गरेको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।

त्रिभुवन विमानस्थलबाट पक्राउ परेका राउतलाई प्रहरी कार्यालयतर्फ लगिँदै गरेको छ ।

उनी विराटनगर जानका लागि विमानस्थल पुगेका थिए ।

माधव नेपाल प्रधानमन्त्री रहेको समयमा भौतिक योजना तथा निर्माण मन्त्रालयका शाखा अधिकृत रहेका राउत जग्गा हिनामिना प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

ललितानिवास जग्गा प्रकरणमा प्रहरीले ५ जना पूर्वसचिवविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

मन्त्रालयको आर्थिक प्रशासन शाखामा अधिकृत रहेको समयमा जग्गा सट्टा भर्ना र नक्कली मोहीलाई जग्गा कायम गर्नेसम्बन्धी टिप्पणी उठाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।

ललितानिवास काण्डमा तत्कालीन भौतिक योजना मन्त्री विजयकुमार गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाइसकेको छ ।

बहालवाला सचिव पक्राउ परेसँगै अन्य पूर्वसचिव समेत तानिने सम्भावना बढेर गएको छ ।